ठूलो आँगनको बीचमा पृथ्वीनारायण शाहको सालिक राख्नेबारे स्थानीय असन्तुष्ट
गोरखा : गोरखा नगरपालिकाले सदरमुकामको ठूलोआँगनको बीच भागमा पृथ्वीनारायण शाहको सालिक र नेपालको नक्शा राख्ने भएपछि आँगनको शान र सौन्दर्य मेटिने भन्दै स्थानीयबासीले विरोध गरेका छन्। पृथ्वीनारायण शाहको पालाभन्दा अघिदेखि कायम रहेको ठूलोआँगनको पुरातात्विक अस्तित्व मेटाएर बीच भागमा संरचना बन्दा आँगन अतिक्रमण हुने र त्यहाँको मौलिकता नष्ट हुने स्थानीयको चिन्ता छ।
‘यो आँगन पृथ्वीनारायण शाहको पालाभन्दा अघिदेखिको हो। पृथ्वीनारायण शाहले यहाँ हतियार प्रदर्शन गर्थे भन्ने किंवतन्ती छ’, स्थानीय सनातन जोशी भन्छन्, ‘यस्तो महत्वपूर्ण आँगनको संरचना लहडको भरमा नष्ट गर्ने अधिकार कसैलाई छैन। ऐतिहासिक, पुरातात्विक सम्पदाको संरक्षण गर्ने भन्ने विषय संवेदनशील विषय हो। प्राविधिक ज्ञान नभएका मान्छेले चाहेर हुल्लडबाजीको भरमा फेरबदल गर्न मिल्दैन। आँगनको सौन्दर्य ह्रास हुने भयो भनेर स्थानीयबासी सबै भित्रभित्र मुर्मुरिएका छन्, चुर्चुरिएका छन्।’ आँगनको मौलिकतामा खलल पुर्याउन नहुने उनको भनाइ छ।
गोरखा नगरपालिकाले करिब २२ लाख रुपैयाँको लागतमा ठूलोआँगनको बीच भागमा पृथ्वीनारायण शाहको सालिक र नेपालको नक्सा ठड्याउने प्रक्रिया सुरु गरेको छ। प्रक्रिया सुरु भए लगत्तै स्थानीयबासीले आँगनको संरचना बिग्रिने भन्दै चिन्ता व्यक्त गरेका हुन्।
‘वडा कार्यालयले स्थानीयबासी, टोलबासीको मात्रै भेला राखेर यस बिषयमा हाम्रो अभिमत बुझ्ने प्रयास गर्नुपथ्र्यो। त्यतिबेला हामी खुलेर मनको सबै कुरा राख्थ्यौँ’, जोशीले भने, ‘एक्कैचोटी ठूला मान्छेहरुको बीचमा बोल्नु पर्दा हामी सर्वसाधारण उनीहरुको प्रस्तावमा नतमस्तक भइयो। त्यसैलाई फाइदा उठाएर निर्णय भएको हो, भित्रैदेखि कोही पनि खुशी छैनन्।’
सर्वपक्षीय भेलामा आँगनको संरचना बिगार्न पाइँदैन भनेर फरक मत राख्ने मान्छेलाई नबोलाई, नयाँ संरचना बनाउनु पर्छ भन्ने पक्षमा बोल्नेलाई मात्र छानी–छानी बोलाएको स्थानीय आत्माराम श्रेष्ठको आरोप छ। ‘म ठूलोआँगनकै बासिन्दा हुँ। यो आँगनको संरचना यथावत राख्नुपर्छ, बिगार्न पाइँदैन भन्ने पक्षमा आवाज उठाउँदै आएको छु’, उनले भने, ‘पृथ्वीनारायण शाहको सालिकको बिरोध गरेको होइन। नगरपालिका र सेनाको कार्यक्रमको बिरोध पनि गरेको होइन, तर ठाउँ छनौट गरेको मिलेन भन्ने मेरो भनाइ हो। तर हामी फरक मत राख्नेलाई बोलाएनन्, समर्थन गर्नेहरुलाई मात्र बोलाएर निर्णय गरे। त्यो कदम उचित छैन।’
ठूलो आँगनको ऐतिहासिकता मर्न दिन नहुने स्थानीय नारायणभक्त अर्यालको सुझाव छ। ‘यो ठूलोआँगन भनेको ऐतिहासिक आँगन हो। त्यहाँ दरबार छ, यहाँ आँगन छ। यतापट्टि चौतारो थियो, यता पाटी थियो। उतापट्टि पनि पाटी थियो। यसको ऐतिहासिक महत्व ठूलो छ’, उनले भने, ‘यहाँ बजारका मान्छेहरुले गाईजात्रा झिक्ने ठाउँ पनि हो, लाखे नचाउने ठाउँ पनि हो। जूनमा मकै सुकाउने पुर्नेेमा ठूलोआँगनमा मकै चढाउने परम्परा छ। यी सबै दृष्टिले महत्वपूर्ण रहेको ऐतिहासिक, पुरातात्विक ठाउँको शोभा बिग्रिने गरी बीचमा ल्याएर सालिक राख्नु मलाईचाहिँ वुद्धिमानी लाग्दैन। यो आवश्यकै होइन।’ पार्कभित्र रहेको सालिकलाई राम्रो बनाउनु पर्ने, त्यहाँसम्म पैसा नतिरीकन जाने फोटो खिच्न पाउने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
