केरौजाबेंसी वर्षौंदेखि विद्युत्विहीन
गोरखा : गण्डकी प्रदेश सरकारले उज्यालो गण्डकी अभियान सञ्चालन गरेको पाँच वर्ष बित्यो। यही शीर्षकमा अर्बौं खर्च पनि भइसकेको छ। तर, गोरखाको धार्चे–२ केरौजाबेंसीका बासिन्दाले भने अहिलेसम्म पनि बिजुली बत्ती बल्न पाएका छैनन्।
दुर्गम क्षेत्रमा पर्ने यहाँका ३० घरधुरीका बासिन्दा अहिले सोलार लाइट बालेर रात गुजारिरहेका छन्। ‘गाउँपालिकाले प्रत्येक घरधुरीलाई १० वाटको सोलार लाइट दिएको थियो। त्यो पनि कसैको बिग्रिसक्यो। कसैको बाँकी छ’, स्थानीय फिरेन्द्र घलेले भने, ‘बिजुली बत्तीको लाइन नहुँदा गाउँलेलाई मोबाइल चलाउन पनि समस्या भएको छ।’ सो सोलार प्रविधिमा मोबाइल चार्ज गर्न पनि नमिल्ने उनले बताए। भूकम्प लगत्तै आएको एउटा संस्थाले गाउँलेलाई सुय वाट क्षमताको सोलार उपकरण उपलब्ध गराएको थियो। त्यसलाई भूकम्पले भत्किएर बचेको विद्यालयको कोठामा राखेर गाउँलेको मोबाइल चार्ज गर्ने साझा ‘मोबाइल चार्जिङ सेन्टर’ बनाएको उनले बताए। घर–घरमा बिजुली बत्ती नभएकाले गाउँलेहरू यहीँ आएर पालैपालो मोबाइल चार्ज गर्छन्।
२०७२ अघि यहाँ ५० घरधुरीका बासिन्दाको बसोबास थियो। भूकम्पले धेरैलाई उठिबास लगाएपछि कोही लामाबेंसी, कोही कतै बस्न पुगे। भूतखोला लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको ४५ किलोवाट विद्युत् यहाँ जोडिएको थियो। भूकम्पले सो आयोजना पनि क्षतिग्रस्त भयो। केरौंजाबेंसीको सो आयोजना मर्मतसम्भार नभएकाले गाउँलेले समस्या भोग्नुपरेको घलेले बताए। ‘गाउँमा योजना माग्न सक्ने पनि छैनन्, यहाँबाट नजिकै रहेको लामाबेंसीमा केन्द्रीय प्रशारणको लाइन जोडिएको छ।
प्रतिक्रिया दिनुहोस !