अभिषेक गिरीलाई भीमफेदी कारागार सरुवा गर्ने बाटो खुला

अभिषेक गिरीलाई भीमफेदी कारागार सरुवा गर्ने बाटो खुला

विराटनगर : जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरीले स्थानान्तरणको निर्णयविरुद्ध दायर गरेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

अदालतका न्यायाधिश रामबहादुर थापा र मिलनकुमार राईको संयुक्त इजलासले गिरीले माग गरे बमोजिमको अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। 

चौकीदार गिरीको पक्षमा अन्तरिम आदेश जारी नभएपछि उनलाई मकवानपुर कारागार सरुवा गर्ने बाटो खुलेको छ। 

अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै गिरीलाई मकवानपुर कारागार कार्यालय भीमफेदी स्थानान्तरण गर्ने प्रक्रिया सुरु भइसकेको उच्च अदालत विराटनगका सूचना अधिकारी ओमराज सुवेदीले बताए।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरीले विराटनगर कारागारमा रहेर चन्दा आतंक मच्चाएको गुनासो आएपछि गत पौष २९ गते उनलाई भीमफेदी कारागार सरुवा गर्ने निर्णय भएको थियो। 

कारागार व्यवस्थापन विभागको लिखित निर्देशनसहितको पत्र माघ १ गते विराटनगर आइपुगेको थियो। सोही बमोजिम उनलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको थियो। 

तर, सरुवाको निर्णयका बारेमा अगाडि नै जानकारी पाएका चौकीदार गिरीले निर्णय बदर गर्न माग गर्दै केही कैदीबन्दीलाई उचालेर कारागारमै विरोध प्रर्दशन गरेका थिए। 

माघ ३ गते आफ्नो सरुवा रोक्न अन्तरिम आदेश माग गर्दै कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला कारागार मोरङलाई विपक्षी बनाएर उनले उच्च अदालत विराटनगरमा रिट समेत दायर गरेका थिए। 

तर, कैदी गिरीले हालेको रिटमा न्यायाधिश थापा र राईको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

२०७४ चैत्र २३ गते भन्दा अगाडि गिरी मोरङ कारागारमा चौकीदार थिए। कैदीबन्दीलाई यातना, मिटरब्याजको धन्दा र बजारमा चन्दा आतंक मच्चाएको गुनासो आएपछि २०७४ चैत्र २३ गते उनलाई डिल्लीबजार कारागार सारिएको थियो। 

तर, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री भएपछि २०७८ मङ्सिर ९ गते उनी दोश्रोपटक मोरङ कारागार आएर चौकीदार बनेका थिए। 

गिरीकै सहजताका लागि २०७८ असोज १८ गते चौकीदार नवीन राईलाई झुम्का कारागार स्थानान्तरण गरेर किरण गुरुङलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिइएको थियो। 

गिरीकै योजनामा ०७८ कात्तिक २४ गते मोरङ कारागारमा झडप हुँदा गुरुङसहित ६ जना कैदीबन्दी घाईते भएका थिए। 

चौतर्फी आलोचनाका बाबजुद सरुवा भएर आएपछि पनि आतंक मच्चाउन नछोडेपछि गृहमन्त्री रवि लामिछानेको आदेशमा उनलाई पुनः भीमफेदी कारागार सरुवा गर्न लागिएको हो। गिरीको कैद भुक्तान अवधि भने फागुन ३ गते सकिँदैछ।

युवती प्रयोग गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर २०७० सालमा फिरौती मागेको घटनामा विराटनगर घर भएका गिरीलाई अदालतले दोषी ठहर गरेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.