बायर्नको जितमा गिनाब्रीको ह्याट्रिक
बर्लिन : सर्ज गिनाब्रीको ह्याट्रिकप्रेरित बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा मंगलबार राति वेर्डर ब्रिम्यानलाई ६–१ गोलको नतिजामा पराजित गरेको छ। बायर्नको एलियान्ज एरिनामा भएको खेलको छैटौं मिनेटमा जमल मुसियालले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।
त्यसको चार मिनेट नबित्दै एन्थोनी जंगले गरेको गोलसँगै ब्रिम्यानले बराबरी गरेको थियो। गिनाब्रीले २२औं मिनेटमा गोल गर्दै पुनः बायर्नलाई २–१ को अग्रता दिलाएका थिए।
त्यसको दुई मिनेट नबित्दै लियोन गोरेट्जकाले गरेको गोलसँगै बायर्नले अग्रता ३–१ मा लम्ब्याएको थियो। गिनाब्रीले २८औं मिनेटमा भ्रमणकारी ब्रिम्यानमाथि हाबी बनेको बायर्नका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए।
त्यसपछि केही बेर सम्हालिएको ब्रिम्यानले निर्धारित समयको अन्तिम १० मिनेटमा थप दुई गोल खायो। ८२औं मिनेटमा गिनाब्रीले ह्याट्रिक गर्दै अग्रता ५–१ मा पुर्याएका थिए। त्यसको दुई मिनेट नबित्दै म्याथिज टेलले बायर्नका लागि छैटौं गोल गरे।
जितसँगै १४ खेलबाट ३१ अंक जोडेको बायर्न लिग तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको एससी फ्राइबर्गको १३ खेलबाट २७ अंक छ।
पराजित ब्रिम्यान १४ खेलबाट २१ अंकसहित तालिकाको सातौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस !