बाँचिरहेको बहुपति प्रथा

बाँचिरहेको बहुपति प्रथा

मूलपात्र स्थानीय गाउँलेलाई धुवाँरहित चुल्हो बनाउन सघाउने कुनै विदेशी प्रोजेक्टमा कार्यरत विकासे कार्यकर्ता दिग्विजय, स्थानीय सहयोगी बासिन्दा वाङ्दी र अर्को एकजना स्थानीय साथी–सहयोगी ग्याल्जेन, स्थानीय पात्र (एक किसिमले उपन्यासकी नायिका भन्न मिल्ने) पेमा, पेमाका बुढा नोर्बु, पेमाका सासू–ससुरा, पेमाका अरू लोग्ने, छोरा, ग्याल्जेनकी दिदी, भान्जा, मुखिया आदि पात्र र उनीहरू वरिपरि घुमेको छ कथा। योसँगै उपन्यासमा अनेक पृष्ठ दिग्विजय र ग्याल्जेनले मिलेर गरेका लामा यात्राहरूको वर्णन पनि पढ्न पाइन्छ। यद्यपि त्यसलाई यात्रा–संस्मरण भनेर नै त भन्न सकिँदैन। त्यो यात्रा औपन्यासिक मात्र हो।

समकालीन आख्यान लेखनमा नीलम कार्की निहारिका सफल उपन्यासकार हुन्भन्दा अत्युक्ति हुँदैन। छोटा सरल वाक्य र छोटै अनुच्छेदहरूले भरिएको यो उपन्यासमा भाषिक क्लिष्टता छैन। कथानकको हिसाबले उपन्यास दुई खण्डमा प्रस्तुत गरिएको छ। भाग १ मा विकासे कार्यकर्ता दिग्विजय काठमाडौंबाट हुम्ला पुगेको र त्यहाँ ६ महिना बसेर धुवाँरहित चुलोसम्बन्धी कार्यक्रममा संलग्न भएको, त्यही क्रममा ग्याल्जेन, पेमा र अन्य स्थानीयसित चिनजान र भेटघाट भएका सन्दर्भ छन्। त्यही अवधिमा दिग्विजयले हुम्लाका खास ठाउँमा प्रचलित बहुपति प्रथाबारे सोध्ने र उसलाई ५ कक्षा पास ग्याल्जेनले र केही प्रासांगिक किस्साहरू वाङ्दीले बताउँछन्। केही प्रसंग स्थानीय रहनसहन, खेतीपाती र व्यापारबारे पनि छन्।

दोस्रो खण्डमा उपन्यासले हिउँ परेर केही महिनाका लागि सम्पूर्ण यातायात नै बन्द हुनुअगावै सदरमुकाम सिमीकोट पुग्छन्। त्यहाँबाट विमान चढी नेपालगन्ज हुँदै काठमाडौं फिर्न दिग्विजयले ग्याल्जेन र अन्य केही गाउँलेसहित आफू बसेको गाउँबाट सिमीकोटसम्मको यात्रा गर्छन्। त्यही विवरण कहेको छ उपन्यासमा। मूलतः विकासे कार्यकर्ता दिग्विजयको ६ महिना लामो हुम्ला–बसाइँको बेला उसले गर्ने कुराकानी र सहभागी हुने केही गाउँले रहनसहन र जीवन–पद्धतिमा घुलमिल भएर प्राप्त गरेको अनुभव समेटिएको छ।

उपन्यास एक किसिमले कथा पारायण जस्तो छ। दिग्विजयले सोधेपछि प्रतिउत्तरमा उसलाई ग्याल्जेन, वाङ्दी वा अन्य गाउँलेबाट स्थानीय जीवनबारे सुन्नमा आएका कुराहरू नै उपन्यासमा लिपिबद्ध भएका छन्। यत्तिकै आधारमा ‘अर्थात्, बहुपति प्रथालाई बाँचिरहेका मानिसको आँसु र हाँसोका जीवन्त भावनामा लुटपुटिन नसकेको’ उपन्यासलाई ‘सांस्कृतिक उपन्यास’ भनिएको छ।

नीलमकै अनुसार पनि ‘द्रौपदी अवशेष’ लेख्दा उनले हतारो गरेकी छन्, एकैपटक पनि बहुपति प्रथा प्रचलनमा रहेको हुम्ली गाउँ–ठाउँमा नगइकन, ती ठाउँमा गएर त्यस प्रथामा बाँधिएका महिला–पुरुषबीच केही दिन (अझ, साता नै पनि) नबसीकन, केवल केही हुम्ली बासिन्दासित कुराकानी गरी केही लेख्य–सामग्री अध्ययन, केही युट्युब सामग्री हेरेकोलाई मात्र आधार बनाएकी छन्।

