गुल्मीमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सात जनालाई स्पष्टीकरण
गुल्मी : गुल्मीमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सात जनालाई जिल्ला आचारसंहिता अनुगमन समितिले स्पष्टीकरण माग गरेको छ।
आचारसंहिता उल्लंघन गर्नेमा जनप्रतिनिधि र शिक्षक बढी छन्। जिल्ला आचारसंहिता अनुगमन समिति गुल्मीका अधिकृत छवीन्द्र बेल्वासेका अनुसार आचारसंहिता उल्लंघन गरेको उजुरी र अनुगमनका क्रममा देखिएकालाई स्पष्टीकरण माग गरिएको हो।
जसमध्ये जिल्लामा कार्यरत शिक्षक र जनप्रतिनिधि धेरै छन्। बेल्वासेले मुसिकोट नगरपालिकास्थित महेन्द्र आदर्श माविका शिक्षक अनन्तलाल भण्डारीलाई निर्वाचन आयोगबाटै आचारसंहिता उल्लंघनका विषयमा स्पष्टीकरण माग गरिएको बताए। अन्य ६ जनालाई समितिले स्पष्टीकरण माग गरेको हो।
समितिका अनुसार मालिका गाउँपालिका-५ को छापहिले माविका शिक्षक मदन गिरी, गुल्मी दरवार गाउँपालिका चारपालास्थित इश्वरी माविका शिक्षक विष्णु खत्री, रुरु गाउँपालिकाका रुरु संस्कृत विद्यापिठका कर्मचारी चिरञ्जीवी ज्ञवाली, मालिका गाउँपालिका-६ का वडाअध्यक्ष दिपक भण्डारी, सोही गाउँपालिका-५ का वडा अध्यक्ष रेखा कुमार जिसी र रुरु गाउँपालिकाका वडा सदस्य घनश्याम ज्ञवालीलाई स्पष्टीकरण माग गरिएको हो।
समितिले ती व्यक्तिहरूलाई आचारसंहिताविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण माग गरेको छ। कतिपय जनप्रतिनिधि र शिक्षकले दलका कार्यक्रममा सहभागी नभएको र उजुरीमा पेश भएका प्रमाण पुराना रहेको जवाफ दिएका बेल्वासेले बताए।
यसपटक निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारवाही गर्ने निर्णय अनुसार गुल्मीमा पनि तीव्र रूपमा अनुगमन गरिएको समितिले जनाएको छ। समितिका अधिकृत बेल्वासेले निर्वाचन आचारसंहिता विपरीत काम गर्ने कसैलाई छुट नहुने बताए।
प्रतिक्रिया दिनुहोस !