यूएईमा पासपोर्ट नवीकरण गर्न झमेला

यूएईमा पासपोर्ट नवीकरण गर्न झमेला

यूएई : नुवाकोट शिवपुरीका रामकाजी तामाङको पासपोर्टको म्याद २० नोभेम्बरमा सकियो। त्यो बेला कम्पनीले छुट्टी दिएन। तीन सातापछि उनी पासपोर्ट नवीकरण गर्न अबुधावीस्थित नेपाली राजदूतावास पुगे। तर, कर्मचारीले काम गरिदिनुको साटो नजिकै रहेको टाइपिङ सेन्टर देखाएर त्यहाँबाट ‘डेट’ लिएर आउन भने। तामाङ टाइपिङ सेन्टर पुगे। तर, न उनले पासपोर्टकबो फाराम भर्न पाए न त अर्को दिनको ‘डेट’ नै।

गोरखाका रविन गुरुङ अबुधावीबाट झन्डै २ सय ५० किलोमिटर टाढा रहेको शारजाह सहरमा काम गर्छन्। उनको भिसाको म्याद डिसेम्बर २१ मा सकिने भयो। यूएईको कानुनअनुसार ३० दिनभित्र नयाँ भिसा लगाउनुपर्ने हुन्छ। नयाँ भिसा लगाउन पासपोर्टमा म्याद सकिन कम्तीमा ६ महिनाको समय चाहिन्छ। त्यही कारण पासपोर्ट नवीकरण गुरुङ डिसेम्बर ९ मा अबुधाबी पुगे। उनलाई पनि दूतावासका कर्मचारीले फर्काइदिए।

टाइपिङ सेन्टरको नामै तोकेर त्यहाँ गई फाराम भरी ‘अपोइन्टमेन्ट डेट’ लिएर आउन भनेको उनले सुनाए। उनी नजिकै रहेको टाइपिङ सेन्टरमा पुगे। तर, उनले त्यहाँ न फाराम भर्न पाए न त कुनै डेट नै। 

यी त प्रतिनिधि पात्र मात्रै हुन्। नेपाली कामदार यूएईका बिभिन्न राज्यबाट घण्टांै यात्रा गरी पासपोर्ट नवीकरण गर्न अबुधावीस्थित दूतावासमा पुग्छन्। तर, काम नबन्दा निराश बन्दै फर्किन्छन्। तिनै नेपालीमा पर्छन् दैलेखका मातृका लम्साल, खोटाङका हर्कराम लबाद, सिरहाका महेश कपैर, स्याङ्जाका सन्तोष थापा, तनहुँका श्यामसुन्दर सिग्देल, झापाका भीमप्रसाद ढुंगाना, तनहुँका सुबास थापा। उनीहरूजस्ता सयौं नेपाली गत साता दूतावास पुगेर रित्तै फर्किनुपर्‍यो। 

उनीहरूलाई पनि दूतावासका कर्मचारीले नजिकैको टाइपिङ सेन्टर देखाए। त्यहाँ गएर फाराम भरी डेट लिएर आउन भने। तर, टाइपिङ सेन्टर जाँदा डेट नपाउने गरेको गुनासो उनीहरूले गरेका छन्। टोकन लिएर गएका सेवाग्राहीसँग पनि दूतावासका कर्मचारीले कुन टाइपिङ सेन्टरबाट फाराम भरेको, कति पैसा तिरेकोलगायत ‘अनावश्यक’ प्रश्न गर्ने गरेका छन्। फाराम नभरिकन गएकाहरूलाई भने ‘फलानो टाइपिङ सेन्टरमै जानु भनेर नामै तोकेर’ दूतावासका कर्मचारीले सुझाव दिने गरेका छन्। 

नयाँ पासपोर्ट बनाउनका लागि भरेको फाराममा ‘ड्यामेज्ड’ कोठामा ‘टिक’ नलगाएको भन्दै अबुधाबीस्थित नेपाली राजदूतावासका कर्मचारीले फर्काइदिएको सन्तोष तामाङको कागजात । आफ्नो पासपोर्ट जलेपछि नयाँ बनाउन तामाङले अनलाइन फाराम भरेका थिए । तस्बिर : मेघराज सापकोटा

