मेसीमा निर्भर अर्जेन्टिना

मेसीमा निर्भर अर्जेन्टिना

दोहा : दुई पटकको विजेता अर्जेन्टिना यसपटक प्रमुख दाबेदारका रुपमा विश्वकप खेल्न कतार पुगेको छ। गत वर्ष कोपा अमेरिका च्याम्पियन बनेको अर्जेन्टिना त्यसमा विश्वकप विजेताको ताज थप्न आतुर छ। कतारमा अर्जेन्टिनालाई पर्खिरहेका कयौं चुनौतीबारे मुख्य प्रशिक्षक लियोनल स्कालोनी जानकार र सतर्क छन्। मंगलबार कतारविरुद्धको खेलबाट अर्जेन्टिनाले कतार विश्वकपमा नयाँ अध्याय सुरु गर्दैछ।

फाइनलमा ब्राजिललाई पराजित गरेसँगै २८ वर्ष लामो उपाधिको खडेरीमा अर्जेन्टिनाले गत वर्ष पूर्ण विराम लगाएको थियो। सन् १९९४ पछि पहिलो पटक अर्जेन्टिना दक्षिण अमेरिकी च्याम्पियनका रुपमा विश्वकपमा उत्रिँदैछ। यद्यपि, त्यो संस्करणको अन्तिम १६ मा रोमानियासँग स्तब्ध हुँदै बाहिरिएको अर्जेन्टिना यसपाली लामो यात्रा तय गर्ने लक्ष्यमा छ। अर्जेन्टिना लियोनल मेसीको नेतृत्वमा उच्च मनोबलसहित कतार पुगेको छ। अन्तिम विश्वकपलाई मेसी सफलतामा परिणत गर्न जुनसुकै मूल्य चुकाउन तयार छन्।

समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले मंगलबार दिउँसो लुसेल रंगशलामा साउदी अरबसँग खेल्दै अपेक्षित लामो यात्राको सुरुवात गर्दैछ। समूह चरणमा मेक्सिको र पोल्यान्डसँग खेल्नुअघि अर्जेन्टिना फिफा वरीयताको ५१औं राष्ट्र साउदी अरबविरुद्ध सहज जितको आशमा हुनेछ।

‘साउदी राम्रो टोली हो भन्ने हामीलाई थाहा छ’, प्रशिक्षक स्कालोनी भन्छन्, ‘उनीहरूको टिम राम्रो छ। प्राविधिक रुपमा बलिया र छरिता खेलाडी छन्। उनीहरूले हामीलाई कठिन बनाउन सक्ने छन्। त्यसमाथि विश्वकपमा त्यो हाम्रो पहिलो खेल हो। जुन सँधै कठिन हुन्छ।’ उनले साउदी अरेबियालाई कमजोर नआक्ने र आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने बताउँछन्। ‘हामी उत्कृष्ट फुटबल खेल्छौं। विश्वकपमा देखिने पनि उत्कृष्ट खेल नै हो। त्यसैले साउदी अरेबियासँग सतर्क भएर आफ्नो जिम्मेवारी पूरा गर्छौं’, स्कालोनीले भने।

अर्जेन्टिना विश्वपको उपाधि उचाल्ने दक्षिण अमेरिकाका तीन टोलीमध्ये एक हो। अर्जेन्टिनाको दोहोरो सफलतासँगै ब्राजिल पाँच र उरुग्वे दुई पटक विश्व विजेता बनेका छन्। तर, डिएगो म्याराडोनाको समय (सन् १९८६) यता भने दक्षिण अमेरिकी टिम खाली हात छन्। पछिल्लो तीन दशकदेखि विश्वकपमा अर्जेन्टिनाले धेरै पीडादायी क्षणको सामना गरेको छ। तीमध्ये आठ वर्षअघि ब्राजिलमा भएको विश्वकप सबैभन्दा तीतो रहेको थियो। जहाँ फाइनलको अतिरिक्त समयमा जर्मनीसँग १–० ले पराजित हुँदा उपाधिको सबैभन्दा नजिक पुगेर पनि खाली हात फर्कनु परेको थियो।

