इलाममा 'नामवन ' पर्व मनाउन व्यस्ता लेप्चा
इलाम : तीनवटा पर्वहरु धुमधामका साथ मनाउने लोपउन्मुख लेप्चा समुदाय अहिले नामवन पर्व मनाउन व्यस्त छ । इलाममा भने आज (बुधबार) धुमधामका साथ मनाउँदै छन् ।
लेप्चा जातिको सबैभन्दा महत्वका साथ नामवन पर्व मनाउने गरेको लेप्चा उत्थान मञ्चकी केन्द्रीय उपाध्यक्ष रोजी लेप्चा बताउँछिन् । पुस महिनाको औंसी छेउछाउ यो पर्व मनाउने गरेको लेप्चाहरु बताउँछन् । इलाम जिल्लामा भएका लेप्चा जातिले सामूहिक रुपमा केही वर्ष अगाडिदेखि यो लोपोन्मुख चाड बनाउन थालेका छन् ।
भारतको दार्जिलिङ्ग, कालेम्पोङ्ग, सिक्किममा भने व्यापक रुपमा ७ देखि १५ दिनसम्म मनाउने परम्परा रहेको छ । नयाँ कुराको पुजा गरेर मनाइ आएको पर्वमा पछिल्लो पटक युवा पुस्ताले समेत चासो देखाउन थालेका छन् ।
लाप्चा उत्थान मञ्च इलाम नगरपालिका १० का संयोजक मनोज लाप्चाका अनुसार लाप्चा समूदायको नयाँ वर्ष नामवन सोथोङ् नाम (वाघ) वर्गलाई विदा गर्दै आजदेखि कम्थ्योङ् नाम (चिल) वर्गमा प्रवेश गरेको दिनलाई पर्वका रुपमा मनाइएको हो ।
एक हप्ता देखि चलेको पर्वको अन्तिम दिन आज लाप्चा उत्थान मञ्चको आयोजनामा सूर्योदय नगरपालिका, रोङ गाउँपालिका सहित जिल्लाका लाप्चा समूदायको बसोबास भएको स्थानमा धुमधामका साथ मनाइँदै छ ।
लाप्चाहरुले पर्वको अवसरमा पुजाआजा गर्ने , रमाइलो गर्ने र एक अर्कामा शुभकामना आदानप्रदान गर्ने गरेको लेप्चा समुदायका जेष्ठ नागरिक रस बहादुर लाप्चा बताउँछन् । लेप्चा समुदायको अर्को एक चाँड सक्यू रम्फात हो । “सक्यू रम्फात” लाई “लि रम्फात” पनि भनिन्छ । यो नेपाली क्यालेण्डर अनुसार मंसिर, माघ र फागुन महिनामा पर्छ।
रोग व्याधी हैजा महामारी प्राकृतिक विपत्ति, नराम्रा दुर्घटना नआओस् भनेर लङजी मनाउने उनीहरु धर्म संस्कृतिमा विशेष आस्था राख्दछन् । लोपोन्मुख लेप्चा इलाम, झापा, मोरङ्गलगायत सिक्किम , दाजिृलिंग, कालेबुङ्ग, भुटान आदि ठाउँमा बसोबास गर्दछन् ।
नेपाल सरकारद्वारा आदिवासी जनजाती प्रतिष्ठान ऐन २०५८ अनुसार सूचिकरण भएका ५९ जातिहरु मध्ये लेप्चा पनि एक हो । सरकारको वर्गीकृत पाँच सूचीअनुसार लोपोन्मुख समूहको दश जातिमध्ये एकमा पर्ने लेप्चाहरुले आफ्नो चाड पर्वले पहिचान बोकेको ठान्छन्।
लाप्चा उत्थान मञ्चको २०७५ को सर्वे अनुसार इलाममा ३ हजार ६० जना लेप्चा रहेका छन् । इलामको सुर्योदय नगरपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा लेप्चा समुदायको बासोबार रहेको छ ।
लेप्चा समुदायको नयाँ वर्षको अवसरमा इलामको सूर्योदय नगरपालिका र रोङ गाउँ पालिकाले स्थानीय विदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस !