रुञ्चेतमा फस्टाउँदै किबी खेती
गोरखा : गोरखाको दुर्गम क्षेत्रमा पर्ने धार्चे–२ रुञ्चेतमा किबी खेती फस्टाएको छ। नमुनाका रूपमा लगाएका किसानहरूको किबी खेती फस्टाएपछि व्यावसायिक रूपमा खेती गर्न सकिने भन्दै उनीहरू उत्साहित भएका छन्।
फेज नेपालको सहयोगमा कामी गुरुङले पाँच वर्षअघि लगाएको किबी अहिले लचप्पै फलेको छ। यो किबी पाकेर भिœयाउने सिजन हो। ‘दुई रोपनी जग्गामा पाँचवटा बिरुवा रोपेको हो। गतवर्ष तीन क्विन्टल बेचेको थिएँ। अहिले त्योभन्दा धेरै उत्पादन भएको छ’, कामी गुरुङले भने, ‘पोहोर प्रतिकिलो २५० रुपैयाँका दरले बेचेको थिएँ। यसपटक गाउँमै प्रतिकिलो ३ सय रुपैयाँका दरले बिक्री भइरहेको छ ?’ दुई वर्षअघि भने प्रतिकिलो ५ सय रुपैयाँका दरले बिक्री गरेको उनले बताए। त्यतिबेला अलिअलि नाफा भएको थियो।
खच्चडमा बोकाएर माछाखोला पुर्याउने र माछाखोलाबाट ट्रकमा बोकाएर गोरखा बजार पुर्याउँदा गतवर्ष खासै नाफा नभएको उनको भनाइ छ। परीक्षणका लागि पाँचवटा बिरुवा रोप्दा पर्याप्त फलेपछि गुरुङले त्यसमा थप गरी फेरि पाँचवटा बिरुवा रोपेका छन्। थपेको बिरुवा पनि फलेपछि भने राम्रो आम्दानी हुने उनको आशा छ।
उनको बारीमा यथेष्ट किबी फलेपछि अरूले पनि लगाउन थालेका छन्। अहिले १५ जना किसानले किबी लगाएका अर्का चन्द्रमान गुरुङको भनाइ छ। उनका अनुसार रुञ्चेतमा किबीका लागि सुहाउँदो हावापानी, माटो छ। यहाँका सबै गाउँलेले किबी खेती गरेर पकेट क्षेत्र बनाउन सके र कालीमाटीजस्ता तरकारी तथा फलफूलको थोक बजारसम्म पुर्याउन सके यहाँका किसानको आर्थिक अवस्था अपेक्षित सुधार हुने गाउँलेको विश्वास छ।
काशीगाउँका किसानहरूको बारीमा पनि किबी फलेको छ। यहाँ १ सय २० घरधुरीका बासिन्दाले किबी खेती गरेका वडा अध्यक्ष धनकुमार घलेले जानकारी दिए। यहाँ वडा कार्यालयको ३ लाख रुपैयाँ र फेज नेपालको प्राविधिक सहयोगमा किबी खेती गर्न थालिएको उनको भनाइ छ। तर, किबीले बजार नपाएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !