शासक को ?
वर्ष टिकाउने सार्वजनिक प्रतिबद्धतासहित चुनाव जितेर आएको पाँच पार्टी गठबन्धन। यसरी चुनाव लड्दा कति कार्यकर्ताको चरित्रहत्या भयो, कति रोए, कति सैद्धान्तिक विचलन भयो त्यसको किञ्चित वास्ता नै गरेन सत्ता वासनामा लम्पट भएको कांग्रेस नेतृत्वले। माओवादीलाई भोट नहाल्ने त्यो कांग्रेस नै हुन सक्तैन भनेर फर्मान जारी गरियो। पहिलो प्रधानमन्त्री प्रमुख पार्टनर माओवादीका अध्यक्ष प्रचण्ड हुने प्रतिबद्धता गरे कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले। तर यसलाई तोडे, दिने बेलामा। किन ? नेपालको बर्बादी जुन स्थितिमा आइपुगेको छ त्यसको उत्तर यसैमा सन्निहित छ।
प्रधानमन्त्री को बन्ने भन्ने कुराको यो जित कस्को ? या, हार कसको ? देउवा ढुक्क थिए जितको। अर्थात्, ज्योतिषले भनेबमोजिमको छैटौं पटकको प्रधानमन्त्री बन्नेमा। त्यसैले वचन तोडे प्रचण्डलाई भित्तैसम्म पुर्याए। सुरुमै प्रधानमन्त्री पाए दुवै राष्ट्रपति र सभामुख छोड्न तयार थिए प्रचण्ड। टसमस भएनन् देउवा। प्रचण्डले बालुवाटारमा गरेको अनुनय अरण्यरोदन सरह बन्यो। त्यतिबेला रेसमै नदेखिएका एमालेका अध्यक्ष ओली बालकोटमा झन् ढुक्क बने जितको। अर्थात्, प्रधानमन्त्री बनाउने किङ मेकर हुने कुराको।
निराश प्रचण्ड घर गए खुमलटार। अनि मात्र बालकोट। त्यहाँ पुग्दा कताबाट मन्त्री पाइन्छ भनेर दाउ हेरिरहेका नयाँ उत्पादित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगिसकेका थिए। मौकामा चौका हान्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन त अझ अगाडि पुगिसकेका थिए। अरू पार्टीका नेताहरूको हानथाप सुरु भइसकेको थियो। १५ वर्षसँगै जाने गठबन्धन पानीको फोका जस्तो गरी फुट्यो। र, बन्यो अर्को बालकोट गठबन्धन सात पार्टीको। हारेका प्रचण्डले जितेर प्रधानमन्त्री बने, बनाइए। बालुवाटार पुगे। जितेका देउवा हारेर या हराइएर धुम्बाराहीको भाडाको घरमा पुगे। कांग्रेसजन प्रचण्ड सरकारको आयु किटान गर्न थालेका छन्। सरकार छुटेको पीडा र पार्टीभित्र लागेको कलहको तुवाँलोमा गन्ती नदेखेर होइन होला। सायद दिव्य दृष्टि प्राप्त भएको पनि हुन सक्छ।
गेम थ्योरीमा जिरोसम गेम यस्तो खेल हो जहाँ एउटाले नहारी अर्कोले जित्न सक्तैन। प्रधानमन्त्री को बन्ने भन्ने खेलमा प्रधानमन्त्री त एउटै मात्र बन्ने हो। २०७२ सालमा ओलीले बनाएको जस्तो गरी कमल थापादेखि चन्द्रप्रकाश मैनालीसम्मको इतिहासमै पहिलो पटक ६ उपप्रधानमन्त्री बनाउने कुरो त भएन। जिरोसम गेम यो खेलमा खेलाडी जति पनि हुन सक्छन्। तर हारजितको हिसाबमा जसले हारे पनि या जिते पनि जति हारिएको जति छ त्यति नै मात्र जित भएको हुन्छ। तर यसरी भएको हारजितमा परिवर्तन शून्य हुन्छ।
