दुर्गममा पानीको हाहाकार, आयोजना अलपत्र

दुर्गममा पानीको हाहाकार, आयोजना अलपत्र

गोरखा : हरेक वर्ष बर्खा लागेपछि धार्चे–२ केरौंजा गाउँमा बाढीपहिरो चल्छ। सात वर्षदेखि डेढ सयभन्दा धेरै घर बाढीपहिरोले बगाइसकेको छ।

५ सय १८ घरधुरीमध्ये सरकारको सहयोगमा १ सय ३७ घर लामाबेंसीमा स्थानान्तरण भएका छन्। गाउँ छाड्न अस्वीकार गरेका केरौंजावासी खानेपानी अभाव झेलिरहेका छन्। ‘पानी छैन भनूँ गाउँ बगाउने पानी छ। छ भनूँ मान्छेले खाने पानी छैन’, वडाध्यक्ष सरोज गुरुङ भन्छन्।

त्यसअघि सञ्चालित खानेपानी आयोजना २०७२ सालको भूकम्पले नष्ट पारिदिएको थियो। त्यसपछि एक सामाजिक संस्थाले पाइप मात्र उपलब्ध गराएको थियो। ‘त्यही पाइपमा ल्याएको पानी गाउँको दुई ठाउँमा खुला धारा बनाइएको छ’, स्थानीयवासी अर्जुन गुरुङ भन्छन्, ‘५ सय घरधुरीले त्यही दुइटा धाराको प्रयोग गर्छन्। साह्रै समस्या छ। सरकारले सुरु गरेको आयोजना पनि लथालिंग छ।’

गाउँमा चर्कै समस्या भएपछि गण्डकी प्रदेश सरकारले २०७७÷७८ मा केरौंजा बृहत् खानेपानी आयोजना आरम्भ गर्‍यो। ५ सय १८ घरधुरी लाभान्वित हुने गरी दुई वर्षअघि सुरु गरिएको आयोजनाको प्रगति नहुँदा उपभोक्ता समस्यामा छन्। उक्त आयोजना कता अड्केको हो भन्नेबारे जनप्रतिनिधिले खोजतलास गरिदिनुपर्ने स्थानीय इन्द्र गुरुङको भनाइ छ। ‘४ करोड रुपैयाँको खानेपानी आयोजना दुई वर्षदेखि अड्केको छ। कहाँ अड्केको हो भनेर बुझ्न वडाध्यक्षभन्दा माथि हाम्रो पहुँच छैन’, उनी भन्छन्, ‘भर्खर चुनाव सकिएको छ। जनप्रतिनिधिले यसको बारेमा खोजतलास गरेर जहाँ अड्केको भए पनि काम छिटोछरितो हुने वातावरण गरिदिनुहुन्छ कि भन्ने आशा गर्छु।’

आयोजना दिने सरकारले बजेट नदिने गरेका कारण प्रगति नभएको वडाध्यक्ष गुरुङको भनाइ छ। ‘तीन–चार वर्षदेखि केरौंजा बृहत् खानेपानी योजना भनेर चालू छ’, उनी भन्छन्, ‘छ न त छ तर कता छ, कता छ ? बजेटै आउँदैन रहेछ। पाँच करोड लागत स्टिमेट गरिएको योजना हो। तर, यस वर्ष जम्मा १० लाख मात्र आएको छ। यस्तो तालले आयोजना सम्पन्न हुन ४०–५० बर्ष लाग्छ।’ दुर्गम केरौंजाका बासिन्दाको पानीको समस्यालाई मध्यनजर गरी सम्बन्धित निकायले छिटोभन्दा छिटो आयोजना सम्पन्न गर्नुपर्ने माग रहेको उनको भनाइ छ।

प्रदेश सरकारले ३ सय ७७ घरधुरीका लागि ३ करोड २७ लाख रुपैयाँको केरौंजा बृहत् खानेपानी योजना स्किम १ सञ्चालन गरेको थियो। त्यस्तै लामाबेंसीका १ सय ३७ घरधुरीका लागि स्किम २ सञ्चालन गरेको थियो। 
खानेपानी डिभिजन कार्यालय गोरखाका अनुसार स्किम १ मा मुहान र रिजर्भ ट्याङ्क निर्माणको काम भएको छ। स्किम २ मा भने मुहानको मात्र काम भएको छ। ‘५ सय १८ मध्ये ३ सय ७७ घरधुरीका लागि र १ सय ४१ घरधुरीका लागि दुइटा स्किम बनाएर काम सुरु गरिएको हो’, कार्यालय प्रमुख किरण पौडेल भन्छन्, ‘स्किम १ मा मुहानको ट्याङ्की र त्यहाँदेखि रिजर्भ ट्याङ्कीसम्मको काम सम्पन्न भएको छ। स्किम २ माचाहिँ मुहानको ट्याङ्की बनाउने काम मात्र भएको छ।’ 

तीन करोड २७ लाख रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनामा पहिलो बर्ष ४७ लाख रुपैयाँ मात्र निकासा आएको र दोस्रो वर्ष २३ लाख अनुदान आएको उनको भनाइ छ। ‘यो वर्ष त झन् जम्मा १० लाख मात्र आएको छ। बढाएर काम गरे भने २० लाख निकासा दिने वातवरण बनाउन सकिएला’, उनी भन्छन्।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.