स्कालोनीको टोलीलाई निरास बनाउँदै साउदी दोस्रो पटक समूह चरण पार गर्ने अभियानमा छ। छैटौं पटक विश्वकपमा पुगेको साउदीले सन् १९९४ मा समूह चरण पार गरेको थियो। हर्भ रेनार्डको टिमले छनोटको दुई समूह चरणमा १८ मध्ये १३ जित र एक मात्र हारको नतिजासहित विश्वकपमा स्थान बनाएको थियो। तर, विश्वकपको ‘ड्र’ आयोजकको छिमेकीका लागि भाग्यशाली रहेन्।

फ्रेन्च प्रशिक्षक रेनार्डसँग अविश्वसनीय नतिजा निकालेको अनुभव छ। रेनार्डले सन् २०१२ मा जाम्बियालाई अफ्रिका कप अफ नेसन्स च्याम्पियन बनाएर तहल्का मच्चाएका थिए। त्यति मात्रै होइन, सन् २०१५ मा आइभरी कोस्टलाई पनि अफ्रिकी च्याम्पियन बनाएका रेनार्ड दुई टिमबाट अफ्रिका कप अफ नेसन्स जित्ने पहिलो प्रशिक्षक बनेका थिए। सन् २०१८ मा मोरक्कोको नेतृत्व गरेका रेनार्डले फेरि एकपटक जादुमयी नतिजाको अपेक्षासहित साउदीको प्रशिक्षण सम्हालेका हुन्।

‘हामीसामु कठिन खेल छन्। तर, प्रशिक्षक र खेलाडीले विश्वकपमा छनोट हुने सपना राख्नु भनेको उत्कृष्ट टिम सामू आफूलाई उभ्याउनु हो’, रेनार्ड भन्छन्, ‘बलिया टिमहरू विश्वकप जित्ने लक्ष्यसहित मैदानमा उत्रिन्छन् र निरास हुन्छन्। साना टिम अप्रत्यासित नतिजामा निर्भर हुन्छन् र हुनुपर्छ पनि।’ 

प्रभाव पार्न सक्ने खेलाडी

लियोनल मेसी (अर्जेन्टिना)
पेरिस सेन्ट जर्मन (पीएसजी) का मेसी आफ्नो करियरकै उत्कृष्ट लयमा छन्। पीएसजीबाट खेलेका सबैखाले प्रतियोगितामा २६ गोल गरेका मेसीसँगै युरोपेली शीर्ष पाँच लिगका अर्लिङ हालान्ड र नेमार मात्रै छन्। पीएसजीका ३५ वर्षीय फरवार्डले यो नै अन्तिम विश्वकप हुने बताइसकेका छन्। गत वर्ष अर्जेन्टिनालाई कोपा अमेरिका च्याम्पियन बनाएर आफ्नो काँधको बोझ उतारेका मेसी यसपटक आफ्नो राष्ट्रलाई विश्व विजेता बनाउने अभियानमा छन्।

पछिल्ला चार विश्वकपको नकआउट चरणमा गोल गर्न असफल मेसीले सात सय ५६ मिनेट गोलविहीन भएर मैदानमा बिताएका छन्। तर, समूह चरणमा ६ गोल गरेका मेसी यसपाली त्यो आँकडा थप्नेमा उत्साहित छन्। ३५ वर्षीय फरवार्डले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलेका छन्। त्यसमा उनले ६ गोल गरेका छन् भने पाँच गोलमा सहयोगी भूमिका खेलेका छन्। यस क्रममा उनले विश्वकपका १९ खेल खेलेका छन्।

पाँचौं विश्वकप खेलेसँगै उनले अर्जेन्टिनाका लागि यसअघि डिएगो म्याराडोना र ज्याभिएर मास्कारानोको नाममा रहेको कीर्तिमान उछिन्ने छन्। मेसीलाई थाहा छ कि अर्जेन्टिनासँग विश्वकपको उपाधि जित्ने एउटा अन्तिम अवसर आएको छ। गत वर्ष ब्राजिलमा कोपा अमेरिकाको उपाधि जितेपछि छनोटमा प्रभावशाली प्रदर्शन गर्दै ३५ खेलमा अपराजित रहेर कतार पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.