हालै भएको सत्ता परिवर्तन सारको हिसाबमा शून्य छ। यो निश्चित रूपमा ‘सार शून्य’ परिवर्तन हो किनकि यो कथाहीन कथा हो। अब त परिवर्तन नै ‘पूर्व प्रधानमन्त्रीको क्लब’ बनेर उद्वेषित हुँदै आएको छ। कान चिरिएकामध्ये जो जोगी आए पनि कानै चिरेकै हुने हुन्। किन भन्ने प्रश्नको उत्तर खोज्दा अर्को प्रश्नमा पुगियो– कसरी। किन भन्ने स्थिति विशेष थियो। कसरी भन्ने चाहिँ समयको अन्तरालसँग आबद्ध छ। त्यसैले त्यो अन्तराललाई हेरौं, त्यो प्रवाहलाई। त्यसको मूल कुरालाई मात्र अंग्रेजीमा ‘डेफ्ट स्ट्रोक’ भनेजस्तै गरी फटाफट हेरौं।
विकासको गफसम्म पनि नै अस्थिपञ्जर स्वरूपको भएको छ। चुनाव वैधानिकताको कर्मकाण्ड बनेको छ। यसले राजनीतिलाई प्रणालीकृत गर्न सकेन।
दक्षिण एसियाको पुरानो मुलुक नेपाल। पृथ्वीनारायण शाहले एकीकरण गरेको र धेरैजसो नायबले राज्य चलाएको दरबारी षड्यन्त्रभित्रको घात र प्रतिघातबीचमा। इन्डिजिनस स्ट्रेन्थ अर्थात् आन्तरिक तागत प्रचुर भएको। स्वाभिमानी नेपाली अत्यन्त देशभक्त, जुझारु र मेहनती। तिब्बतलाई हराएको। आर्थिक रूपबाट सजिलो हुनको लागि फैलिनु पर्ने नेपालको बाध्यता थियो। यसरी फैलँदै गएको नेपाल उपनिवेशवादी शोषण गर्न भारत आएको ब्रिटिसको लागि बाधक बन्यो। यसलाई रोक्न ब्रिटिसले निहुँ खोजेर युद्ध गर्यो। सिक्किम, गडवाल र पटियालालाई समेत लिएर लड्न आयो। ब्रिटिसलाई पनि नेपालले हराएको पहिलो चरणको युद्धमा सन् १८१४ मा। तर काठमाडौंतिर नै उक्लिन थालेर सन् १८१६ सुगौली सन्धि गर्न बाध्य पारी खुम्चाएर थन्को लगाइदियो।
भारतजस्तो ब्रिटिसको कोलोनी नभएर पनि कोलोनी सरह भयो नेपाल पनि। राजकाज बिग्रेर असन्तुलित हुँदै गएको नेपाललाई सन् १८४६ को कोतपर्वबाट सत्ता लिए जंगबहादुरले। त्यसपछि राणा परिवारको व्यक्तिगत सम्पत्ति सरह बन्यो नेपाल। ब्रिटिसको स्वार्थ गोरखा भर्ती र नेपाल सन्तुलित रहनु पर्नेमा सीमित थियो। भारतमा उपनिवेशवादी शोषण गर्ने कार्यमा असन्तुलित नेपालले असर पार्न सक्थ्यो। यता पारिवारिक सम्पत्ति सरह बनाइएको नेपालमा मोजमज्जाको राज्य गर्न राणाहरूले मालिक रिझाउनु पर्ने भयो। ब्रिटिस मालिक बने।
यो परम्पराको थालनीमा पनि शासकहरूले मुलुकको स्वार्थलाई जहिले पनि हिफाजत गरेका थिए। ब्रिटिसको स्वार्थ नेपाली भूभाग मिचेर खाने र यहाँको प्राकृतिक स्रोत हडप्दै जाने वा भारतलाई जस्तो उपनिवेशवादी शोषणको व्यापारिक मन्डी बनाउने तिर रहेन। न प्रोक्सी रुलको नै। त्यसैले राजकाजमा चासो नै लिएन सिवाय नेपाल सन्तुलित होस् भन्ने बाहेक। यसरी त्यो सम्बन्ध प्रस्टसँग परिभाषित थियो। रणनीतिक भौगोलिक अवस्थिति भए पनि विश्वबाट टाढा थियो नेपाल। विश्व राजनीतिक प्रभावबाट झन् टाढा।
विश्वयुद्ध जितेपछि ब्रिटिस आफैं गए भारतलाई स्वतन्त्रता दिएर। त्यही भूभागबाट पाकिस्तान पनि बनाएर। लगत्तै माओ त्से तुङको कम्युनिस्ट पार्टीको नेतृत्वमा चीन प्रकट भयो। चीन र भारत दुवै पुरानो इतिहास र सभ्यता बोकेका मुलुकहरू। यसपछि नेपालमा प्रजातन्त्र आयो प्रजातान्त्रिक संघर्ष प्राकृतिक प्रक्रियामा गएर नभई चरम विरोधाभासबाट। जसको विरुद्ध प्रजातान्त्रिक संघर्ष भएको हो तिनै मोहनशमशेरलाई प्रजातान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बनाउने गरेर। यसको लागि सन् १९५० को सन्धि हासिल गरे नेहरूले मोहनशमशेरबाट। तिब्बतको संकट बढ्दै गयो। त्यसबाट निस्केको असन्तुलनको ज्वारभाटा नफैलियोस् भनेर राजा, राणा र नेपाली कांग्रेसको त्रिपक्षीय सम्झौता गराइदिए। दिल्लीको हैदराबाद हाउसमा राखिएका आफ्नै राजा त्रिभुवनलाई भेट्न समेत दिइएन बीपीलाई। न त्रिपक्षीय सम्झौताको छलफलमा सामेल गराइयो। सही मात्र गराइयो।
मूलतः उपनिवेशवादी ब्रिटेनको उपनिवेशवादी नीति नै बन्यो स्वतन्त्र भएको भारतको नेपाललगायत साना छिमेकीलाई हेर्ने। भारतको यस्तो परराष्ट्र नीतिलाई हुलियो पञ्चशीलमा आधारित अरू मुलुकको आन्तरिक मामिलामा दक्खल नदिने असंलग्न परराष्ट्र नीतिको आवरणमा। भित्र ब्रिटिसजस्तो मालिक हुन चाहने तर बाहिर असंलग्न देखाउन चाहने। यो प्रचण्ड विरोधाभासबाट निस्केका अभिव्यक्तिहरू विभिन्न स्वरूपमा देखिँदै आए। नेपालको पहिलो आम चुनावबाट प्रधानमन्त्री बनेका बीपी कोइरालामा अहिलेको बाबुरामको जस्तोस्वरूप देख्न खोज्दा सो नपाएपछि निर्णायक सत्ता असन्तुलन प्रकट भयो।
यो कुरा खम्पा घटनामा हेर्न सकिन्छ। चिनियाँ सैनिकले लखेट्दै आएर दुई खम्पालाई नेपालको सिमानाभित्र छिरेर मारेको बेलामा नेहरू र बीपीबीचको संवादमा यी कुराहरू देख्न सकिन्छ। बीपीले नेहरूलाई लेखेको चिठी र त्यसपछि १९५० को गोप्य राखिएको अनुसूची नेहरूले सार्वजनिक गरेको कुरालाई लिन सकिन्छ। त्यसपछि मात्र बल्ल २०१७ साल आयो। राजा महेन्द्रले ‘कु’ गरे। राजतन्त्र र कम्युनिजमको सम्मिलन भएर नेपालमा कोदारीको बाटो खुल्यो। अमेरिकनलाई राजा महेन्द्रले जबाफ दिए– कम्युनिजम ट्याक्सी चढेर आउँदैन भनेर। यो कार्ड खेले महेन्द्रले राम्रोसँग।
