सफलताको शिखरमा मस्क

सफलताको शिखरमा मस्क

गत मंगलबार स्पेस एक्सको फाल्कन हेभी नामक रकेट नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरियो। विशाल र विश्वकै सबैभन्दा शक्तिशाली उक्त परिचालक रकेटले अमेरिकी सेनाको यूएसएसएफ–४४ नामक गोप्य मिसनका लागि अन्तरिक्षमा उपग्रहहरू लगेको छ।

फाल्कन हेभीलाई सन् २०१८ मा पहिलो पटक स्पेस एक्सका सीईओ एलोन मस्कले धूमधामका साथ प्रक्षेपण गरेका थिए। रकेटको न्यूनतम् ज्ञानसमेत नभएका मस्क रकेट किन्नका लागि रुस गएका थिए। त्यहाँ उनलाई प्रतिरकेट अत्यधिक मूल्य भनिएपछि उनले रकेट किन्नु सट्टा आफैं बनाउने निधो गरे। उनले कम खर्चमा अन्तरिक्षमा जाने र फर्केर आउनसमेत सक्ने रकेट बनाउने दृढताका साथ किताबहरू पढ्न थाले। रकेट बनाउने क्रममा उनी तीन पटकसम्म असफल भए। तर उनले हार मानेनन्। अन्ततः उनी आफ्नो उद्देश्यमा सफल भए।

कुनै समय आफ्नो खर्च टार्न साथीसँग उधारो लिनु परेको प्रसंग एलन मस्कले एक अन्तर्वार्तामा खुलाएका थिए। उनै मस्कले बीबीसीसँगको कुराकानीमा ‘मलाई मेरो सम्पत्ति कति छ थाहा छैन’ भनेका थिए। विश्वकै सर्वाधिक धनी व्यक्तित्व बनिसकेका मस्कले ट्विटर किनेपछि हिजोआज पुनः संसारभरका मिडियामा छाएका छन्। २०२१ जनवरी ८ मा विश्वको सबैभन्दा धनी व्यक्तिको रूपमा फोब्र्सको सूचीमा उनले पहिलो स्थान ओगटेका थिए। सन् २०२० को सुरुमा उनी ४७औं स्थानमा थिए। एक वर्षको अन्तरालमै यति ठूलो फड्को मार्न सफल मस्कले जीवनमा केही असम्भव छैन भनी प्रमाणित गरिदिएका थिए। फोब्र्सको रियल टाइम बिलिनियर सूची २०२२ का अनुसार उनको कुल सम्पत्ति २२३.८ बिलियन डलर छ।

यसरी बने ट्विटरका मालिक

विश्वमा सबैभन्दा बढी प्रयोग हुने माइक्रोब्लगिङ प्लेटफर्म ट्विटर मस्कले ४४ बिलियन डलरमा किनेका हुन्। यसअघि उनले ट्विटरको ९ प्रतिशत मात्र सेयर किनेको चर्चा थियो। तर अहिले उनी शतप्रतिशत सेयरका मालिक बनेका छन्। ट्विटर बोर्डले मस्कको प्रस्तावलाई मूल्य निर्धारण गरेर पारित गरेपछि कम्पनीको प्रत्येक सेयरबापत उनले ५४.२० डलर तिरेका छन्। ट्विटरलाई एक निजी कम्पनीको रूपमा सञ्चालन आरम्भ गरेपछि उनले पहिलो कदम त्यहाँको नेतृत्व परिवर्तन गरे। कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायतका उच्च अधिकारीलाई हटाएर त्यो ठाउँमा नयाँ ल्याए।

बाल्यकालदेखि नै तीक्ष्ण मस्क

एलोन मस्कको जन्म २८ जुन, १९७१ मा प्रिटोरिया, ट्रान्सवाल, दक्षिण अफ्रिकामा भएको थियो। उनका बुवा इरोल मस्क इलेक्ट्रिक इन्जिनियर र पाइलट थिए। आमा मे मस्क आहारविद् थिइन्। मस्क १० वर्षको हुँदा उनका आमाबाबुले पारपाचुके गरे। त्यसपछिका दिनमा उनी आफ्नो बुवासँग बस्न थाले। उनले आफ्नो प्रारम्भिक अध्ययन अफ्रिकामै पूरा गरे।

मस्क सानैदेखि निकै तीक्ष्ण थिए। उनी १२ वर्षकै उमेरमा धेरै किताबहरू पढ्थे कि स्नातक तहका विद्यार्थीले पनि त्यति पढ्न सक्दैनथे। उनको मनपर्ने विषय कम्प्युटर थियो। त्यही भएर उनले किताब पढेरै कम्प्युटर सिके। कम्प्युटरमा प्रोग्रामिङ गरेर सानैमा गेम पनि बनाए। उक्त खेलको नाम उनले ‘ब्लास्ट’ राखे। उनले उक्त गेम अमेरिकी कम्पनीलाई पाँच सय डलरमा बेचे। 