उपन्यासमा कुनै आदर्शवाद छैन, सिद्धान्तवाद छैन। कुनै आग्रह वा पूर्वाग्रह पनि छैन। केही कुनै खास सन्देश दिने प्रयास पनि छैन, भेटिँदैन। जे छ, सपाट छ। वाचाल छैन। हुम्लाको खास ठाउँ विशेषमा प्रचलित बहुपति प्रथाबारे उपन्यास लेखिएको भए पनि प्रथाको समर्थन या विरोध केही उल्लेख नभएको हुँदा सम्पूर्ण कथा मौनको च्यादरभित्र समेटिएको प्रतीत हुन्छ। कथानक पनि कुनै नायक वा नायिका–प्रधान छैन बरु जे जस्तो भए पनि पुस्तकले धेरथोर समाज–केन्द्रित हुँदै त्यस समाज–विशेषमा विगत लामो समयदेखि चलिआएको खास प्रथा (बहुपति प्रथा) बारे चित्रण गर्न खोजेको छ। यसरी एउटा खास सामाजिक विषय उठान गरेको भएर पनि उपन्यास ‘द्रौपदी अवशेष’ सतही मात्र छ। उपन्यासमा खट्किने पक्ष पनि नभएका होइनन्। ‘कैलाश’ पर्वतलाई उपन्यासमा सर्वत्र सचेततापूर्वक ‘कैलाश’ लेखिएको छ। यथार्थमा ‘कैलाश’ शब्दले त्यो धार्मिक आस्था र सनातन धरोहरको संस्कार बोक्दैन जुन ‘कैलाश’ले धारण गरिआएको छ।

उदेक लाग्छ– हुम्लाका केही गाउँ–विशेषमा प्रचलित र लोपोन्मुख बहुपति प्रथा कसरी ‘पर्यटन विकासका निम्ति अमूर्त सम्पदा’ हुन सक्छ ? संघीय सांसद लामाले यसो भनेर कस्तो किसिमको पर्यटनको वकालत गर्न खोजेका हुन् ? यस किसिमको विवाह प्रथा अवलम्बन गरिरहेका महिला र पुरुषहरू के यसबाट खुसी छन् ? अथवा केवल परम्पराको पालनाका लागि विवश भई यसलाई निरन्तरता दिइरहेका छन् ? यसबारे सोच्न र बोल्न पर्दैन उनले ? स्थानीय जनप्रतिनिधिले लेखेर नै संरक्षणयोग्य संस्कृति भनी प्रस्ट उल्लेख गर्दा यसबाट समाज रूपान्तरणको कार्य अगाडि वा पछाडि के हुन्छ भनेर सोच्नुपर्छ पर्दैन ?

धेरै चर्चा र प्रचार पाएको यस उपन्यासलाई ‘सांस्कृतिक उपन्यास’ भनिएबारे प्रश्न उठाउनुपर्ने हुन्छ, के यो साँच्चै सांस्कृतिक उपन्यास नै हो त ? किनभने त्यस ठाउँ–विशेषमा एक महिलाका अनेक पति हुने रीति त्यहाँको अज्ञात समयदेखि चल्दै आएको स्थापित संस्कार वा संस्कृति होइन। किनभने विवाह–मण्डपमा बसेर एउटी महिलाले धेरै पुरुषसित विवाह गर्ने संस्कार त्यहाँ छैन। किनभने धेरैजसो त भगाएर ल्याई विवाह गर्ने अथवा परिवारका जेठा छोराले बिहे गरी ल्याउने र त्यसरी घर भित्रिएकी युवतीले त्यस परिवारमा भएका दुई, तीन वा चार भाइहरूकी समेत पत्नी भएर जीवन बिताउनुपर्ने परम्परा उल्लेख छ।

दाजुभाइको अलग–अलग विवाह भयो भने पछि अंशबन्डा गरी छुट्टिनुपर्ने हुन्छ। त्यसो गर्दा परिवारसित भएको जग्गा सानो–सानो हिस्सामा टुक्रिँदै–टुक्रिँदै कुनै दिन समाप्त नै हुन सक्छ भन्ने मूलकारण देखाई बहुपति परम्परा निर्वाह गरिरहेको प्रसंग उल्लेख छ। समग्र हुम्ला जिल्लामा नभएर खास गाउँ–विशेषमा मात्र यो परम्परा किन जारी छ ?  हुम्लाबाहेक अन्य छिमेकी हिमाली वा पहाडी जिल्लामा एक महिलाका धेरै पति हुने रीति किन चलनचल्तीमा आउन सकेन ? 

उपन्यासमा छिमेकी भारतको हिमाचल प्रदेशतिर बहुपति प्रथालाई टोपी प्रथा पनि भनिँदै आएकोे उल्लेख छ तर त्योसमेत अन्यत्र रहेका यस्ता विवाहको रूप, प्रकृति र प्रवृत्तिबारे थप शब्द छैनन्। त्यसो त ‘द्रौपदी अवशेष’ पढ्ने पाठकलाई उपन्यास नसकिँदासम्म अल्छी लाग्दैन।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.