अमेरिका सपनाको सोपान

अमेरिका सपनाको सोपान

सुनिन्छ, अमेरिकाको चर्को आलोचना गर्नेहरू पनि डीभी चिठ्ठा भने भर्छन्। भन्नेहरूले भनिहालेपछि सुन्नु त परिहाल्यो। यसले ‘अमेरिका सपना’लाई नै उजागर गर्छ। तपाईंको पनि ‘सपना–जपना’ अमेरिका हो भने पत्रकार किशोर पन्थीको ‘जिरो माइल’ किताब सहयोगी बन्नेछ। यस्तै, अमेरिकाको अध्यागमनदेखि अन्य कानुनी प्रावधान जान्न इच्छुक जो कोहीलाई यो किताबले मार्गदर्शन गर्नेछ।

यो कृतिलाई लेखकले ‘अमेरिकी अध्यागमन लगायतका टिप्स’ भनेका छन्। यसमा १ सय ११ टिप्स समेटिएका छन्। जुन मुख्यतः तीन विषयमा केन्द्रित देखिन्छ। पहिलो, कुन माध्यमबाट अमेरिका जाने ? दोस्रो, त्यहाँ गइसकेपछि के–के छन् पूरा गर्नुपर्ने सरकारी/कानुनी प्रक्रिया ? तेस्रो, अमेरिका आउँदा–जाँदा अपनाउनुपर्ने प्रक्रिया के–के छन् ? यीबाहेक अन्य महत्त्वपूर्ण जानकारी पनि लेखक पन्थीले यसमा समेटेका छन्। जसले तपाईंको अमेरिकाप्रतिको बुझाइलाई फराकिलो र यात्रा, बसाइलाई सहज बनाउन सहायता पुर्‍याउनेछ। हुन त अमेरिका पुग्न अवैध बाटो रोजेर बिल्लीबाठ भएको घटना पनि बेलाबेला सार्वजनिक नभएको होइन। ती घटनाले सुन्नेलाई नै बडो पीडा महसुस गराउँछ। भोग्नेलाई त कति पीडा होला ? ज्यानको जोखिम। धनको बर्बाद। आफू मात्रै होइन, परिवारकै बिचल्ली। सामाजिक रूपमा पनि नकारात्मक असर।

यो किताब पढ्दा लाग्यो, वैध बाटो नै धेरै छन्। विकल्पै विकल्प छन्। भिसाका अनेक प्रकार छन्। तर, भिसा दुरुपयोग गर्दै त्यहाँ गएर लुकेका कतिपय घटना पनि हामीले आक्कलझुक्कल सुनेकै छौं। त्यस्तो प्रवृत्तिले देशकै छविलाई धुमिल गराउनेमा हामी सबै सचेत हुनुपर्छ। एक जनाले गरेको गल्तीको असर अरूलाई पर्न सक्छ। त्यस्तै भएर होला भिसा अस्वीकृत दर निकै बढी रहेको तथ्यांक यही कृतिले छर्लंग पार्छ।

पंक्तिकारको उद्देश्य आफ्नो देश छाड्न उत्प्रेरित गर्नु होइन। अमेरिका बुझ्न सहयोगी होला भनेर लेखक पन्थीको लेखनको संक्षिप्त पठन मात्रै हो। यसमा बढी त ‘नेपाल–नाता’ जोड्न सान्दर्भिक ठानेको छु।

सन् १९८९ यता अमेरिकी ग्रिनकार्ड र नागरिकता प्राप्त गर्ने नेपालीको संख्या झन्डै डेढ लाख छ। यीमध्ये करिब ५५ हजार जनाले नागरिकता नै लिएका सरकारी तथ्यांक लेखक पन्थीले उद्धृत गरेका छन्। अमेरिकी सेनामा भर्ना भएर त्यहाँको नागरिकता प्राप्त गर्नेमा नेपाली सातौं नम्बरमा रहेछन्। जसको संख्या पछिल्लो पाँच वर्षमा एक हजार छ। अमेरिकामा नेपाली विद्यार्थीको संख्या विश्वको १२औं स्थानमा पर्ने रहेछ।

