ठूलोआँगनमा पृथ्वीनारायण शाहको शालिक बनाउन सुरु
गोरखा : पर्यटक भित्र्याउनका लागि ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक स्थापना गर्ने प्रक्रिया सुरु गरिएको छ।
गोरखा नगरपालिकाले करिब २२ लाख रुपैयाँ लागतमा ठूलोआँगनको बीच भागमा सालिक राख्न लागेको हो। सालिक स्थापना गर्न यहाँ ४० वर्षअघि छापिएको ढुंगा फुटाइएको छ।
नगरपालिकाले सालिक निर्माण गरेपछि यहाँ नेपाली सेनाले नियमित रुपमा साँझ र बिहान परेड खेल्ने र सलामी दिने कार्यक्रम छ। नगरपालिका र नेपाली सेनाले संयुक्त रूपमा यहाँ कार्यक्रम सञ्चालन गर्न लागेको हो। सो कार्यक्रमले पर्यटन प्रवर्द्धन हुने विश्वास गरिएको छ।
तर कतिपय स्थानीयबासीले भने पुरातात्विक सम्पदामा आँच आउने गरी नयाँ संरचना बनाउन लागेको भनेर विरोध गरेका छन्। विरोधपछि केही समय निर्माण कार्य रोकिएको थियो। फेरि बैठक र छलफल गरी निर्माण कार्य सुरु गरिएको हो।
यसअघि २०४२ सालदेखि पुरातत्व विभागले गोरखाको बसपार्कभन्दा माथि, तल्लोदरबार, ठूलोआँगनदेखि गोरखकाली मन्दिर, गोरखा दरबार क्षेत्रसम्म समेटेर पुरातात्विक क्षेत्र घोषणा गरी परियोजना लागु गरेको थियो।
त्यसैअन्तर्गत तल्लो दरबारलाई गोरखा संग्रहालय, आसपासका क्षेत्रलाई गोरखा पार्क, पृथ्वीनारायण शाहको सालिक निर्माण गरेको छ। साथै सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस पनि गरेको छ।
केही स्थानीयवासीले विश्व सम्पदा सूचीमा समेटिएपछि साधारण जनजीवनमा कठिनाइ हुने, पुरातात्विक नीति नियम पालना गर्न सहज नहुने भन्दै निरन्तर विरोध गरेपछि २०७३ सालपछि गोरखा संग्रहालयको घेरा र गोरखा दरबार क्षेत्रलाई मात्र पुरातात्विक क्षेत्र कायम गरी बाँकी क्षेत्रलाई खुल्ला गरिएको थियो।
पुरातात्विक क्षेत्रबाट खुल्ला भएपछि यसअघि बिछ्याइएको ढुंगा फुटाएर ठूलोआँगनको बीच भागमा सालिक बनाउन थालिएको हो।
प्रतिक्रिया दिनुहोस !