म्यादी प्रहरीको ड्रेसमा टिकटक बनाए कारवाही

अर्घाखाँची : अर्घाखाँचीमा म्यादी प्रहरीले पोसाकमा टिकटक बनाउने तथा सामाजिक सञ्जालमा भिडियो राख्न नपाउने भएका छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले सुरक्षामा खटिने क्रममा आफ्नो पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राख्ने र प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएको खण्डमा कारवाही गरिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
६ वटा स्थानीय तहमध्ये तीन नगरपालिका र तीन गाउँपालिका रहेको यस जिल्लामा एक हजार एक म्यादी प्रहरी निर्वाचनका लागि खटिने छन्। सोही अनुसार मंगलबारदेखि निर्वाचन केन्द्रित सुरक्षामा म्यादी खटेको प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए।
सदरमुकाम सन्धिखर्कमा १० दिनसम्मको तालिम लिएपछि निर्वाचन लक्षित सुरक्षामा खटिन लागेका म्यादी प्रहरीलाई कुनै राजनीतिक दलप्रति आस्था नराखी सुरक्षामा खटिन प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले आग्रह गरेका छन्।
यदि कुनै आस्था प्रलोभन राखेर सुरक्षा प्रदान गरेमा कानुनअनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।
प्रतिक्रिया दिनुहोस !