यस्ता अनेक तथ्य शीर्षकगत रूपमा लेखकले किताबमा समेटेका छन्। जस्तो कि ‘नेपालका फेसन मोडलका लागि अमेरिका आउन तीन प्रकारका भिसा उपलब्ध’। ‘अमेरिकामा बस्ने नेपालीले पनि डीभी लोटरी भर्न सक्छन्’। ‘नेपालबाटै यसरी फाइल गर्न सकिन्छ अमेरिकाको असाधारण योग्यताको ग्रिनकार्ड’। ‘यसरी दिनुहोस् अमेरिकाको मिडिया भिसाका लागि आवेदन’। ‘नेपालीका सन्दर्भमा अमेरिकाले स्वीकार गर्ने जन्मदर्ताको मापदण्ड’।

‘अमेरिकाको अन अराइभल भिसाका लागि किन योग्य छैन नेपाल ?’ यो तथ्यमा प्रवेश गर्दा भने बडो नमीठो लागेर आउँछ। यसको मुख्य कारक भिसा अस्वीकृत दर बढी हुनु रहेछ। जुन ५० प्रतिशत हाराहारी छ।
लेखकले अमेरिकाको भिसा वेभर कार्यक्रमका लागि ३९ देश योग्य रहेको जनाएका छन्। ती देशका नागरिकले अमेरिकाको इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेसन इस्टामार्फत ७२ घण्टा अघिसम्म आवेदन दिन सक्ने व्यवस्था छ। उनीहरूले दूतावास वा कन्सुलेटबाट भिसा लिन आवश्यक हुँदैन। जसले ९० दिनसम्मको भिजिटर भिसा बी प्राप्त गर्न सक्छन्।

‘नेपाल भने भिसा वेभर कार्यक्रमका मापदण्ड पूरा गर्न नसकेका कारण अमेरिकाको अन अराइभल भिसाका लागि अयोग्य भएको हो। यो कार्यक्रमका लागि योग्य हुन अमेरिकी नागरिकका लागि पनि समान प्रकारको भिसा वेभरको सुविधा दिइएको हुनुपर्छ। दूतावास वा कन्सुलेटमा आवेदन दिँदा भिसा अस्वीकृत दर ३ प्रतिशतभन्दा कम हुनुपर्छ। नेपालीको भिसा अस्वीकृत दर ५० प्रतिशत हाराहारी छ’, पाना १५८ मा लेखिएको छ।
अमेरिका आप्रवासनको सजिलो माध्यम भने डीभी लोटरी हो कि ? तर, चिठ्ठा हो, पर्नुपर्‍यो। लेखकले डीभी भर्दा ध्यान दिनुपर्ने पाँचवटा टिप्स दिएका छन्। जसले आवेदन अस्वीकृत हुनबाट जोगाउनेछ। तपाईंको आवेदन छनोट भएपछि के गर्ने ? विभिन्न समस्या आइपरे कसरी समाधान गर्न सकिन्छ भनेर लेखकले टिप्स दिएका छन्।

हामी बेसी चर्चा त ग्रिनकार्डको सुन्ने गर्छौं। यो झन्डै चार सय प्रकारका हुने रहेछ। ‘सामान्यतः अमेरिकी ग्रिनकार्ड भन्नासाथ अमेरिकामा स्थायी बसोबासका लागि दिइएको अनुमतिपत्र मात्र बुझिन्छ। तर, यसका प्रकारबारे धेरैले याद नगरेका हुन सक्छन्’, पाना नम्बर १०७ मा छ। ग्रिनकार्ड प्राप्त गरेको ४ वर्ष ९ महिना (सामान्यतः) पूरा भएपछि त्यहाँको नागरिकता पाउन आवेदन दिन सकिने रहेछ। यसका साथै आवासीय मापदण्डदेखि आवेदनका क्रममा आवेदकले गर्न नहुने पाँच गल्तीलगायतका जानकारी यो कृतिबाट पाउन सकिन्छ। अमेरिकी नागरिकता त्याग्ने प्रावधानबारे पनि यो कृतिमा उल्लेख छ। जुन देशमा जान चाहेको हो त्यो त्यहाँको नागरिकता लिइसकेपछि मात्रै अमेरिकी नागरिकता त्याग्न पाइने रहेछ।

