चम्पावती जलविद्युत् आयोजनाको कार्यालयमा आगजनी
गोरखा : रागिनासटार सिँचाइ आयोजनालाई असर पर्ने गरी काम गरेको भन्दै सो क्षेत्रका किसानले चम्पावती हाइड्रोपावरको कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।
यसअघि गरिएको डिजाइन स्टमेट परिवर्तन गरी किसानलाई असर पुग्ने गरी काम गरेको आरोपमा उनीहरूले सो हाइड्रोको सिरानचोक गाउँपालिका–२ पाण्डेवेशीस्थित कार्यालयमा तोडफोड र सवारी साधनमा आगजनी गरेका हुन्।
सो सिँचाइ आयोजनाबाट प्रभावित हुने रागिनासटारका करिब पाँचसय जना किसानहरूले आयोजनाको एउटा कार्यालय भवन तोडफोड गरेका र दुईवटा मोटरसाइकल तथा एउटा मिनीट्रक र एउटा एक्साभेटर जलाएर नष्ट गरेका प्रत्यक्षदर्शी सुजन न्यौपानेले बताए।
सात मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने गरी निर्माणाधीन चम्पावती जलविद्युत् आयोजनाका कारण बाह्रसय हेक्टर क्षेत्रफलमा फैलिएको खेत सुख्खा हुने भन्दै किसानहरूले विगत लामो समयदेखि विवाद गरिरहेका थिए।
तर चम्पावती हाइड्रोले किसानहरूको माग बेवास्ता गरी काम गरिरहेकाले शनिबार दिउसो १ बजे आक्रमण गरेका न्यौपानेले बताए। आक्रमणका कारण कार्यालय भवन र सवारी साधनमा क्षति पुगेको गोरखा जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले बताए।
‘जलविद्युत आयोजनाको निकास सिँचाइ आयोजनाको बाँधभन्दा दुईसय मिटर तल लगेको भन्दै आक्रोशित किसानले आक्रमण गरेका रहेछन्,’ उनले भने, ‘घटनाको अनुसन्धान गरी घटनामा संलग्नको खोजी कार्य भइरहेको छ।’
प्रतिक्रिया दिनुहोस !