उनको बाल्यकालको एउटा घटना निकै मार्मिक छ। उनी विद्यालय जाँदा सहपाठीले दुव्र्यवहार गर्थे। उनीहरू मस्कसँग प्रायः झैझगडा गर्थे। एकपटक यस्तै हुँदा उनी भर्‍याङबाट खसेर बेहोस भए। सोही घटनापछि आजसम्म पनि मस्कलाई राम्रोसँग श्वास फेर्न समस्या हुने गरेको छ।

१७ वर्षको भएपछि उनी अमेरिका जान चाहन्थे। तर केही समस्याका कारण उनी जान सकेनन्। केही समयपछि उनका बुवाले दोस्रो विवाह गरे र मस्कलाई त्यति समय दिन सकेनन्। त्यसपछि उनी बुवासँग बसेनन्। क्यानडामा बस्ने आफन्तकहाँ जाने निर्णय गरे। उनले क्यानडा गएर त्यहाँको पेन्सिलभेनिया विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातक गरे। त्यसैगरी, व्हार्टन स्कुल अफ बिजिनेसबाट अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरे। केही समयमै उनी क्यानडाको नागरिकसमेत बने। 

अमेरिका पुगेपछि फेरियो जीवन

भनिन्छ, मानिसलाई जीवनमा सफल हुने एउटा मौका अवश्य पाउँछ। मस्कको जीवनमा पनि ठ्याक्कै त्यस्तै भयो। उनी विद्यावारिधि गर्ने क्रममा सन् १९९५ मा अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा भर्ना भए। त्यहाँ उनले इन्टरनेटको ज्ञान पाएपछि दुई दिनमै भर्ना फिर्ता लिए। मस्कले दाजुसँग मिलेर अमेरिकामा नै जिप २ नामक एक कम्पनी स्थापना गरे।

व्यावसायिक सफलता

मस्कको पहिलो कम्पनी जिप २ मा उनको सेयर ७ प्रतिशत थियो। सन् १९९९ मा उक्त कम्पनीलाई कम्प्याक नामक अर्को कम्पनीले किन्यो। यसबापत मस्कले २२ मिलियन डलर पाएका थिए। सन् १९९९ मा उनले आफ्नो दोस्रो कम्पनी एक्स डट कम सुरु गरे। उक्त कम्पनीले रकम लेनदेनको काम गथ्र्यो। त्यतिबेला कन्फिनिटी नामक अर्को कम्पनीले पनि त्यही काम गथ्र्यो। यी दुवै कम्पनी मर्ज भएर एउटै बने। यसको नाम पेपाल राखियो। केही समयमै मस्क र पेपालका बोर्ड सदस्यबीच विवाद उत्पन्न भयो। त्यसपछि उनले यसलाई पनि बिक्री गर्ने निर्णय गरे। त्यतिबेला इबेले पेपाल किन्यो। यसबापत मस्कलाई १६५ मिलियन डलर प्राप्त भयो। 

मस्कले बनाए स्पेस एक्स

जीवनमा अघि बढ्नु छ भने संसारले भन्दा अलि भिन्न सोच राख्नुपर्छ भन्ने मस्कले बुझिसकेका थिए। त्यतिबेलासम्म उनले लगातार दुईपटक व्यावसायिक सफलता पनि हात पारिसकेका थिए। उनीसँग राम्रै रकम पनि जम्मा भइसकेको थियो। त्यसैले अबका दिनमा अन्तरिक्ष (रकेट) को क्षेत्रमा पनि किन हात नहाल्ने भन्ने उनले सोच बनाए। उनी पहिलोपटक सन् २००३ मा रुस गए। त्यहाँ उनी तीनवटा आईसीबीएम रकेट लिन चाहन्थे।

तर एउटै रकेटको मूल्य ८ अर्ब डलर पर्ने भएपछि उनले यति धेरै पैसा यहाँ खेर फाल्नुभन्दा किन आफैं रकेट नबनाउने भन्ने विचार गरे। उनी फर्केर आए र रकेट विज्ञान पढ्न थाले। यसको एक वर्षपछि उनले आफ्नै रकेट तयार पारे। योसँगै उनको स्पेस एक्स कम्पनी पनि सुरु भयो। उनको पहिलो रकेट असफल भयो। उनले फेरि पनि प्रयास गरे। तर त्यो पनि सफल हुन सकेन। त्यतिबेलासम्म उनीसँग भएको रकम पनि निकै कम भइसकेको थियो। त्यसैगरी समय पनि नास हुँदै गएको देखेर उनी चिन्तित थिए। यसपटक नयाँ पाटपुर्जा ल्याउनुको सट्टा बिग्रिएका रकेटहरूबाट नै पुनः नयाँ बनाउने उनले सोचे। र यसरी अर्को रकेट तयार पारे। 

