क्रान्तिकारी माओवादी, नेकपा बहुमत र मशालबीच एकता हुने
गोरखा : नेपालका तीन कम्युनिष्ट पार्टी एकता हुने भएका छन्।
नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(बहुमत) र नेकपा(मशाल) एकताको नजिक पुगेको मंगलबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।
मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), कञ्चन नेतृत्वको नेकपा(बहुमत) र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा(मशाल)लामो समयदेखि औपचारिक तथा अनौपचारिक रूपमा पार्टी एकताको विषयमा छलफल गर्दै आएको सो विज्ञप्तिमा उल्लेख छ।
‘क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू बीच एकताको ऐतिहासिक आवश्यकतालाई महशुस गर्दै सिद्धान्त र राजनीतिका आधारभूत विषयमा समानता देखिए तापनि कैयौं विषयमा छलफल गरेर टुंग्याउनु पर्ने भएकाले अहिले हामीले पार्टी एकता संयोजन समिति बनाएर छलफल अघि बढाउने निर्णय गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘क्रान्तिकारी पार्टी निर्माणमा सहमत हुनसक्ने एकल वा समूहगत रूपमा छरिएर रहेका क्रान्तिकारीहरूलाई एकता प्रक्रियामा आउन आव्हान गर्दछौँ।’
विज्ञप्तिमा नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, नेकपा(बहुमत)का संयोजक कञ्चन र नेकपा(मशाल)का महासचिव सन्तबहादुर नेपालीले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस !