नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : गण्डकी, बागमती, सशस्त्र र पुलिस महिला भलिबलको सेमिफाइनलमा प्रवेश
बेनी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा गण्डकी, बागमती प्रदेश, सशस्त्र र प्रहरी सेमिफाइनलमा प्रवेश गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको सोमबार भएको क्वाटरफाइनल खेलबाट नेपाली सेनाको त्रिभुवन आर्मी, सदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाहिरिएका छन्।
मधेश र कर्णाली प्रदेश लिग चरणको खेलबाट बाहिरिएका थिए। पुलिसले सेनालाई दुईका विरुद्ध तीन, सशस्त्रले लुम्बिनी, बागमतीले सुदरपश्चिम र गण्डकीले प्रदेश १ लाई सोझो तीन सेटमा पराजित गर्दै सेमी फाइनल पुगेका जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए।
प्रहरी र सेनाको खेल प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो र दोस्रो सेट जितेको पुलिसलाई तेस्रो र चौथो सेटमा पछि पारेको सेना अन्तिम सेटमा पराजित हुँदा सेमिफाइनल पुग्न सकेन। पुलिसले सेनालाई पहिलो सेटमा २५-१३, दोस्रो सेट २५-२० र तेस्रो सेट १५-१३ अन्तरले पराजित गरेको हो।
सेनाले पुलिसलाई तेस्रो सेट २५-२३ र २५-१४ अन्तरमा पराजित गरेको थियो। सशस्त्रले लुम्बिनीका विरुद्ध २५-१९, २५-१८ र २५-१० को अन्तरमा जित निकालेको हो।
सदूरपश्चिम प्रदेश बागमतीसँग २५-१२,२५-१५, २५-२३ अन्तरमा पराजित भयो। गण्डकीले प्रदेश १ लाई २५-१०, २५-१०, २५ १७ को अन्तरमा पराजित गरेको हो।
मंगलबार सेमिफाइनलमा सशस्त्र प्रहरी र बागमती प्रदेश तथा नेपाल पुलिस र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए।
क्वाटरफाइनलको खेलमा सशस्त्रकी आरती सुवेदी, सुदरपश्चिमकी प्रगति नाथ, नेपाल पुलिसकी कमला पुन र प्रदेश १ की पुर्णिमा राइलाई वमेन अफ द म्याच घोषणा गरिएको थियो।
लिक कम नकआउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन्। प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)