दुबईमा कार्यरत सन्तोष तामाङको पासपोर्ट जल्यो। यात्रा गर्नै नमिल्ने भएपछि नयाँ बनाउन उनी दूतावास पुगे। अनलाइन फाराम भर्दा ‘ड्यामेज’ मा ‘टिक’ नलगाएको भन्दै कर्मचारीले उनलाई रित्तै फर्काइदियो। पुनः डिसेम्बर ९ मा दूतावास पुगेका उनी ३७ नम्बरको टोकन लिएर घण्टौं प्रतिक्षालयमा बसे। पासपोर्ट शाखाका कर्मचारीले सच्याउन मिल्ने सामान्य कुरा पनि नगरेर उनलाई फर्काइदिए। अर्को साता कर्मचारीको ‘खुट्टा ढोगेर’ काम गर्नुपरेको उनले सुनाए। 

झापाका दीपक शिवाकोटीले टाइपिङ सेन्टर नगई आफंै फाराम भर्न खोजे। १५ दिनसम्म लगातार प्रयास गरे पनि सफल नभएपछि उनी टाइपिङ सेन्टर जानुपर्‍यो। उनले १ सय दिराम तिरेर फाराम भर्न लगाए। ‘खुल्ने भनेको समयमा सिस्टम डाउन हुने वा चल्दै नचल्दो रहेछ,’ उनले भने। 

स्नातक अध्ययन गरेका शिवाकोटीले ‘यत्रो पढेर पनि पासपोर्टको फाराम भर्न नसकेको’ भन्दै आफैंलाई धिक्कारे ! ‘नेपाल सरकारले यस्तो सिस्टम बनाएछ कि पासपोर्टको फाराम भर्न टाइपिङ सेन्टर नै जानुपर्छ’, उनले भने, ‘नेपाल सरकारले तोकेको लागत शुल्क तिरेर पासपोर्ट नवीकरण गर्न पनि पाइएन। किन होला ?’ 

नेपाली दूतावास अबुधावीले स्थानीय समयअनुसार हरेक सोमबार ११ बजे अनलाइन फारम (लाइभ इनरोलमेन्ट) खोल्ने गरेको छ। गत नोभेम्बर २८ देखि हरेक सोमबार खोल्ने निर्णय लागू भएको हो। त्यसअघि भने अनलाइन फारम कहिले खुल्ने र कहिले भर्ने भन्ने कुनै टुंगो हुँदैनथ्यो। 

मैले टाइपिङ सेन्टर नगई आफैं फाराम भर्न खोजें। १५ दिनसम्म लगातार प्रयास गरे पनि सफल नभएपछि टाइपिङ सेन्टर गएँ। १ सय दिराम तिरेर फाराम भर्न लगाएँ। खुल्ने भनेको समयमा सिस्टम डाउन हुने वा चल्दै नचल्दो रहेछ।
दीपक शिवाकोटी, यूएई

दूतावासका कर्मचारीले टाइपिङ सेन्टरको नामै तोकेर त्यहाँ गई फाराम भरी अपोइन्टमेन्ट डेट लिएर आउन भने। नजिकै रहेको टाइपिङ सेन्टरमा पुगें। तर, त्यहाँ मैले न फाराम भर्न पाएँ न त कुनै डेट नै। 
रविन गुरुङ, यूएई


केही टाइपिङ सेन्टरले कर्मचारीसँगको मिलेमतोमा राति १२ बजेपछि फाराम भर्ने गरेको गुनासो सेवाग्राहीले गरेपछि दूतावासले हरेक सोमबार ११ बजे अनलाइन फाराम खोल्ने व्यवस्था गरेको हो। अघिल्लो सोमबार खुलेको अनलाइन फाराममा पछिल्लो साताका लागि दैनिक ८० जनाको हिसाबले ४ सय जनाले नयाँ पासपोर्ट फाराम भर्न पाउने सुबिधा पाउने छन्।

दूतावासले उक्त व्यवस्था गरे पनि सेवाग्राही कामदार आफंै फाराम भर्न पाउने सुबिधाबाट बन्चित भएका छन्। उनीहरू दुबई र अबुधावीमा खुलेका टाइपिङ सेन्टरकै भर परेका छन्। टाइपिङ सेन्टरले फाराम भरेको कम्तीमा ५० दिरामदेखि १ सय ५० अर्थात् साढे १८ सय रुपैयाँदेखि ५५ सय रुपैयाँ शुल्क असुल्ने गरेका छन्। यही कमाइलाई लक्षित गर्दै दुबई र अबुधावीमा मात्र गरेर १० भन्दा बढी नेपालीका टाइपिङ सेन्टर खुलेका छन्। नेपाली कामदारले नयाँ पासपोर्ट बनाउनुपरे तिनै सेन्टरको भर पर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको छ। 

तीन लाखभन्दा बढी नेपाली कार्यरत रहेको यूएईमा दूतावासले दैनिक ८० वटा मात्र पासपोर्टको फाराम बुझ्ने गरेको छ। दुबईमा रहेका केही टाइपिङ सेन्टरले सातामा बढीमा ८–१० वटा फाराम मात्र भर्ने गरेका छन्। केहीले दैनिक २० देखि ३० वटासम्म भर्ने गरेको एक सञ्चालकले बताए। यसमा पनि सिन्डिकेट वा सेटिङ रहेको हुन सक्ने उनको भनाइ छ। 

‘फाराम खुलेको दिन सोमबार हामीले दिनभर प्रयास गर्दा ४ वटा फाराम मात्र भर्न सक्यौं। अन्य केही सेन्टरले ८ वटा सम्म भरे’, नाम नलेखिदिने शर्तमा उनले भने, ‘दूतावास निकट मानिएका केही टाइपिङ सेन्टरले भने दैनिक ३० जना नेपालीहरूलाई आफ्नै बसमा हालेर दूतावास पुर्याउने गरेको छ। मिलेमतो नभई यो कसरी सम्भव छ ?’ 

दुबई र अबुधाबीमा खुलेका टाइपिङ सेन्टरहरूले अहिले पनि २ हजारभन्दा बढी कामदारका पासपोर्ट संकलन गरेर पालो कुरेर बसेका छन्। तिनको पालो कहिले आउने हो कुनै ठेगान छैन। 

राजदूत कृष्णप्रसाद ढकालले दूतावासमा त्यस किसिमको अनधीकृत कार्य नहुने गरेको जिकिर गरे। अत्यावश्यक परेका सेवाग्राहीका काम तुरुन्त गरिदिने गरेको उनको भनाइ छ। सेवाग्राहीलाई सहज सुविधा दिन बिभिन्न प्रयास गरे पनि सफल हुन नसकिरहेको दूतावास स्रोतले जनाएको छ। अनलाइन फाराम हरेक सोमबार खुल्ने भने पनि सेवाग्राहिकै चापको कारण वेबसाइट ‘डाउन’ हुनाले थप समस्या निम्त्याएको उनको भनाइ छ। 

‘मन्त्रालयलाई यसबारे पटक–पटक जानकारी गराए पनि समस्या समाधान भएको छैन, दूतावास स्रोतले भन्यो, हामीले अनलाइन सिस्टमलाई छिट्टो अपग्रेड गर्न भनिरहेका छौं।’ 

पासपोर्ट शाखामा एक जना कर्मचारीले मात्र काम गर्नुपरेकाले दूतावासको क्षमतामा वृद्धि गरी दैनिक ८० टोकनबाट १ सय ५० पुर्‍याउन सके केही सहज हुन सक्ने देखिन्छ। एक कर्मचारीले मात्र तत्कालै त्यो सम्भव देखिन्न। यति धेरै कामदार समस्यामा पर्दा पनि यूएईका नेपाली संघ–संस्था यस विषयमा मौन बसेका छन्। हालसम्म कुनै पनि संघ–संस्थाका प्रतिनिधि पासपोर्ट नवीकरणको समस्याबारे गुनासो लिएर दूतावासमा गएका छैनन्। 

एनआरएनए यूएई अध्यक्ष ठाकुरप्रसाद ढुंगाना भन्छन्, ‘यूएईमा कार्यरत नेपाली कामदारले आफूलाई चाहिएको बेला पासपोर्ट बनाउन पाइएन भन्ने जनगुनासो व्यापक रूपमा आउन थालेको छ। मजदुरहरूले पसिना बगाएर कमाएको पैसा तिरेर पनि पासपोर्ट नवीकरण गर्न पाएका छैनन्। पासपोर्टको फाराम भर्न पनि महिनौंसम्म पालो पर्खनुपर्ने सम्भवतः यूएईमा मात्र होला। त्यो पनि बग्रेल्ती खुलेका टाइपिङ सेन्टरमा गएर मात्र भर्नुपर्ने। यो त कार्टेलिङ भएन र ?’ 

  •     अनलाइन फाराम भर्न टाइपिङ सेन्टरमा पठाउँछन् दूतावासका कर्मचारी
  •     तर, कामदारले न फाराम भर्न पाउँछन् न त अर्को ‘डेट’ नै 
  •     जानकार भन्छन्– ‘पासपोर्ट नबन्दा भिसा नवीकरण नभएका घटना धेरै छन्’


दुबईमा क्रियाशील व्यवसायी राम तामाङ नेपाली कामदारलाई सर्वसुलभ सेवा दिन हरदम तत्पर रहेको बताउँछन्। ‘कतिपय कामदार आफैंले नयाँ पासपोर्टको फाराम भर्न नसक्ने अवस्थामा वा दूतावाससम्बन्धी कुनै पनि सहयोग चाहिएको अवस्थामा स्थानीय कानुनले तोकिएको शुल्क लिएर हामीले उहाँहरूलाई सहयोग गर्दै आएका छौं’, तामाङ भन्छन्, ‘तर, पछिल्लो दिनहरूमा दूतावासमा पासपोर्टको अनलाइन फाराम भर्न एकदमै कठिन हुँदै आएको छ। 

हरेक सोमबार खुल्ने भनिएको अनलाइन सिस्टममा दिनभर प्रयास गर्दा बल्लबल्ल चार–पाँच जनाको फाराम भरिन्छ। सिस्टम चल्दै चल्दैन। चलिहाले एकदम ढिला कि त ह्याङ हुन्छ। कामदार आफैंले त फाराम भर्ने कल्पना पनि गर्न सकिन्न। किन यस्तो भइरहेको छ ? कतारमा नहुने यूएईमा हुने ? खै बुझ्न सकेको छैन।’ 

उनका अनुसार समयमा पासपोर्ट नबन्दा भिसा नवीकरण हुन नसकेका उदाहरण धेरै छन्। ‘मजदुरहरूलाई पासपोर्ट नवीकरण गर्न यस्तो नियम थाहा पनि छैन। उनीहरू एक–दुई महिना समय बाँकी राखेर आउँछन्। थप समस्यामा पर्छन्। पासपोर्ट नहुँदा भिसामा हजारौं दिराम जरिवाना तिर्न बाध्य छन्’, उनी भन्छन्, ‘कम्पनीले त्यो बेहोर्दैन, कामदारले तिर्नुपर्छ। यसले रेमिट्यान्स प्रवाहमा समेत 
असर परेको छ।’

राष्ट्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को एक चौथाइभन्दा बढी रेमिट्यान्स पठाउने कामदार नेपाल सरकारले तोकेको शुल्क तिरेर भनेको समयमा पासपोर्ट फारम भर्न नपाउँदा आक्रोशित भएका छन्। टोकन प्रणालीले झन् अनियमितता थपेको उनीहरूको बुझाइ छ। 


कसैलाई टाइपिङ सेन्टरमा धकेल्ने तरिका ठीक हैन  

राम तामाङ, व्यवसायी, डकुमेन्ट सेवा सर्भिसेस, दुबई 
 
हामी नेपाली कामदारहरूलाई सर्बसुलभ सेवा दिन हरदम तयार/तत्पर छौं। कतिपय कामदारहरू आफंैले नयाँ पासपोर्टको फाराम भर्न नसक्ने अवस्थामा वा दूतावाससम्बन्धी कुनै पनि सहयोग चाहिएको अवस्थामा स्थानीय कानुनले तोकिएको शुल्क लिएर हामीले उहाँहरूलाई सहयोग गर्दै आएका छौं।  हामीले व्यवसाय मात्र नगरेर मानवीय धर्म पनि निर्वाह गरेका छौं। पैसा नहुनेलाई निःशुल्क सेवा प्रदान गर्छौं। 

तर, पछिल्लो दिनहरूमा दूतावासमा पासपोर्टको अनलाइन फारम भर्न एकदमै कठिन हुँदै आएको छ। हरेक सोमबार खुल्ने भनिएको अनलाइन सिस्टममा दिनभर प्रयास गर्दा बल्लबल्ल चार पाँच जनाको फाराम भरिन्छ। सिस्टम चल्दै चल्दैन। चलिहाले एकदम ढिला कि त ह्याङ हुन्छ। कामदार आफंैले त फारम भर्ने कल्पना पनि गर्न सकिन्न। 