तर, यसपटक पनि उनको रकेट असफल भयो। यसमा उनले खासै लगानी गरेका थिएनन्। उनले फेरि त्यही पाटपुर्जा र केही नयाँ पाटपुर्जाको सहयोगमा नयाँ रकेट तयार पारे। यस पटक मस्क सफल भए। कसैले कल्पनासमेत नगरेको काम उनले गरेर देखाए। उनले निकै कम लागतमा रकेट डिजाइन गरी त्यसलाई अन्तरिक्षमा पुर्‍याउन सफल भए। आज मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरेका रकेटलाई नासाले पनि प्रयोग गर्छ। अत्यधिक कम लागतमा तयार भएका ती रकेटलाई अन्तरिक्षसम्म पुर्‍याइन्छ।

मस्क र टेस्ला

टेस्ला विश्वमा निकै चर्चित ब्रान्ड बनिसकेको छ। योसँग परिचित जोकोहीले एलन मस्कलाई मज्जाले चिन्छन्। विद्युतीय सवारीसाधन निर्माण गर्ने यस कम्पनीले मस्क आउनुअघि पनि विद्युतीय कार बनाउँथ्यो। तर त्यसको लागत निकै बढी भएकाले कम्पनीले बनाएका कार बजारमा बिक्री हुँदैनथिए। मस्क कम्पनीमा प्रवेश गरेपछि उनले सस्तो लागतमै कार बनाइदिए र ती कारहरू बजारमा छिट्टै बिक्री हुन थाले। आज टेस्ला यति ठूलो कम्पनी बनिसकेको छ कि यसले बनाएका गाडीहरू विश्वभर लोकप्रिय छन्। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्दै टेस्लाले चालकविहीन कारहरू पनि निर्माण गरिसकेको छ। 

टेस्ला कम्पनीलाई अगाडि बढाउने क्रममा मस्कले लगानीकर्ताको रूपमा पनि काम गर्न थाले। सन् २००६ मा आफ्नो भाइको कम्पनी सोलार सिटीमा उनले लगानी गरे। छोटो समयमै यो अमेरिकाको दोस्रो ठूलो सौर्य कम्पनीको रूपमा स्थापित भयो। सन् २०१३ मा मस्कले यस कम्पनीलाई टेस्लासँग मर्ज गरे। हाल सोलार सिटी र टेस्ला मिलेर निकै राम्रा गाडीहरू निर्माण गरिरहेका छन्। यी दुवैले नयाँ प्रविधिमा काम गरेर व्यावसायिक क्षेत्रमा छलाङ मारेका छन्।

मस्कको लगानी बिस्तार

मस्क आज विश्वमै अत्यधिक सफल उद्यमीका रूपमा स्थापित छन्। उनले न्युरालिंक, द बोरिङ कम्पनी र स्टारलिंक नामका अन्य कम्पनीहरू पनि विस्तार गरेका छन्। मस्कका अनुसार एउटा यस्तो समय आउनेछ जब कम्प्युटरले मानिसलाई शासन गर्नेछ। उनको यही सोचअनुरूप न्युरालिंकले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने काम गरिरहेको छ। बोरिङ कम्पनीले भूमिगत सुरुङको सहायताले यातायातलाई सहज बनाइरहेको छ।

स्टारलिंकको सहयोगमा मस्क पृथ्वीको हरेक कुनासम्म इन्टरनेट पुर्‍याउन चाहन्छन्। सोलारसिटी, टेस्ला र स्पेसएक्सका लक्ष्यहरू विश्व र मानवतालाई परिवर्तन गर्ने मस्कको दृष्टिकोणसँगै मिल्दोजुल्दो छ। यी कम्पनीहरूका उद्देश्य दिगो ऊर्जा उत्पादन र प्रयोगको माध्यमबाट ग्लोबल वार्मिङलाई कम गर्ने र मंगल ग्रहमा मानव बस्ती स्थापना गरेर ‘मानव विलुप्त हुने खतरा’लाई कम गर्ने रहेको छ।

निजी जीवनमा उतारचढाव

मस्कले सन् २००० मा जस्टिन बिल्सनसँग विवाह गरे। उनीहरूका पाँच सन्तान छन्। तर सन् २००८ मा यी दम्पतीको सम्बन्धविच्छेद भयो। त्यसपछि उनले सन् २०१० मा तालुला रियालसँग विवाह गरे। उक्त विवाह पनि लामो समय टिक्न सकेन र सन् २०१२ मै उनीहरू छुट्टिए। आश्चर्य लाग्ने विषय के हो भने यसको एक वर्षपछि मस्कले पुनः रियालसँगै तेस्रो विवाह गरे। तर दुर्भाग्य यो पनि लामो समय टिकेन। सन् २०१६ मा यी दम्पतीले पुनः पारपाचुके गरे।

– एजेन्स


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.