‘कुनै नेपालीले नेपालको नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएको छ भने वर्तमान कानुनी अवस्थामा अमेरिकी नागरिकता त्याग्न सहज छैन। तर, असम्भव छैन’, पाना १६६ मा लेखिएको छ, ‘नेपालको कानुनअनुसार अमेरिकी नागरिकता लिइसकेपछि उक्त व्यक्तिले नेपालको नागरिकता त्याग्नुपर्छ। र, अमेरिकी नागरिकता छँदाछँदै उक्त व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्न सक्दैन। किनभने, नेपालको कानुनमा दोहोरो नागरिकताको व्यवस्था छैन। तर, अमेरिकी कन्सुलेटले  अनुमति दिएको खण्डमा भने उसले नेपालको नागरिकता पुनः प्राप्त नगर्दै पनि अमेरिकाको नागरिकता त्याग्न सक्छ।’

‘अमेरिकामा ९ प्रकारका अध्यागमन ठगी’ शीर्षकमा उनले ठगीसम्बन्धी यथेष्ट जानकारी दिएका छन्। ठगहरूको पछि लाग्दा कतिपयले ठूलो रकम गुमाउने गरेका उल्लेख छ। कतिपयले देशनिकालाको सामनासमेत गर्नु परेको लेखकले जनाएका छन्।

यस्ता अनेक विषय छन्, जसलाई लेखकले मिहिन ढंगले प्रस्तुत गरेका छन्। जसको उठान ‘अमेरिकामा कामदार भिसा एच–१बीबारे जान्नै पर्ने कुराहरू’बाट गरिएको छ। अन्तिममा ‘अमेरिका भ्रमणमा आउँदा कति दिनका लागि कति औषधि ल्याउने ? कसरी ल्याउने ?’ टिप्स समेटिएको छ।

यद्यपि, लेखकले भनेका छन्, ‘यस पुस्तकमा दिइएका अध्यागमनबारे सुझाव सामान्य जानकारी मात्र हुन्। कानुनी सल्लाहका लागि लाइसेन्स प्राप्त कानुन व्यवसायीसँग सम्पर्क गर्नुपर्छ। बदलिँदो अध्यागमन र अन्य नियमसँग कतिपय विवरणमा परिवर्तन हुन सक्छ। त्यसका लागि सम्बन्धित निकायबाट पछिल्लो जानकारी लिन सकिन्छ। यसमा उल्लेख भएका कैयन् विवरणमा अमेरिकी सरकारका निकायहरू, अमेरिकामा  रहेका कानुन व्यवसायी र अन्य स्रोतलाई समेत प्रयोग गरिएको छ।’  

लेखक पन्थीले लामो समय नेपालमै पत्रकारिता गरे। अमेरिका आप्र्रवासन रोजेका उनी त्यहाँ पनि यही क्षेत्रमै क्रियाशील देखिन्छन्। त्यही भएर नेपाली पाठकले यो कृति पढ्न पाउने अवसर पाए। 
तर, विगतमा जो ‘देशको आमूल परिवर्तन गर्न’ हिँडे उनै ‘योद्धा’ आज ‘जिरो माइल’मा पुग्न किन बाध्य भए ? प्रतिभाको प्रगति भयो कि पलायन ? विमोचनका बेला यसबारे निकै बहस चलेको थियो। राज्यको बागडोर सम्हालिरहेका, सम्हाल्न आतुर र भविष्यमा सम्हाल्छु भन्नेहरू बेलामै ध्यान दिने कि ! 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.