पोलका तार व्यवस्थित गर्न सिद्धार्थनगरको सात दिने अल्टिमेटम
भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रमा नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणको पोलमा टाँगिएका तारहरू व्यवस्थित गर्न नगरपालिकाले सात दिने अल्टिमेटम दिएको छ।
नगरपालिकाले सम्बन्धित कार्यालयहरूलाई पत्रचार गरेर अल्टिमेटम दिएको हो।
पोलमा यत्रतत्र टाँगिएका इन्टरनेट, विद्युत र टेलिकमका तारले नगरको सौन्दर्यमा प्रभाव परेको र बजार क्षेत्रसमेत कुरुप देखिएकाले यसको व्यवस्थित गर्न अनुरोध गरिएको नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए।
पोलमा सम्बन्धित कार्यालयले वर्षौदेखि यत्रतत्र तार टांग्दै आएको तर व्यवस्थित गर्नेतर्फ चासो नदेखाउँदा सहर नै कुरुप देखिएको छ। उक्त तारमा चराले गुँड समेत बनाउने गरेको छ।
'क्लिन’, ‘ग्रीन’ र ‘इको फ्रेन्डली’ सिटी बनाउने हाम्रो अभियान नै हो’, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भने, ‘सोही अभियानअन्तर्गत नै पोलमा यत्रतत्र टाँगिएका तारहरू पनि व्यवस्थित गर्न लागिएको हो।’