कर्णालीको संसद् नेतृत्वमा महिला

कर्णालीको संसद् नेतृत्वमा महिला

सुर्खेत : कर्णालीमा प्रदेशसभाको नेतृत्व गर्ने अवसर महिलाले पाएका छन्। यसअघि सरकारमा महिलाको सहभागिता नहुँदा निकै आलोचना हुने कर्णालीमा यसपटक भने प्रदेश संसद्को नेतृत्वमा महिला पुगेका छन्। 

कर्णालीमा जनप्रतिनिधिहरूको थलोका रूपमा रहेको संसद्को नेतृत्व गर्ने सभामुख र उपसभामुख दुवै पदमा महिला निर्वाचित भएका हुन्। कानुन निर्माण गर्ने र सरकारलाई जवाफदेही बनाउने काममा महत्वपूर्ण भूमिका खेल्ने संसद्लाई चलायमान बनाउने जिम्मेवारी महिलाले पाएका छन्। प्रदेश संसद्को सभामुखमा एमालेकी नन्दा गुरुङ चयन भएकी छन्। 

यस्तै बुधबार मात्र उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने चयन भइन्। योसँगै संसद्लाई नेतृत्व गर्ने मुख्य दुवै पदमा महिला पुगेका छन्। संसद्को नेतृत्वमा महिला पुगेसँगै यसले संसद्लाई थप गतिशील बनाउने विश्वास गरिएको छ।

सत्तारुढ गठबन्धनले सभामुख र उपसभामुख दुवै पदमा महिलालाई नै उम्मेदवार बनाएको थियो। यसकारण पनि संसद्ले महिला नेतृत्व पाएको दलहरूले बताएका छन्। एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसद् बैठकमा भने, ‘कर्णालीले नयाँ सन्देश दिएको छ, हामीले संसद् सञ्चालन गर्ने जिम्मेवारी महिलालाई दिएका छौं। यसले राजनीतिक रूपमा एउटा अवसर मात्र होइन, भोलिका दिनमा सकारात्मक परिवर्तनहरू पनि देखिने छन्।’ यस्तै माओवादीका सांसद कृष्णबहादुर जिसीले पनि संसद्को नेतृत्व महिलालाई दिएर आफूहरूले सामाजिक रूपान्तरणको सन्देश दिएको संसद् बैठकमै बताए।

कर्णालीमा सरकारमा पनि महिलाको प्रतिनिधित्व गराउन दबाब बढेको छ। यसअघि मन्त्रिपरिषद्मा महिलाको सहभागिता नहुँदा उच्च अदालतमै रिट परेको थियो। दलहरूले महिलालाई नेतृत्वमा अवसर नदिने गरेको गुनानो बढिरहेका बेला संसद्को नेतृत्वमा महिलाले अवसर पाउनुलाई सुखद् सुरुवात भएको अधिकारकर्मीहरू बताउँछन्। नवनिर्वाचित सभामुख गुरुङ भन्छिन्, ‘यो अवसर मात्र होइन, जिम्मेवारी पनि हो। हामी जिम्मेवारी इमानदार भएर निर्वाह गर्नेछौं, यसका लागि सबैको सहयोग चाहिन्छ।’  

गुरुङ एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन्। सुर्खेत निवासी उनी लामो समयदेखि एमाले सुर्खेतको राजनीतिमा सक्रिय थिइन्। यसैबीच प्रदेशसभामा बुधबार भएको उपसभामुख चयनको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्राकुमारी शाहीलाई हराउँदै माओवादीकी यशोदा न्यौपाने उपसभामुख बनेकी हुन्। कालिकोटबाट समानुपातिक सांसदमा निर्वाचित न्यौपानेले प्रदेशसभामा भएको मत विभाजनमा २४ मत प्राप्त गरिन्। प्रदेशससभामा रहेका ४० सांसदमध्ये २४ जना सांसदले उनलाई मत दिएका हुन्। उनलाई एमालेका ९, माओवादीका १३, एकीकृत समाजवादीका र राप्रपाका एक–एक जना सांसदले मत दिएका हुन्। यस्तै कांग्रेसको तर्फबाट उपसभामुखको उम्मेदवार बनेकी इन्द्राकुमारी शाहीले भने १४ मत मात्र प्राप्त गरिन्। 

मतदानमा प्रदेशसभाका ४० मध्ये ३८ जना सांसद सहभागी भएको सभामुख नन्दा गुरुङले जानकारी दिइन्। प्रदेशसभामा जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले कसैको पक्षमा पनि मतदान नगरी तटस्थ बसे। यस्तै सभामुख नन्दा गुरुङ पनि तटस्थ बसेका कारण मतदानमा ३८ जना सांसद मात्र सहभागी भए। 

प्रदेशसभामा माओवादीका १३, एमालेका सभामुखसहित १०, राप्रपा र एकीकृत समाजवादीका एक–एक जना सांसद छन्। यस्तै प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १४ जना सांसद छन् भने एक जना
स्वतन्त्र सांसद छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.