नेपालभित्र रहेको भारतीय चेकपोस्ट कीर्तिनिधि विष्टले हटाए राजा महेन्द्रको समर्थन पाएपछि। त्यो आवश्यक थियो र स्थिति बिग्रेमा प्रधानमन्त्री छोड्छु भनेर तयार थिए उनी। पारिवारिक भेटघाटमा उनले यो कुरा हामीलाई पछि सुनाएका थिए। राजा हुन्जेल नेपालको भूभागबाट आफू सुरक्षित महसुस गरेको थियो चीनले। त्यसैले मूलतः असंलग्न रह्यो नेपालको राजनीतिबाट। विश्व शक्ति बनेको चीन राजतन्त्रको समाप्तिसँगै नेपालको राजनीतिक मोर्चामा आयो। हिमाल पारि बसेका चिनियाँहरू अहिले नेपाल भारत सिमानामा ठेक्कापट्टाको काम र व्यापार गरिरहेका छन्। ठमेल त चिनियाँ हब नै भएको छ। भारतको उपनिवेशवादी नीतिको निरन्तरताको परिणति नै सायद मान्नु पर्दछ यो अवस्थालाई।
क्रिस्चियानिटी फैलाउन हिन्दू धर्मलाई कमजोर पार्नु पर्ने र राजतन्त्र फाल्नुपर्ने भयो युरोपेलीको लागि। यो एजेन्डा बोकेर नेपालको राजनीतिमा निर्णायक भएको युरोपेली युनियन धर्म परिवर्तनको एजेन्डामा क्रियाशील छ। होली वाइन राजनीति र युरो खेतीबाट राजनीतिक उत्पादन र भरणपोषण गरिरहेको छ। शीतयुद्धको समाप्तिपछि विश्व अहिलै एक ध्रुुवीय छ। तर बहुध्रुुवीय क्षेत्रमा विभाजित। त्यसमा आफ्नो प्रभुत्व कायम राख्न लागिपरेको अमेरिकाले यस क्षेत्रको नेतृत्व भारतलाई दिएको छ। हिजो कताकता टाढा बनेको रणनीतिक भौगोलिक उपस्थिति अहिलेको विश्व राजनीतिमा टक्रक्कै देखिने भएको छ।
हिजो एउटा मालिक थियो– ब्रिटेन। न कसैसँग भिड्नु थियो यहाँ, न यहाँको प्राकृतिक साधनमा हालिमुहाली गर्नु थियो उसलाई। अहिले चार मालिकहरू छन्। आआफ्नै स्वार्थ र प्रभाव कायम गर्न लागिपरेका। यिनीहरू भित्र कहिले स्वार्थ मिलेको हुन्छ कहिले बाझिएको। मिलेको बेला एउटा स्वरूप बन्छ। नमिलेको बेलामा अर्को। विश्व शक्तिहरू यो सानो मुलुकमा आमनेसामने छन्। कोही धर्ममा, कोही उपनिवेशवादी शोषणमा। कोही एकले अर्कोलाई दुःखदिन र कोही एकले अर्कोलाई रोक्न। यसै अन्तर्गत छन् ग्रहहरू जस्तो घुमिरहेका। एमसीसी, एसपीपी, बीएन्डआर क्वाड र बिमेस्टेक यसै ग्रह चक्करको उपज हुन्। कहिले परेड खेल्छन्। कहिले कता ग्रहण लाग्छ।
यसै क्रममा नेपालका पार्टीहरू गोल चक्कर लगाइरहेका छन्। प्रजातन्त्रको लागि लडेको कांग्रेस होस् या संवैधानिक राजतन्त्र कायम गर्ने बेलाको एमाले। या राजतन्त्र फाल्न ल्याइएको माओवादी। या पहिले वेदानन्द झाले सुरु गरेको ‘तराई हमारा हे’ भन्ने धारका पार्टीहरू। नयाँ उत्पादित वा टकमरी गरिएका गोलो टन्न बज्नेहरू जो बजिरहेका छन्। यी पार्टीहरूको बारेमा अनुमान गर्न सकिन्छ। तर यसपटक अनुमान गर्न नसकिएको चाहिँ २०५१ सालको मध्यावधिबाट उठेको पूर्वपञ्चहरूको राष्ट्रिय प्रजातन्त्र पार्टी छ। अहिलेको १४ सिटे राष्ट्रिय प्रजातन्त्र पार्टीमा २०५१ सालको ‘पुनरावृत्ति मानसिकता’ बढिरहेको देखिन्छ। अनि फर्किने व्यग्रता अनुरूप सकेको खेलिरहेका पूर्वराजा ‘सिमरा संवाद’मा देखा परे।
