महाकवि देवकोटाको जन्मजयन्तीमा रचना वाचन
हेटौंडा : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती हेटौंडामा मनाइएको छ। आइतबार थाहा सञ्चार नेटवर्कले कवि सम्मेलन गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो।
सो अवसरमा एक दर्जनभन्दा बढी कविहरूले महाकवि देवकोटाको व्यक्तित्व चर्चा तथा रचना वाचन गरेका थिए।
कार्यक्रममा साहित्यकारहरूले देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरू विभिन्न भएपनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको बताए।
उनीहरूले देवकोटाले नेपाली भाषा प्रकाशिनी समिति, युगवाणी र इन्द्रेणी पत्रिकाको सम्पादक, नेपाली साहित्य परिषद्को सभापति, काव्य प्रतिष्ठानको अध्यक्षलगायतको जिम्मेवारीमा रहेर उल्लेखनीय कार्य गरेको भन्दै चर्चा गरे।
थाहा सञ्चार नेटवर्कका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रहेको थियो।
नेपाली साहित्यमा अतुलनीय योगदान पुर्याएका महाकवि देवकोटाको सम्मानस्वरूप उनको जन्मजयन्तीमा प्रत्येक वर्ष कवि सम्मेलन गरिँदै आएको छ।