लागत उठाउनै धौ–धौ
चितवन : ‘गोलभेंडा बेचेर ल्याएको पैसा घरभित्र छिर्दैन, खेतालालाई बाँड्दै सकिन्छ,’ चितवन मंगलपुरकी किसान धनु अधिकारी सस्तोमा तरकारी बेच्दाको पीडा सुनाउँछिन्, ‘त्यो पनि हजुर किनिदिनुस्न भन्नुपर्छ। फकाएर, त्यो पनि सस्तोमा बिक्री गर्नुपर्छ। बजार विदेशी तरकारीले भरिएको छ।’ उनको अहिले बारीभरि गोलभेंडा पाकेका छन्। उत्पादन खर्च नै प्रतिकिलो २० रुपैयाँ पर्छ। तर, ७ रुपैयाँमा बिक्री गर्नुपरेको उनी बताउँछिन्। अधिकारी हरेक तीन दिनमा पाँच हजार किलो गोलभेंडा टिप्छिन्। त्यसलाई सस्तोमा बिक्री गर्नुपर्दाको पीडा उनमा कम छैन। पछिल्लो डेढ महिनामा मात्रै उनले १५ लाख घाटा बेहोरेकी छन्।
फलेको तरकारी एक दिनमात्रै बेच्न ढिलो भयो भने कुहिन्छ। अनि घाटै सहेर बेच्नुको विकल्प नभएको किसान अधिकारी सुनाउँछिन्। ‘सस्तोमा भए पनि नबेची सुख छैन। नभए त्यही पनि पाइँदैन,’ उनले भनिन्, ‘विदेशी उत्पादनले बजार पायो हाम्रोले हेला।’ कुनै बेला प्रतिकिलो सात रुपैयाँमा उन्पादन भएको काँक्रो ८० रुपैयाँसम्म उनले बेचेकी थिइन्। त्यसबेला बजारमा भारतसहितका विदेशी उत्पादन थिएन। अहिले उनले उल्टै बिन्ति गर्दा पनि तरकारी बेच्न हम्मे पर्छ।
किसानको उत्पादनले विगत दुई महिनादेखि बजार नपाएको अधिकारीको अनुभव छ। तरकारी खेती गर्नकै लागि उनी गुल्मीको मालिका गाउँपालिका ६ अर्जैबाट एक्लै चितवन पुगेकी हुन्। जीवनमा केही नयाँ गर्ने आँट आयो र कृषि पेसा रोजिन्। तरकारी खेतीमा राम्रो होला भन्ने ठानेर जग्गा भाडामा लिएर खेती गर्ने हिम्मत गरिन्। अहिले उनमा वितृष्णा पैदा भएको छ। तरकारीसँगै उनको सपना पनि बारीमै कुहिने अवस्थामा पुगेको नमिठो अनुभव उनी सुनाउँछिन्। पत्रकारितामा स्नातक गरेकी अधिकारीले कृषि पेसा रोजे पनि अहिले पछुतो लाग्ने अवस्था आएको बताउँछिन्। उनको परिवार गुल्मीमै छन्। श्रीमान् विदेश छन्।
किसानले सस्तोमा बिक्री गर्दा पनि नबिकेका तरकारीको भाउ बजारमा छोइनसक्नु छ। मण्डीमा प्रतिकिलो ५ रुपैयाँमा किसानले बेच्ने बन्दाकोपी उपभोक्ताले ३५ रुपैयाँ तिरेर खानुपर्छ। प्रतिकिलो ८ रुपैयाँमा बचेको गाँजरको मूल्य बजारमा ३० रुपैयाँ छ। ५ रुपैयाँ किलोको मुलालाई ३० रुपैयाँमा व्यापारीले बिक्री गर्छन्। किसानबाट खरिद गरेको तीनगुना बढी मूल्यमा व्यापारीले बिक्री गर्ने गरेको किसानको भनाइ छ। नेपाली मण्डीमा विदेशी तरकारी सस्तोमा आइपुग्दा नेपाली व्यापारीले पनि किसानबाट सस्तोमै उठाउन खोज्छन्।
शुक्रबार चितवनको नारायणगढमा तरकारी फालेर सरकारको ध्यानाकर्षण गराएपछि भारतबाट तरकारी आउन केही कम भयो। यसले प्रतिक्यारेट २ सयमा बेच्ने गरेको गोलभेंडा साढे दुई सयसम्ममा अहिले बिक्री भइरहेको छ। ‘आफूले उत्पादन गरेको उत्पादन फाल्ने रहर हामीलाई छैन,’ गौरीगन्जमा तरकारी खेती गरिरहेका किसान अरवीन्द्र सुवेदीले भने, ‘राज्य हाम्रो अभिभावक कहिल्यै बनेन।’
तरकारीमा बिचौलिया बढी
नेपाली उत्पादनले मूल्य नपाउनुको मुख्य कारण विदेशी उत्पादन मुख्य कारण हो, त्यसपछि बिचौलिया हुन्। नेपाली किसानको उत्पादनलाई निरुत्साहित गर्न तरकारी मण्डीमा गिरोह नै हुन्छ। उनीहरू नेपालको भन्दा कम मूल्यमा भारतसहितका देशबाट तरकारी भित्र्याउँछन्।
चितवनको क्षेत्रपुरमा रहेको तरकारी मण्डीमा बिचौलिया धेरै रहेको किसानको भनाइ छ। यहाँ नेपाली उत्पादनलाई रोक्दै भारतबाट तरकारी भित्र्याउनमा भारतीय समूह नै सक्रिय छन्। उनीहरू भारतमा भएका आफन्तको माध्यमबाट सस्तोमा तरकारी मगाउँछन्। त्यस्ता तरकारी बढी विषादी छरेको र गल्न लागेको हुने उपभोक्ताको भनाइ छ।
सीमा नाकाबाटै भन्सार छलेर तरकारी भित्रिन्छ। केही साधनको मात्र ढुवानी देखाएर मिलेमतोमा तरकारी भित्रिने गरेको आरोप किसानको छ। मण्डीमा तरकारी पुर्याएर सस्तोमा बिक्री गर्नुपर्दा आफूहरूको मनोबल गिर्ने गरेको अमृतनगरका किसान सुमन सुवेदीले गुनासो गरे।