त्यतिबेला कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्थाबाहेक २० सिटे राप्रपाबिना सरकार नै बन्न नसक्ने अवस्था थियो। यसैको प्रतिफल ‘सरकारको चाबी हातमा लिएको’ भनिएको राप्रपाको २०५३ फागुनमा लोकेन्द्रबहादुर चन्दलाई एमालेले प्रधानमन्त्री बनाएर सत्ता लियो। ६ महिना नबित्दै कांग्रेसले त्यसलाई विस्थापित गरेर सूर्यबहादुर थापाको नेतृत्वमा सरकारमा गयो। यसैक्रममा नै हो उदाएका कमल थापा। र, हाबी भएको उनको मुसा चरित्र। ओलीको उपप्रधानमन्त्री बन्दा जन्मिएको हो कलम थापा प्रवृत्ति। चाबी हातमा नहुँदा अहिलेको १४ सिटे राप्रपामा पनि कलम थापा प्रवृत्ति जताततै देखिएको छ। त्यसैले उनीलाई एक्लाउनुको कुनै अर्थ छैन।
मुलुकभित्र अहिले व्यापक असन्तुलन छ। अर्थतन्त्र समस्यामा छ, सरकार चलाउने नै अनेकौं तर्क, बहाना र नाटक गरेर लुट्दा लुट्दा। विकासको गफसम्म पनि नै अस्थिपञ्जर स्वरूपको भएको छ। चुनाव वैधानिकताको कर्मकाण्ड बनेको छ। यसले राजनीतिलाई प्रणालीकृत गर्न सकेन। सायद मालिकहरूले राजनीतिलाई प्राकृतिक प्रक्रियामा जान नदिएर पनि हुन सक्छ निकै हदसम्म। अन्त अनुबन्धन भएर बनेका गठबन्धनहरू अन्तबाट उडाइएका चङ्गाहरू जस्ता हुन। चङ्गा बेइमान भयो भने ग्वाक थपेर, या पुच्छर हालेर फेरि उडाइन्छ। यसरी उडाउँदा कहिले दाह्रीवालको माथिल्लो पेच पर्दछ कहिले वा वाचाको। नयाँ चङ्गाहरू उत्पादन गरिएका हुन्छन्। यस्ता नयाँ लखनउ चङ्गा आवाज गरेर उड्छन्। कहिले कुन, कहिले कुन छनोटमा पर्छन्। कहाँकहाँ हालिन्छ। उडाइन्छ। कहिले कुन काटिन्छ, कहिले कुनले माथिल्लो पेच पार्दछ। कहिले कुनले।
जित–हारको उत्तरले भने डाँडा काटिसकेको अवस्थाको खेल भएको छ। किनकि दूषित बनेको त्यही नै मुहान हो जहाँबाट सधैं जन्मिरहेका छन् तिक्तता र रिक्तताहरू। यसरी अन्तबाट सन्तुलन मिलाउन खोज्दा झन् असन्तुलन मात्र बढ्दै गएको छ। र, झन् जटिल बन्दै गएको छ। मालिक बन्ने प्रवृत्तिसँग कमजोर छिमेकीको प्राकृतिक साधन हालिमुहाली गर्ने, एकले अर्कोलाई चेक मेट गर्नको लागि प्रोक्सी रुल वा सोसरह गर्ने मानसिकता हाबी हुँदै गएका लक्षणहरू झन् टड्कारो देखिँदै गएका छन्।
संविधानमा के लेखिएको छ त्यो महत्त्वपूर्ण हुन छोडिसक्यो। नलेखिएको तर जसले मुलुक हाँकिएको छ त्यो महत्त्वपूर्ण बनेको छ। त्यो महत्त्वपूर्ण भनेको नेपालको शासक को ? देउवा, प्रचण्ड र ओली ठूलो तामझामबीच निरीह पात्र देखिएका छन्। यसैबाट वर्णन हुन्छ अहिलेको सत्ता परिवर्तनको जब देउवा आफू प्रधानमन्त्री हुने कुरामा प्रचण्डलाई प्रधानमन्त्री बनाउने ओलीभन्दा धेरै बढी ढुक्क थिए।
प्रतिक्रिया दिनुहोस !