८६ वर्षमा आँखाको ज्योती फर्किएपछि हर्ष
भोजपुर: आमचोक गाउँपालिका ३, थिदिंखाकी शिवमाया विष्टले ८६ वर्षको उमेरमा पुनः नयाँ ज्योती पाएकी छन्। वर्षौपछि उनको अनुहारमा हर्ष छाएको छ।
विगत लामो समयदेखि शिवमायालाई मोतीविन्दुका कारण घरभित्र र बाहिर गर्न पनि कसैको सहारा चाहिन्थ्यो। तर मोतीविन्दुको शल्यक्रिया सफल भएपछि उनीमा अझै संसार हेर्ने ईच्छा जागेर आएको छ।
‘मेरो लागि यो दोस्रो जन्म हो, दीर्घकालदेखि अँध्यारो लाग्ने यो संसारलाई हेर्नै नपाई अस्ताउँछु कि झैँ लाग्थ्यो’ उनले हर्षित हुँदै सुनाईन्, ‘अब अझै यो रंगिन संसार हेर्न पाउने भएँ, खुशी साट्न पाएँ’ शिवमाया जस्तै भोजपुरका दुर्गम ग्रामीण भेगका नागरिकहरु घरआगनमै निःशुल्क आँखाको उपचार पाउँदा हर्षित बनेका छन्। समय र खर्चको जोहोविनै आँखाको उपचार र शल्यक्रिया पाएपछि उनीहरुमा पुनः संसार नियाल्ने सपना पुरा भएको छ।
शिवमाया जस्तै विगत २१ वर्षदेखि मोतीविन्दुका कारण ज्योती गुमाएका हतुवागढी गाउँपालिका ६ होम्ताङका ८५ वर्षिय खड्ग बहादुर श्रेष्ठले पनि उपचारपछि संसार नियाल्ने नयाँ अनुभव पाएका छन्। गाउँपालिकाको केन्द्र घोरेटारस्थित दक्ष चिकित्सकबाट उत्कृष्ट निःशुल्क आँखाको शल्यक्रिया हुने खबर पाएपछि गाउँका ४ जना ठिटाहरुको सहरामा करिब ३ घण्टा यात्रा गरि उनी आए। शल्यक्रियापछि पाएको नयाँ ज्योतीले उनलाई अत्यन्त हर्षित तुल्यायो। उनले भने, ‘संसार देख्नु नै मेरा लागि ठुलो वरदान हो, यो भन्दा जिन्दगीमा ठुलो खुशीको क्षण आएको छैन, वर्षौदेखि आँखामा पट्टि लगाएको झैँ लाग्थ्यो तर अब यो सास्ती पुरै हट्यो।’
गाउँघरमै ठुला अस्पतालको उपचार पाउनु सर्वसाधरणका लागि राम्रो अवसर भएको आमचोक गाउँपालिका ४, बालंखाकी कल्पना राईले बताईन्। ‘हामी जस्ता निमुखालाई ठुला अस्पताल जानु त परको कुरा हो, विहानबेलुकीको छाक टार्न पनि गाह्रो हुन्छ’ उनले भनिन्, ‘गाउँमै निःशुल्क ठुला उपचार पाउनु हाम्रो लागि सबैभन्दा ठुलो अवसर हो।’
_20230107125807.jpg)
विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरले जिल्लाको ९ वटै स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा निःशुल्क आँखा शिविर गरिरहेको छ। शिविरले वर्षौदेखि आँखाको समस्या झेलिरहेका र आर्थिक अभावका कारण उपचारबाट बञ्चित सर्वसाधरणलाई सेवा दिईरहेको छ।
हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा गरिएको शिविरबाट ८ सय ५६ जनाले उपचार पाएका छन्। जसमा १ सय ५ जनाको मोतीविन्दुको सफल शल्यक्रिया गरिएको थियो।
विशेषगरि विपन्न र दुर्गम भेगका असक्त नागरिक लक्षित भोजपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको डा. सुमित मिश्रले बताए। उनले भने, ‘भोजपुरका ग्रामीण विपन्न र असक्त नागरिकका लागि सहज उपचार सेवा दिन हामीले शिविर सञ्चालन गरेका हौँ, ग्रामिण भेगका वर्षौदेखि आँखाका समस्या लिएर आउने बिरामीलाई हाम्रो टोलीले सफल उपचार गरेको छ।’
वर्षौदेखि आँखाको समस्याले ग्रसित दुर्गम ग्रामिण भेगका विपन्न समुदाय लक्षित शिविर आयोजना गरिएको केन्द्र प्रमुख विजय तामाङले बताए। ‘हामीले ९ वटै स्थानीय तहबाट बिरामीहरुको छनोट गरेर उपचार थाल्यौँ। आर्थिक अवस्थाले उपचार खर्च धान्न नसकेका बिरामीलाई विशेष प्राथमिकता दिनकै लागि शिविर सञ्चालन गरेका हौँ,’ उनले भने, ‘आगामी दिनमा पनि जिल्लाभरका अन्य ग्रामीण भेगमा यसरी नै उपचार सेवाबाट बञ्चित अन्य बिरामीको शल्यक्रिया गर्ने लक्ष्य छ।’
_20230107125829.jpg)
प्रतिक्रिया दिनुहोस !