रोग होइन, रोगीको उपचार !
समाजमा के देखिन्छ भने परिवार वा नाताकुटुम्बमा कोही रोगबाट पीडित छ भने त्यो रोगको नाम जान्ने उत्सुकता हुन्छ। उसलाई कुन रोग लागेको छ ? रोगको नाम के रहेछ ?
यद्यपि बिरामीको उपचार गर्ने सम्बन्धित चिकित्सकबाट थाहा हुन्छ कि अमुक व्यक्तिलाई अमुक–अमुक रोग लागेको छ भनेर। तर त्यो रोग कसरी लाग्यो ? यो कुरा जान्ने र बुझ्ने प्रयास कोही गर्दैन। अनि कसरी रोगी व्यक्तिलाई सहयोग गर्ने ?
नातेदार वा जो बिरामी भेट्न आउँछन्, फलानोलाई यो रोग लागेको छ ? भन्नुबाहेक अरू केही गर्दैनन्। रोगको नामभन्दा रोग लाग्नुको कारण जान्ने प्रयास किन गर्दैनन् ? साधारणत रोगको उपचारको सम्बन्धमा एउटा विश्वास के छ भने रोगको उचित निदान गर्न सकियो अथवा रोगको सही पहिचान भयो भने उपचार सजिलैसित हुन्छ। यस किसिमको धारणा हामीमा छ। यो कुरा केही हदसम्म ठीक छ तापनि सबै प्रकारका रोगको लागि भने होइन। किनभने यसका प्रशस्त प्रमाण दिन सकिन्छ कि रोगको निदान पनि भयो रोगको पहिचान पनि सही तवरले। तर पनि रोगको उपचार सफल हुन सकेन।
कुनै व्यक्ति थाइरायडनामक रोगबाट पीडित छ भने उसले जीवनभर सो रोगको उपचार गराइरहन्छ। तर पनि रोगमुक्त भएको देखिँदैन। त्यसैगरी, सोरायसिस आस्थामा, लिकोडर्मा, ब्रोकाइटिस, माइग्रेन, फुड एलर्जी, स्किन एलर्जी, एलोपसिया ऐरेटा (कपाल झर्नु), मुसा, कोर्न आदि रोगबाट ग्रसित रोगीले उपचार गराउँदा केही समयसम्म सामयिक आराम हुन्छ। तर पनि जीवनभरै त्यस रोगबाट पीडित भई कष्ट पाइरहेको देखिन्छ। त्यसर्थ खोइ त उपचारपछि रोगी निको भएको ? रोगको पहिचान पनि सही छ। तर पनि असमर्थ भएको देखिन्छ किन ? किनभने रोग उत्पत्तिका कारण विचार गरिँदैन।
आधुनिक मेडिकल साइन्सका चिकित्सकद्वारा रोगको प्याथोलोजिकल टेस्टको आधारमा रोगको वर्गीकरण गरी औषधिको व्यवस्था गरिन्छ। उदाहरणका लागि निमोनियाबाट पीडित पाँच रोगी कुनै एलोप्याथिक चिकित्सककहाँ उपचार गराउन गयो भने ती सबैलाई एउटै किसिमको औषधि दिइन्छ। तर, होमियोप्याथिक चिकित्सामा ती पाँचैजना रोगीको ज्वरो आउने समय, जाडो, गर्मी, प्यास, पसिनाका साथै उसको मानसिक अवस्थासमेत ध्यानमा राखिन्छ। र, लक्षणअनुसार पाँचै बिरामीका लागि बेग्लाबेग्लै औषधि दिइन्छ।
किनभने होमियोप्याथीको मूल सिद्धान्त नै ‘ट्रिट दि प्यासेन्ट नट दि डिजिज’ हो। अर्थात् रोगीको उपचार गर, रोगको होइन भन्ने हो।
त्यसैले होमियोप्याथीमा कुनै रोगको नामका आधारमा भन्दा पनि रोगीको स्वभाव, उसको व्यवहार, मानसिक एवं शारीरिक लक्षणका (माइन्ड एन्ड बडी) समष्टिगत लक्षणहरूको आधारमा नै उपचार गर्ने प्रावधान छ। डा. ई.बी. नैश (एम.डी.) को एउटा रोचक प्रसंग प्रस्तुत छः उनले आफ्नो प्रसिद्ध पुस्तक ‘नेश लिडर्स’मा पल्सेटिलानामक होमियोप्याथिक औषधिको प्रकरण उल्लेख गरेका छन्। जहाँ उनलाई पल्मोनरी ट्युबरक्लोसिस (क्षयरोगीको उपचारका लागि बोलाइँदा त्यहाँ उपस्थित आधुनिक चिकित्सक सामुन्ने रोगीको निरीक्षण गरियो। त्यसपश्चात् उसको टोटालिटी अफ सिम्पटम (समष्टिगत लक्षणहरू)का आधारमा ‘स्टेनम’ नामक होमियोप्याथी औषधिको सिफारिस गरेकोमा अन्य चिकित्सकले उनलाई प्रश्न गरे, ‘के निदान गर्नुभयो तपाईंले ?’
तब डा. नेशले जवाफ दिए, ‘स्टेनम।’ उत्तर सुनेर अन्य डाक्टर आश्चर्यचकित भए। सोधे, ‘स्टेनम’ ! यो कुन रोगको नाम हो ? प्रश्नको जवाफमा उनले भने, ‘स्टेनम’ कुनै रोगको नाम होइन, यो त औषधिको नाम हो। त्यो औषधि सेवन गरेको केही दिनमै रोगी उक्त रोगबाट पूर्णरूपले मुक्त भयो। यसर्थ उपरोक्त कुरालाई अनुसरण गरी कुनै होमियोप्याथिक चिकित्सक रोगीको उपचार गर्छ भने अवश्य सफल हुन्छ। तर, प्याथोलोजिकल परीक्षणको आधारमा मात्र रोगको उपचार गर्दा असफल हुन पुग्छ। किनभने रोगीको प्याथोलोजिकल परीक्षण साधन मात्र हो, साध्य होइन। रोगीको उपचार त उसको मानसिक एवं शारीरिक लक्षणहरूका आधारमा हुनुपर्छ न कि प्याथोलोजिकल परीक्षणका आधारमा। होमियोप्याथी चिकित्सा प्रणालीमा रोगीको व्यक्तिगत लक्षणलाई नै आधार मानेर रोगीको उपचार गरिन्छ, रोगको होइन।
माथिका उल्लेख गरिएका त केही उदाहरणमात्र हुन्। यस्ता कैयन् प्रमाण दिन सकिन्छ जसबाट यो स्पष्ट हुन्छ कि रोगको निदान नै रोगीको उपचारमा सबैथोक होइन। निदान राम्रैसँग भएर पनि कैयौं यस्ता रोग छन्, जो लामो समय औषधोपचार गर्दा पनि निको हुन सकिरहेको हुँदैनन्। अतः रोगको उपचार सम्बन्धमा अवधारणा के छ भने रोगको निदान राम्रोसँग भयो भने उपचार सजिलै हुल्छ।