पालुङ्टारको थुम्कीडाँडा, जहाँ ५० वर्षदेखि हिंसा हुँदैन...
गोरखा : आसपासका गाउँबस्तीभन्दा उच्च ठाउँमा अवस्थित भएकाले यो गाउँलाई थुम्कीडाँडा भनिएको हो । यो पालुङ्टार नगरपालिका वडा नं. ९ मा पर्छ । सेराबेसी, रिपथोक, डाँडास्वाँरा, छापथोक, सिस्नेरी लगायतका भूभागबाट उठेको थुम्कीडाँडामा ३० घर छन् । ती सबै गुरुङका घर हुन् ।
गण्डकी प्रदेशका गुरुङहरु प्राय वुद्ध, ताओ, बोन वा हिन्दू धर्मावलम्बी हुन् तर यहाँका गुरुङ समुदाय कृष्ण प्रणामी छन्। त्यसैले उनीहरु काटमार गर्दैनन्, मांसआहार गर्दैनन् ।
यो सयौँ वर्ष पुरानो बस्ती हो । ५० बर्षभन्दा अघिसम्म यहाँ गुरुङलगायत अन्य जातजातिका समुदायको पनि बसोबास थियो । अहिले सेरावेशी, रिपथोक, डाँडास्वाँरा, छापथोक, लप्सीडाँडा, कटहरेमा बसोबास गरेका सेढाईँ थरका व्राह्मण, क्षेत्री, दमाई, कामी, सार्की समुदाय थुम्कीडाँडाबाटै बसाईँ सरेर गएका हुन् ।
जब अरु समुदाय यहाँबाट सरेर अन्यत्र गए, तबदेखि यो बस्ती शाकाहारी बस्ती बन्यो । ‘पहिले पनि हामी यहाँका गुरुङहरु कृष्ण प्रणामी नै थियौँ, शाकाहारी नै थियौँ । अरु जातजाति छ्यासमिस भएकाले गतिलोसित संगठित हुन पाएका थिएनौँ’, स्थानीय चिजा गुरुङ भन्छन्, ‘अरु जातजाति बसाईँ सरेर गएपछि हामी मात्र बाँकी रह्यौँ । २०३३ सालमा हामी एकजुट भएर राज निजानन्द प्रणामी मन्दिर स्थापना गर्यौँ । समूह गठन गर्यौँ । विभिन्न नीति नियमहरु बनायौँ । त्यसबेलादेखि यस गाउँलाई अहिंसा गाउँ घोषणा गरेर काम गरिरहेका छौँ ।’
अहिले यहाँ करिब ३० घर परिबारको बसोबास छ । कतिपय घरपरिबारका सदस्यले तनहूँको आँबुखैरेनीमा घरजग्गा किनेर बसोबास गरेका पनि छन् तर कसैले पनि थुम्कीडाँडा छाडेका छैनन् । ‘यहाँका मान्छेहरु धेरैतिर छरिएका छैनन् । कुनैकुनै घरका मान्छेहरु बच्चाबच्ची पढाउन आँबुखैरेनीमा बसोबास गर्छन्, कोहीकोही ब्रिटिश आर्मीमा, इण्डियन आर्मी र नेपाल आर्मीमा जागिर खान्छन्’, अर्का स्थानीयबासी मीनबहादुर गुरुङ भन्छन्, ‘खैरेनीमा बसेकाहरु पनि काटमार गर्दैनन्, माछामासु खाँदैनन् । नेपाल आर्मी, इण्डियन आर्मी, ब्रिटिश आर्मीमा जागिर खानेहरु पनि कसैले माछामासु खाँदैनन्, काटमार गर्दैनन् ।’
यहाँका बासिन्दाले मासुका लागि गरिने व्यवसाय पनि नगर्ने उनले बताए । ‘दूधदहीका लागि गाईपालन गरिन्छ, भैँसी पालन गरिन्छ तर कुखुरा, बाख्रा पालन गरिँदैन’, उनले भने, ‘यहाँ जन्मेका गुरुङहरु कसैले पनि गाउँभित्र मात्र होइन, बाहिर पनि काटमार गर्दैनन्, माछामासु पनि खाँदैनन् ।’
यहाँ विवाह गरेर आउने बाहिरी गाउँका चेलीहरु शाकाहारी हुनुपर्ने वा माछामासु खान छाड्नु पर्ने नियम गाउँलेले बनाएका छन् । ‘यहाँ बिबाह गर्ने चेलीबेटी शाकाहारी हुनुपर्छ’, गुरुङ भन्छन्, ‘यदि कोही मांशाहारी केटीहरु यहाँका केटासित बिबाह गर्दैछन् भने दुई वर्षअघिदेखि माछामासु खान छाड्नुपर्छ ।’ गाउँलेले बनाएको नीति नियममा फरक मत अहिलेसम्म कसैले पनि नराखेका स्थानीयहरु बताउँछन् । गाउँको परम्परामा नयाँपुस्ता पनि खुशी रहेको उनको भनाइ छ ।
यहाँका बासिन्दाले कृष्ण अष्टमीलाई मुख्य पर्वको रुपमा मनाउँछन् । हिन्दूहरुले मनाउने दशैँ र तिहार पनि मनाउँछन्, तर सबै चाडपर्व हिंसारहित हुनेगर्छ, शाकाहारी हुने गर्छ ।
शाकाहारी दिनचर्यामै सबै रमाइरहेको र स्थानीय प्रथाप्रति कसैको पनि असन्तुष्टि नरहेकाले अहिंसा व्यवस्था भविष्यसम्म पनि रहिरहने स्थानीयबासीको आशा छ ।
प्रतिक्रिया दिनुहोस !