ठूलो आँगनमा पृथ्वीनारायण शाहको सालिक बनाउन स्थानीयबासी सहमत
गोरखा : गोरखा नगरपालिका ६ ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक निर्माण गर्न स्थानीयबासी सहमत भएका छन्। सो ठाउँमा सालिक निर्माण गर्दा पुरानो बजार क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने भन्दै स्थानीयबासी सहमत भएका वडाअध्यक्ष राजेन्द्रकुमार जोशीले बताए।
‘ठूलो आँगन क्षेत्रका बासिन्दा आँगनको बीचमा सालिक निर्माण गर्न सहमत भएका छन्’, उनले भने, ‘जो–जो फरक मत राख्नेहरु हुनुहुन्थ्यो, मैले घरदैलो गरेर सबैलाई भेटेँ, कुरा गरेँ। सबैजना कन्भिन्स हुनुहुन्छ। अहिले कतैबाट विरोध आएको छैन।’ ठूलोआँगनको क्षेत्रमा साना गाडीहरु चल्न मिल्ने गरी संरचना निर्माण हुने र यसअघि भएका गतिविधिमा कुनै अबरोध नहुने भएकाले स्थानीयबासीले सहमति जनाएका उनले बताए।
सो ठाउँमा गोरखा नगरपालिका र नेपाली सेनाले पृथ्वीनारायण शाहको सालिक र नेपालको नक्सा निर्माण गर्ने र त्यहाँ दिनहूँ बिहान र साँझमा सलामी दिने कार्यक्रम तय भएको थियो। सो ठाउँमा पूर्वाधार निर्माण गर्न नगरपालिकाले करिब २२ लाख रुपैयाँ विनियोजन गरेको थियो।
केही स्थानीयबासीको फरक मत आएपछि मंगलबार बिहानभर गृहकार्य गरेर कार्यक्रम अघि बढाउने वातावरण बनाएको वडाअध्यक्ष जोशीले बताए। ‘त्यो ठाउँमा ढुंगा बिछ्याएकाले ट्रिपर, ट्रक, बसजस्ता ठूला गाडीहरु चल्न नदिने र ती हेभी गाडीहरु चल्न वैकल्पिक बाटो बनाइएको छ’, उनले भने, ‘साना गाडीहरु त्यही बाटोबाट चल्न दिने निर्णय भएको छ। यसमा स्थानीयबासी सहमत हुनुहुन्छ।’
प्रतिक्रिया दिनुहोस !