मनरा शिसवा नगरपालिकामा मदिरा बिक्री वितरणमा रोक
जनकपुरधाम: महोत्तरीको मनरा शिसवा नगरपालिकामा मदिरा बिक्री वितरण, ओसार-पोसार तथा सेवनमा रोक लगाइएको छ। पालिकाका सर्वसाधारण जनताको सदाचार, सामाजिक सदभाव, स्वास्थ्य, सुविधा, आर्थिक हित तथा अपराधिक घटनाहरु नियन्त्रण गर्न मदिरा बिक्री वितरण तथा सेवनमा निषेध गर्ने निर्णय गरेको हो।
गत पुस ३० गते सम्पन्न १० औँ नगरसभाबाट पारित मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७२ को दफा ५ को ६ बमोजिम पालिकाका वडा नं. २, ३, ५, ८, ९ र १० को सम्पूर्ण क्षेत्रहरुमा मदिराको उत्पादन तथा बिक्री वितरणमा पूर्ण रुपमा बन्देज गरिएको प्रमुख प्रशासकीय अधिकृत माघवेन्द्र चौधरीले जानकारी दिए।
उनले वडा नं. १, ४, ६ र ७ मा दफा ५ बमोजिम सार्वजनिक कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा मठ मन्दिरको चारैतर्फ ३०० मिटर दुरी भित्रको क्षेत्रमा मदिरा उत्पादन, संकलन, भण्डारण तथा बिक्री वित्तरण गर्न नपाईने बताएका छन्।