कोपमा २० वर्षीया सोफियाको गर्जन–‘ढाँट्न छोड’

कोपमा २० वर्षीया सोफियाको गर्जन–‘ढाँट्न छोड’

काठमाडौं : बार्बडोसकी प्रधानमन्त्री मिया मोट्लीका लागि यसपटक कोप–२७ सम्मेलन विशेष रह्यो। उनले जलवायुका विषयमा खुलेर बोल्ने मौका मात्रै पाइनन्, विश्वलाई आफ्नो क्षमता पनि देखाइन्। संसारभरका २ सयभन्दा धेरै मुलुकका राष्ट्रप्रमुख अगाडि उनले निर्धक्क भएर जलवायु परिवर्तनले पारेको प्रभाव प्रस्तुत गरिन्। समाधानका लागि भएका सुस्त प्रयासको विरोध जनाइन्। ५७ वर्षीया मोट्लीले धनी मुलुकहरू आफूले गरेका विनासकारी काममा उत्तरदायी बन्नुपर्ने बताइन्। 

उनको यस्तो प्रस्तुतिलाई लिएर यतिबेला अन्तर्राष्ट्रिय मिडियाले ‘क्यारेबियन क्वीन’ को उपाधि दिएका छन्। ‘बोल्ड’ प्रस्तुतिले उनलाई संसारको प्रभावशाली महिलाको सूचीमा समेत राखेको छ। टाइम म्याग्जिनले संसारका सय प्रभावशाली महिलाको सूचीमा सूचीकृत गरेको छ। यस्ता सम्मेलनमा बोल्ड प्रस्तुति र सम्बन्धित विषयमा विज्ञताको अर्थ निकै रहेको जानकारहरूले बताउँदै आएका छन्। 

कुनै नाटकीय परिवर्तन नभएसम्म संसारका धनी देशहरूले सन् २०३० सम्ममा हरितग्रीह ग्यासको कटौती गर्ने लक्ष्य पूरा नहुने उनको गुनासो छ। जसका कारण विकासोन्मुख तथा समुद्र तटीय क्षेत्र र साना टापु महादेशहरू सधंै जोखिममा रहेको बताइन्। भनिन्, ‘तपार्इंहरू उत्तरदायी बन्नुहोस्। आफूले गरेका प्रतिबद्धताहरू पूरा गर्नुहोस्।’ उनले अमेरिकी राष्ट्रपति बाइडेम, फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोनजस्ता व्यक्तिसँग राउन्ड टेबलमा बसेर बहस गरिन्। 

दमदार प्रस्तुति दिँदै संसारभरको ध्यान खिच्न सफल हुने अर्की हुन् २० वर्षीया युवती सोफी कियानी। इरानियन अमेरिकन नागरिक कियानी जलवायु अभियन्ता हुन्। उनले यसपटक मध्यपूर्वी राष्ट्रहरूको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागिता जनाएकी छिन्। आफूलाई संयुक्त राष्ट्रसंघको युथ एडभाजरी ग्रुपको कान्छो सल्लाहाकारका रूपमा चिनाएकी छन्।

संसारका कार्बन उत्सर्जकहरूलाई दबाबमूलक तरिकाले आलोचना गरिन्। कार्बन न्यूनीकरण गर्ने प्रतिबद्धता देखाएर काम नगरी चुपचाप बसेको उनको आरोप थियो। ‘ए उत्सर्जकहरू ढाँट्न छोडी देऊ। कुन भाषामा भनेको बुझ्छौं तिमीहरू। अरबियमा, रसियनमा, अंग्रेजीमा या कुन भाषामा ?’ उनले संयुक्त राष्ट्रसंघको ६ वटा औपचारिक भाषामा ढाँट्न छोड अथवा ‘स्टप लाइङ’ भनेकी छन्। ‘स्टप लाइङ’ हयासटगको प्रयोग गरेकी छन्। 

उत्सर्जनका कारण संसारका सात मिलियन मानिसको मृत्यु हुँदै आएको भन्दै उनीहरूलाई उत्तरदायी बन्न दबाब दिइन्। बाइडेन प्रशासनले अमेरिकी इतिहासमा नै धेरै तेल तथा इन्धनको बिक्री गरेको दाबी गरिन्। तर, नेपालले भने झारो टार्ने काम गर्दै महिला तथा बालबालिका मन्त्रीलाई कोप–२७ मा पठाएको छ। गतवर्ष बेलायतको ग्लास्गोमा भएको कोप–२६ सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति महत्वपूर्ण बनेको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि बेलायतका तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनसँगै देउवाको उपस्थितिले निकै चर्चा पाएको थियो। 

जलवायु क्षेत्रमा काम गर्दै आएकाहरूले प्रधानमन्त्रीको उपस्थिति अर्थपूर्ण हुने बताएका थिए। नेपालले जलवायुलाई संवेदनशील विषयका रूपमा लिएको सन्देश जाने जलवायुविज्ञ डा. बिमल रेग्मीको बुझाइ छ। तर, यो वर्षको उपस्थितिलाई केवल सरकारको प्रतिनिधिको उपस्थितिका रूपमा मात्र लिन सकिने जलवायु अध्येता मधुकर उपाध्यायले बताए। भने ‘उहाँलाई केवल उपस्थितिका लागि मात्रै सरकारले पठायो। त्योबाहेक केही होइन। सम्बन्धित क्षेत्रमा विज्ञता भएकाहरू जानुपथ्र्यो।’ अन्यथा यस्ता सम्मेलन केवल मेला जस्तो हुने र मेला भरेर आउने काम मात्र हुने असन्तुष्टि जनाए। 

कोपमा नेतृत्व गरेर इजिप्ट पुगेकी महिला बालबालिका मन्त्री उमा रेग्मीले सम्मेलनमा नेपालले हानिनोक्सानीका विषयमा जोखिममा रहेका समुदायका लागि समर्पित वित्तीय संयन्त्र चाहेको बताएकी छन्। त्यसैगरी नेपालले साझा जलवायु कार्यमा जानका लागि क्षेत्रीय सहकार्यका लागि सधैं तत्परता देखाउँदै आएको पनि बताइन्। वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल तथा जलवायु परिवर्तन महाशाकाका प्रमुख डा. बुद्धिसागर पौडेलले सरकारको तर्फबाट विभिन्न फोरमहरूमा नेपालको एजेन्डाहरू प्रस्तुत गरिरहेका छन्। 

हालसम्म नेपालले हानिनोक्सानी, हिमालका मुद्दा, जलवायु वित्तका लागि प्रत्यक्ष सम्पर्क हुन पाउनुपर्ने माग, नेपालले स्थानीय तहमा जलवायु न्यूनीकरण तथा अनुकूलनका लागि गरेका प्रयासहरू प्रस्तुत गरिसकेको छ। इजिप्टमा जारी कोप–२७ सम्मेलनमा २ सयभन्दा बढी मुलुकका राष्ट्रप्रमुख तथा नेतृत्व तहका सदस्यले सहभागिता जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.