भूकम्प पीडितका घरहरू प्रयोगविहीन
गोरखा : धार्चे २ केरौंजावेशीकी कमिशा गुरुङ अहिले पुरानै थलोमा टहरो बनाएर बस्छिन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लामावेशीमा पुनस्थापित गरे पनि उनको परिबार विगत ७ वर्षदेखि पुरानै थलोमा जस्ताले बारेको टहरोमा बस्दै आएको छ।
हुँदाखाँदाको घर २०७२ सालको भूकम्पले माटोमा मिलाइदियो, अनि त्यही साल बर्खाको बाढी पहिरोले बगाएर बूढीगण्डकीमा मिसाइदियो। बिचल्ली भएपछि उनको परिवारलाई सरकारले लामावेशीमा घडेरीसहित घर बनाउने खर्च तीन लाख रुपैयाँ दिएको थियो। सरकारले दिएको तीन लाखमा आफ्नो ६ लाख थपेर उनले पक्की घर बनाएकी थिइन्। तर, घर बनाएदेखि उनको परिबार त्यहाँ बस्न गएन।
‘घर भत्किएको मात्रै कहाँ हो र ? पूर्व हेरे पनि पहिरो, पश्चिम हेरे पनि पहिरो, तल हेरे पनि त्यस्तै, माथि हेरे पनि उस्तै थियो। यहाँ बस्ने अवस्थै थिएन’, उनी भन्छिन्, ‘त्यसपछि सरकारले लामावेशीमा जग्गा किनेर हामीलाई दियो। घर बनाउन तीन–तीन लाख रुपैयाँ पनि दियो। त्यसमा ६ लाख थपेर घर बनायौं। अहिलेसम्म ऋण तिरेर सकिएको छैन। साउँभन्दा ब्याज धेरै भएको छ।’
केरौंजावेशी र केरौंजा गाउँका १ सय ३७ घरधुरीलाई सरकारले लामावेशीमा स्थानान्तरण गरेको थियो। लामावेशीलाई व्यवस्थित बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न आयोजनाहरू सञ्चालन गरेको छ। गोरेटोबाटो, नाली, बहुउद्देश्यीय सभाहल, विद्यालय निर्माण गरेको केन्द्रीय आयोजना कार्यन्वयन इकाइको गोरखा सम्पर्क कार्यालयका सञ्जय नायकले बताए। सो ठाउँका लागि सरकारले एकघर एक धारा कार्यक्रम पनि सञ्चालन गरेको छ।
तर, स्थानीयबासीले यहाँ बसोबास नगर्दा निर्माण भएका घरहरू ब्यर्थ भएका छन्। कतिपय पक्की घर झाडीभित्र डुबेका छन्। आरसीसी र रङ्गरोगन गरेर निर्माण भएका घरको वरिपरी घाँस उम्रिएका छन्। घरका ढोकामा ताला लागेका छन्। कुनैमा झ्यालढोका नलगाइ छाडिएको छ। बनाउँदा–बनाउँदै अलपत्र छाडिएका छन्।
१ सय ३७ घरमध्ये करिब ८० घरमा मानिस बसेका अरु खाली रहेको पूर्ववडाध्यक्ष सुकबहादुर गुरुङको भनाइ छ।
आफू जन्मेहुर्केको थलो छाड्ने मन नभएर गाउँलेहरू जोखिम मलेर पनि पुरानै घरमा बसिरहेको हालका वडाध्यक्ष सरोज गुरुङ बताउँछन्। ‘केरौंजा गाउँबाट पनि त्यहाँ गएका छैनन्, केरौंजावेशीबाट पनि गएका छैनन्’, उनले भने, ‘आफू जहाँ जन्मे, हुर्केको हो त्यहीँ मर्ने भन्ने भावना गाउँको मान्छेमा हुन्छ। खेतीपाती, घाँस दाउरा सवै पुरानै ठाउँमा हुन्छ। नयाँ ठाउँमा त्यस्तो सुविधा हँुदैन। त्यसैले उनीहरूले सरकारले राखेको ठाउँमा जान नचाहेका हुन्।’
घरमात्रै भएर जीवन नचल्ने भएकाले नयाँ बस्तीमा जान नसकिएको कमिशा बताउँछिन्। ‘उताचाहिँ केही छैन, घरमात्रै हो’, उनी भन्छिन्, ‘यहाँ घाँस खोजे नि, दाउरा खोजे नि, जे खोजे नि पाउँछ,। सागसब्जी रोप्ने बारी नि छैन।’
प्रतिक्रिया दिनुहोस !