लोक संगीतमा अब्बल सापकोटा

उनले स्वर दिएका गीतहरूको संख्या तीन दर्जन बढी छ भने मोडलिङ गरेका म्युजिक भिडियोको संख्या पनि डेढ दर्जन बढी छ।

लोक संगीतमा अब्बल सापकोटा

 सन्धिखर्क : लोक गायक अर्जुन सापकोटाले लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन्।  उनका ‘वनकी चरी’, ‘पछ्यौरी लिसियो’, ‘फुल्यो गुराँस’, ‘दुई दुना चार’जस्ता गीतहरूले करोड भ्युज पाएका छन्। 

तीन वर्षअघि आफ्नो नयाँ यूट्युब च्यानलमार्फत देवी घर्तीसँगको स्वरमा भिडियोसहित अर्जुनले ‘वनकी चरी’ गीत सार्वजनिक गरेका थिए। त्यो गीतले तहल्कै पिटेको थियो। युट्युब एवं टिकटक दुवैतिर चर्चा बटुलेको थियो। ‘त्यो गीतले मलाई चिनाउनमा धेरै नै मद्दत गर्‍यो’, अर्जुन भन्छन्। 

त्यसपछि ‘दशैं आयो’, ‘जन्मेकै गाउँ रोयो’ गीत गाए। त्यसले पनि राम्रै चर्चा पायो। ‘सिमलैमा मैना’, ‘नगर पीर माया’, ‘पिरती नलाम माया’ गीतहरू पनि उत्कृष्ट सावित भए।  यी गीतमा अर्जुनको स्वरसँगै संगीत पनि छ। त्यसपछि समीक्षा अधिकारीसँग गाएको गीत ‘पछ्यौरी लिसियो’ निकै नै चर्चित बन्यो। संगीतसमेत अर्जुनकै रहेको गीतको भिडियोले युट्युबमा झन्डै तीन करोड बढी भ्युज पाएको छ। राजु परियार, कमला घिमिरेलगायतसँग गाएको ‘फुल्यो गुराँस’ पनि राम्रै चल्यो। त्यसपछि ‘दुई दुना चार’ बोलको गीत पनि ‘करोड क्लब’मा प्रवेश गर्न सफल भयो । २०५५ माघ १२ मा स्याङ्जाको पेलाकोट मान्थुम्कामा जन्मिएका अर्जुन पाँच वर्षको उमेरमै बुवा आमासँग नवलपुर आएका थिए। स्थायी बसोबास नवलपुरमा भए पनि उनले विदेशका विभिन्न देशसँगै स्वदेशमा पूर्वदेखि पश्चिमसम्मका थुप्रै जिल्लाहरूमा पुगेर हजारौं स्रोता÷दर्शकमाझ सांगीतिक प्रस्तुति दिइसकेका छन्। उनले स्वर दिएका गीतहरूको संख्या भने तीन दर्जन बढी पुगिसकेको छ। उनले मोडलिङ गरेका म्युजिक भिडियोको संख्या पनि डेढ दर्जन बढी छ।

यतिबेला थुप्रै गीत सार्वजनिक हुने पखाईमा छन्। ‘मेरो आफ्नै युट्युब च्यानलबाट आउने गरी पाँच वटा गीत तयार हुँदैछन्। अरु कम्पनीहरूको गीत पनि ल्याउने तयारी भइरहेको छ’, उनले भने।

प्रतिभा र समयलाई बुझेर मेहनत गर्न सके गीतसंगीतमा राम्रो आम्दानी हुने अर्जुनको बुझाई छ। ‘डिजिटल प्लेटफर्म बढिरहेका छन्। त्योसँगै गीतसंगीतमा आम्दानीका स्रोतहरू पनि बढिरहेका छन्। प्रविधि बुझ्न सकियो र त्यहीअनुसार अगाडि बढ्न सकियो भने आम्दानी पनि राम्रो गर्न सकिन्छ’, उनी भन्छन्, ‘मेरो पारिवारिक माहोल नै संगीतमय छ। घरमा सबैजना हुँदा मज्जाले दोहोरी जम्छ।’ उनका थुप्रै चर्चित गीतहरू छन्, जसमध्ये पछिल्लो गीत चाहिँ ‘ए ठूली’ हो। दुई महिनाअघि सार्वजनिक गीतले ३३ लाखभन्दा बढी भ्युज पाइसकेको छ। हजारौं भिडियोहरू टिकटकमा बनेका छन्।

अर्जुन गायक मात्र होइनन्, गीत पनि लेख्छन्। भाका बनाउँछन्। गीतको म्युजिक भिडियोमा मोडलिङसमेत आफै गर्छन्। ‘मोडल बन्छु भनेर मोडलिङमा होमिएको चाहिँ होइन। संगीतको विद्यार्थी भएकाले आफ्नो फिल्डमा पर्ने कामहरू सिक्न मन लाग्दो रहेछ’, उनी भन्छन्, ‘त्यसले आफैलाई फाइदा पनि हुँदोरहेछ। बुवाले पहिल्यैदेखि गीत लेख्ने, गाउने गर्नुहुन्थ्यो। यद्यपि परिस्थितिले उहाँले त्यसबेला रेकर्ड गर्न पाउनुभएन। तर, मलाई गीत–संगीतमा लाग्न सानैदेखि प्रेरित गर्नुभयो।’ 

अर्जुनका बुवा मणि सापकोटा पहिल्यैदेखि गीत सिर्जना गर्ने, गाउने गर्दथे। बुवाले सिर्जना गरेका गीतहरूमा चर्चित गायक÷गायिकाहरूले समेत स्वर दिइसकेका छन्। अर्जुनले पनि ‘परदेशीको पीडा’ बोलको तीज गीतमार्फत बुवासँग पहिलोपटक सांगीतिक सहकार्य गरेका हुन्। बुवाको शब्दमा छोराको स्वर, गीतले युट्युबमा राम्रो भ्युज पायो। त्यसयता बुवाले लेखेका अन्य गीतमा पनि उनले स्वर भरेका छन्। त्यसबखत जिल्लासँगै बाहिरका सांगीतिक कार्यक्रमहरूबाट उनलाई निम्तो आउन थालिसकेको थियो।  उनी सांगीतिक क्षेत्रबाट खुसी छन्। निःसन्देह उनको सफलतामा बुवाआमा अझ बढी खुसी होलान्। त्यसैले त अर्जुनले बेलाबखत अल्छी गर्दा बुवाले झक्झक्याइरहन्छन्, ‘यसरी भएन है ! अलि मेहनत गर्नुपर्‍यो भन्दै ‘मलाई सांगीतिक क्षेत्रमा मार्गनिर्देशन गर्ने पहिलो व्यक्ति नै बुवा हुनुहुन्छ’, उनी भन्छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.