विकासको एजेण्डा लिएर मतदाताको घरआँगनमा मन्त्री अथक

कोहलपुर : नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) यतिबेला आफ्नो गृहजिल्लामा छन् ।
लामो समयदेखि रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न गराए लगत्तै उनी गृहजिल्ला बाँके पुगेका हुन् । आसन्न निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभा पदका उम्मेदवार समेत रहेका मन्त्री अथक यतिबेला चुनावी मैदानमा होमिएका छन् ।
०७४ सालमा बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सांसदका रुपमा निर्वाचित भएका मन्त्री अथक पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् । भौगोलिक र जनसंख्याको हिसाबले जिल्लाकै सबैभन्दा ठूलो निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै आएका अथक दोस्रो पटक सांसदका रुपमा दोहोरिने तयारीमा छन् ।
कोहलपुर नगरपालिका वडा नं. ५ स्थित भाडाको घरमा बस्दै आएका उनी प्राय स्थानीयको घरआँगनमा भेटिन्छन् । सामान्य रुपमा चुनावी गतिविधि गरिरहेका अथकले चुनावी सभालाई भन्दा बढि व्यक्तिगत भेटघाटलाई महत्व दिँदै आएको देखिन्छ । पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका अथकलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले समर्थन गरेकै कारण उनी बाँकेकै बलियो उम्मेदवारका रुपमा अगाडि देखिएका छन् ।
तीनवटा पालिका (कोहलपुर, राप्तीसोनारी र नरैनापुर) मिलेर बनेको बाँके निर्वाचन क्षेत्र नं. १ मा १ लाख २१ हजार १०० मतदाता रहेका छन् । उक्त निर्वाचन क्षेत्र भौगोलिक दृष्टिकोणले देशकै ठूलो निर्वाचन क्षेत्र मध्येको एक हो ।
बाँकेको क्षेत्र नम्बर १ अन्तरगत रहेको प्रतिनिधिसभा र प्रदेशसभामा पाँच दलीय गठबन्धनले चुनावी अभियानलाई सशक्त पारेको छ । मन्त्री अथकसहितका उम्मेदवारहरुले भेटघाटलाई तीब्रता दिएका छन् । अघिल्लो पाँच वर्षे कार्यकालमा उक्त निर्वाचन क्षेत्रमा भए गरेका विकासका काम र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा मतदाताहरुसँग छलफल गर्ने क्रममा मन्त्री अथकले विकास नै आफ्नो सबैभन्दा ठूलो एजेण्डा रहेको बताउने गरेका छन् ।
आफ्नो पाँच वर्षे कार्यकालमा क्षेत्र नम्बर १ को विकास गर्दा पक्षपात नगरेर काम गरेको अथकको भनाइ छ । 'क्षेत्र नम्बर १ का विद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभूत आवश्यकता सडक, बिजुली, सिचाइँ, खानेपानी, पुल पुलेसा, कटान तथा डुवान नियन्त्रण गर्न उल्लेखनीय काम भएका छन्' उनले भने ।
बाँके जिल्लाको पिछडिएको क्षेत्रका रूपमा रहेको बाँके निर्वाचन क्षेत्र नम्बर १ मा देखिने खालका काम भएको मन्त्री अथकको जोड छ । चुनाव जित्नु ठूलो कुरा नभएको बताउँदै उनले मुलुकप्रतिको इमान्दारिता सबैभन्दा ठूलो कुरा भएकाले राष्ट्रियता र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै आएका छन् ।
बाँके क्षेत्र नं. १ मा मन्त्री अथकसँगै प्रदेश सभा (क) मा कृष्णा केसी (नमुना) र प्रदेश सभा (ख) मा फुलाराम थारु पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया दिनुहोस !