पृथ्वीनारायण शाहको सालिक, नेपालको नक्सा राख्ने कुरा मात्रै भएको, तर कहाँ राख्ने भन्ने बारेमा स्थानीयबासीको सुझाव माग नभएको अर्का स्थानीय सवन परियारको भनाइ छ। ‘यहाँ राख्न उचित कि अनुचित भन्ने बारेमा सुझावै मागिएन। यहाँ बीचमा सालिक राख्दा के हुन्छ, कस्तो असर पर्छ भन्ने बारेमा त छलफलै भएन’, उनले भने, ‘राख्ने कि नराख्ने भन्ने प्रस्ताब आयो। राख्ने भन्नेचाहिँ सबैले भने तर कहाँ राख्ने, कता फर्काएर राख्ने भन्ने बिषयमा छलफलै नभई माइनुटमा सही गराइयो।’ एकदुई जनाको हुंकारको भरमा निर्णय भएको भन्दै उनले बिरोध गरे।
भेलामा स्थानीयबासी सबैलाई खबर पनि नभएको र वडाअध्यक्षले राख्ने भनेपछि सबैले सही गरेको अर्का स्थानीय कुमार श्रेष्ठको भनाइ छ। ‘सेनाले यहाँ बीचमा सालिक राख्ने भनेकै होइन। उ त्यहाँ भित्तामा राख्ने भनेको हो’, उनले भने, ‘वडाअध्यक्षले यहाँ राख्ने भनेपछि सबैले सही गरेको हो।’
‘हामीले नबनाउँ भनेको होइन। हामी पनि विकासप्रेमी नै हो। पृथ्वीनारायण शाहको सालिक राख्नु हुन्न भनेको होइन’, अर्का स्थानीय सुमन थापाले भने, ‘हामीलाई राजाको सालिक चाहिएको छ, तर आँगनको बीचमा सालिक राख्नुहुदैन। अर्कै ठाउँमा राख्नुपर्छ। यो सार्वजनिक ठाउँ हो। यसको हामी सबैलाई बराबर अधिकार छ। दुईचार जना मान्छेले जे जे भन्यो त्यहीत्यही गर्न दिँदैनौँ। हामी यसको बिरोध गर्छौँ। आवश्यक पर्यो भने मान्छे उठाएर ल्याउँछौँ, कहाँकहाँ निवेदन दिनुपर्छ, दिन्छौँ।’
सो भेलामा आफूले राखेको फरक मतलाई सम्बोधन नगरिएको अर्का स्थानीय रामकुमार श्रेष्ठको भनाइ छ। ‘ठूलो आँगन यसै पनि अतिक्रमण भएर सानो आँगन भएको छ’, उनले भने, ‘त्यसमाथि पनि बीचमा सालिक राख्दा झन सानो आँगन बन्छ। यसको प्राचीन महत्व मेटिन्छ। त्यसैले मैले भेलामा प्रष्टसित आफ्नो सुझाव राखेको थिएँ। तर हामी साना मान्छेको बोली हावामा उड्यो। कसैले सुनेनन्।’
छेउकुनामा राख्नुभन्दा ठूलोआँगनको बीचमा पृथ्वीनारायण शाहको सालिक राख्नु उचित हुने मोहनलाल श्रेष्ठको भनाइ छ। ‘आर्मीले त संग्रहालय प्रवेश गर्ने गेटको छेउमा राख्ने भनेको थियो, तर छेउकुनामा सालिक राखेर त्यसको के औचित्य ?’ आँगनको बीचमा सालिक राख्नुपर्छ भन्ने पहिलो पटक प्रस्ताब गर्ने मोहनलाल श्रेष्ठले भने, ‘बीचमा सालिक राख्ने, झलमल्ल विजुली बत्ती बाल्ने, सूर्योदय र सूर्यस्तका बेला माथिल्लो दरबारबाट बिगुल बजाउने, यहाँ सेनाले सलामी दिने, परेड खेल्ने गर्दा कस्तो रमाइलो हुन्छ ? भित्तामा राखेर के रौनक हुन्छ ?’ ठूलोआँगन क्षेत्रलाई वसन्तुपर दरबार क्षेत्र जस्तो विकास गर्न चाहेको उनको भनाइ छ।
आँगनको बीचमा सालिक राख्ने भनेर भेलाले एक स्वरले निर्णय गरेको गोरखा नगरपालिका ६ का वडाअध्यक्ष राजेन्द्रकुमार जोशी बताउँछन्। भित्र एउटा कुरा, बाहिर अर्कोकुरा गर्नु उचित नहुने उनको भनाइ छ।
ठूलोआँगनको बीच भागमा सालिक राख्नुपर्छ भन्ने पक्षमा गोरखा नगरपालिका पनि नभएको नगरप्रमुख कृष्ण राना मगरको भनाइ छ। ‘ठूलोआँगनको बीचमा पृथ्वीनारायण शाहको सालिक राख्नुपर्छ भन्ने पक्षमा न नगरपालिका छ, न नेपाली सेना’, उनले भने, ‘तर स्थानीयबासीसित राय माग्दा त्यहीँ राख्नुपर्छ भन्ने सबैबाट आयो। तर बीचमा सालिक राख्दा पनि आँगनको सौन्दर्य घट्दैन, झन बढ्छ।’ यसले सो क्षेत्रको पर्यटन विकास हुने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !