भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने वडाध्यक्ष र वडासचिव पक्राउ
जनकपुरधाम : नक्कली बुबाआमा खडा गरेर नेपाली नागरिकता लिन खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
महोत्तरीमा आफ्ना मामा माइजुलाई बुवाआमा बनाएर नेपाली नागरिकता लिन खोजेका भारतको बिहार राज्यको सीतामढी जिल्लाको मानिकचौक पश्चिमी पञ्चायत-१० का १८ वर्षीय आकाशकुमार साह पक्राउ परेका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए।
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका-९ बस्ने मामा राजकिशोर साह र माइजु उर्मिला देवी साहलाई बुवाआमा बनाएर सोमबार नागरिकता लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पुगेका साहलाई नायब सुब्बा भरत यादवले नागरिकता बनाउनु अगाडि शंका लागेर सोधपुछ गर्दा उनी भारतीय नागरिक रहेको भेटिएपछि पक्राउ गरिएको हो।
आइतबार जिल्ला प्रशासन कार्यालयमा आएका आकाशको भारतीय शैक्षिक प्रमाणपत्र देखेपछि कर्मचारीले नागरिकता दिएका थिएनन्। उनका बुवा बनेर आएका मामा राज किशोरलाई सनाखत गराई सोमबार नागरिकता दिने भनी फर्काएका थिए।
तर, सोमबार दिउँसो २ बजे नागरिकता लिन आउँदा नासु भरत यादव सहितको कर्मचारी टोलीले उनीसँग आवश्यक सोधपुछ गर्दा उनी भारतीय नागरिक ठहरिएपछि तत्कालै पक्राउ गरिएको थियो।
उनी पक्राउ परेपछि उनलाई नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्ष शशिभूषण झा र जन्मदर्ता बनाउने वडा सचिव धर्मेन्द्र कुमार लाललाई पनि जिल्ला प्रशासनले फोन गरेर बोलाएपछि उनीहरु पनि जिल्ला प्रशासन कार्यालयमा आएका थिए।
आकाशले फर्जी रुपमा बुवा आमाको नाम कम्प्युटर माध्यमबाट स्क्यान गरेर माध्यमिक परीक्षाको नक्कली भारतीय शैक्षिक प्रमाण पत्र बनाएर मामा र माइजुको नाम बुवा आमाको महलमा लेखेर ल्याएका छन्।
उनको जन्मदर्तामा मामा माइजुलाई बुवा आमा बनाएर यही माघ ४ गते मनरासिस्वा नगरपालिका-९ बाट जन्मदर्ता प्रमाणपत्र जारी भएको भेटिएको छ। उनको शैक्षिक प्रमाणपत्रमा जन्ममिति ई.सं. २००५ जनवरी १ कायम गरिएको छ। जन्मदर्ता प्रमाणपत्रमा जन्ममिति २०६१ पुस १७ गते कायम गरिएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले नेपाली नागरिकता प्रमाणपत्र लिन खोजेका युवक आकाश, नागरिकता बनाउन सिफारिस गरेका वडाध्यक्ष शशिभूषण झा र जन्मदर्ता बनाउने वडा सचिव धमेन्द्र कुमार लाल तीनै जनालाई कार्यालयको मुद्दा शाखामा राखेर आवश्यक बयान लिएर आवश्यक कारबाहीका लागि गएराति नै जिल्ला प्रहरी कार्यालयमा पठाइएको सहायक प्रजिअ न्यौपानेले बताए।