पहिले झारफुक अनि स्वास्थ्य संस्था

पहिले झारफुक अनि स्वास्थ्य संस्था

गोरखा : धार्चे गाउँपालिका २ रुञ्चेतका सुनेमेन्दो गुरुङ जब बिरामी पर्छिन्, परिवारले सबैभन्दा पहिले उनलाई आफ्नै खलकको धामी बोलाएर झारफुक गर्छन्। सिमेभुमे बक्साउँछन्। भूतप्रेत मन्साउँछन्, बोक्सी झार्छन्।

त्यसले पनि बेथा बीसको उन्नाइस भएन भने लामा झाँक्री बोलाउँछन्। रातभर कालो भाले, कालो बोका बली दिएर फुकफाक गर्छन्। त्यसले पनि निको भएन भने बल्ल स्वास्थ्यचौकी लैजान्छन्।

‘यतिबेलासम्म बिरामी गम्भीर भइसकेका हुन्छन्’, वडाअध्यक्ष सरोज गुरुङ भन्छन्, ‘अनि अस्पतालको औषधिले छुँदैन। तल लग्यो भने बिरामी फर्कंदैन भन्ने गर्छन्।’ झारफुक गरेर बेला गुजार्र्ने, उपचार नलाग्ने अवस्थामा अस्पताल गएर दोष आधुनिक उपचार पद्धतिलाई दिने परम्परा रहेको उनको भनाइ छ।

सबै खाले बिरामीहरू पहिले झारफुक गरेर मात्र स्वास्थ्य संस्था जाने पुरानो चलन अझै विद्यमान रहेको अर्का स्थानीय सुकपल गुरुङको भनाइ छ। ‘अरु व्यथा त परको कुरा, चोटपटक लाग्यो भने पनि पहिले फुकफाक गर्छन्। अनि मात्र स्वास्थ्यचौकी जान्छन्’, उनी भन्छन्, ‘भाँचिए, मर्किएको बिरामीले पनि बोक्सीको आँखा नलागोस् भनेर सबैभन्दा पहिले त झारफुकै गर्छन्।’ ब्यथा लागेको एक–दुईहप्तापछि मात्रै स्वास्थ्य संस्थामा लैजाने परम्परा रहेको उनको भनाइ छ।

रुन्चेतमा मात्र होइन, झारफुक गरेपछि मात्र औषधिमुलो गर्ने चलन धार्चे गाउँपालिकाका धेरै ठाउँमा रहेको यहाँका स्वास्थ्य चौकी प्रमुख राकेशकुमार महतो बताउँछन्। ‘झारफुक गर्ने र परम्परागत शैलीमा घरेलु औषधि प्रयोग गर्ने चलन धार्चेका धेरै गाउँहरूमा उस्तै छ’, उनी भन्छन्, ‘स्वास्थ्यसम्बन्धी जनचेतनाको कमीले गर्दा यस्तो भएको हो। पहिलेभन्दा अहिले अलिअलि सुधार हुँदैछ।’ धार्चे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अमृत घले भने बिरामीलाई धामीझाँक्री लगाउने प्रचलन अहिले धेरै नै न्यूनीकरण हुँदै गएको दाबी गर्छन्। ‘धार्चेमा यस्तो चलन छैन भन्न मिल्दैन पहिले हुन्थ्यो। अशिक्षित घरमुली भएका घरहरूमा अहिले पनि पाइन्छ’, उनी भन्छन्, ‘तर अहिले यो प्रचलन निर्मूल त नभनौं, न्यूनीकरण भइसकेको छ।’ बिरामीलाई स्वास्थ्य संस्थामा लैजान प्रेरणा दिनेबारे धामीझाँक्रीलाई पालिकाले तालिम दिएको उनले बताए।

विशेषगरी धार्चे १ को हुलचुक, वडा नं. २ को रुन्चेत, केरौंजा, वडा नं. ३ को उहिया, दुङ्ला, लाक्पाल, खोर्ला गाउँहरूमा यस्तो प्रथा कायमै रहेको उनले बताए। 

‘झाँक्रीले ढ्याङ्ग्रो बजाएर स्वास्थ्य तथा सुरक्षाका कार्यहरू गर्नु यहाँका समुदायको मौलिक परम्परा हो’, उनले भने, ‘मान्छे बिरामी भयो भने मात्र होइन, यहाँको गाउँघर, खेतीबाली, पशुचौपायालाई रखबार गर्न, ग्रहदशा काट्न, पूजाआजा जस्ता पवित्र कामहरूमा पनि लामा, झाँक्रीहरूले ढ्याङ्ग्रो बजाउने परम्परा छ।’ मौलिक परम्परालाई नकारात्मक रुपमा मात्र नबुझ्न उनले आग्रह गरे।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.