किन यस्तो भइरहेको छ ? कतारमा नहुने यूएईमा हुने ? खै बुझ्न सकेको छैन। शुल्क तिरेपछि सबैले सर्बशुलभ तरिकाले फारम भर्न पाउनुपर्छ। समय नहुनेहरू टाइपिङ सेन्टरमा पनि जान सक्ने भए। तर, कसैलाई जबर्जस्ती टाइपिङ सेन्टरमा धकेल्ने तरिका ठीक हैन। 

अर्को कुरा, दुनियाँमा दिनमा लाखौंले हेरिने वेबसाइटहरू सजिलै चल्छन्। जाबो केही हजारले ‘लग–इन’ गर्दा ह्याङ हुने कस्तो वेबसाइट बनाएको हो सरकारले ? जवाफ दिनुपर्छ। समयमा पासपोर्ट नवीकरण नभएर यूएईको भिसा नवीकरण हुन नसकेका धेरै उदाहरण छन्।

मजदुरहरूलाई पासपोर्ट नवीकरण गर्न यस्तो नियम थाहा पनि छैन। उनीहरू एक–दुई महिना समय बाँकी राखेर आउँछन्। थप समस्यामा पर्छन्। पासपोर्ट नहुँदा भिसामा हजारौं दिराम जरिवाना तिर्न बाध्य छन्। कम्पनीले त्यो बेहोर्दैन, कामदारले तिर्नुपर्छ। यसले रेमिटेन्स प्रवाहमा समेत असर परेको छ। सम्बन्धित निकायको ध्यानाकर्षण होस्। 


फाराम भर्न टाइपिङ सेन्टरमा पठाउनु कार्टेलिङ भएन र ?

ठाकुरप्रसाद ढुंगाना - अध्यक्ष, एनआरएनए यूएई
 
यूएईमा कार्यरत नेपाली कामदारले आफूलाई चाहिएको बेलामा पासपोर्ट बनाउन पाइएन भन्ने जनगुनासो व्यापक रूपमा आउन थालेको छ। मजदुरहरूले पसिना बगाएर कमाएको पैसा तिरेर पनि पासपोर्ट नवीकरण गर्न पाएका छैनन्। पासपोर्टको फाराम भर्न समेत महिनांैसम्म पालो पर्खनुपर्ने सम्भवत यूएईमा मात्र होला। त्यो पनि बग्रेलिती खुलेका टाइपिङ सेन्टरहरूमा गएर मात्र भर्नुपर्ने। यो त कार्टेलिङ भएन र ? 

छिमेकी देशहरू ओमान, कतार र साउदी अरबतिर बुझ्दा यस्तो समस्या देखिएन। किन यूएईमा कार्यरत नेपालीहरूले चाहिँ भनेको बेला अनलाइन फारम भर्न पाएका छैनन् भन्ने कुरा बुझिनसक्नु छ। प्राविधिक समस्या हो भने समाधान गर्नुपर्‍यो। 

दूतावासमा जनशक्ति कम भएको भए वृद्धि गर्नुपर्‍यो। पासपोर्टको अनलाइन फारममा कोटा सिस्टम उचित छैन। सेवाग्राहीले भनेको र चाहेको बेलामा वेबसाइटमा गएर आफैं पनि फारम भर्न पाउनुपर्छ। चौबिसै घण्टा फाराम खोल्नपर्छ। मजदुरले पैसा तिरेर लिने सुबिधामा यस्तो हेलचेक्याँइ गर्नुभएन।

भारतीयहरूले तीन दिनमा आफ्नो पासपोर्ट नवीकरण गर्न सक्छन्। तीन दिनको ठाउँमा ३० दिन होला तर अनलाइन फारम भर्दा नै कामदारहरूलाई सास्ती दिनुभएन। पैसा खर्च गरेर घण्टौंको यात्रा गरेर दूतावास पुगेका मजदुर मन खिन्न पारेर फर्किंदा हामीलाई दुःख लागेको छ। दूतावासलाई मजदुरमैत्री बनाउन सकियो भने मात्र दूतावास हुनुको अर्थ रहन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.