हिउँदे वर्षा नहुँदा किसान चिन्तित

हिउँदे वर्षा नहुँदा किसान चिन्तित
फाइल तस्बिर
सुन्नुहोस्

पोखरा : लामो समय हिउँदे वर्षा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने पहाडका टारी र पाखामा लगाइएका गहुँ, तोरी उत्पादनमा कमी आउने भएको छ। 

पोखरा महानगरपालिकाका टारी र पाखामा लगाइएको तोरी, गहुँ लगायत हिउँदे खेती नफस्टाएको किसानले बताएका हुन्। 

विशेषगरि सिँचाइ सुविधा नभएको पाखा, टारीमा लगाइएको तोरी नउम्रने समस्यादेखि उम्रेको पनि नफस्टाउँदा उत्पादन घट्ने अवस्था आएको पोखरा-२३ असौलचौरका किसान मोतिलाल पराजुलीले बताए। 

यस वर्ष दसैमा पानी परेपछि अहिलेसम्म पानी परेको छैन। यस वर्ष १२ रोपनी क्षेत्रफलमा लगाएको तोरी हलोले जोतेका पाखोमा उम्रे पनि नफस्टाएको र ट्याक्टरले जोतेको क्षेत्रमा तोरी नै राम्रोसँग नउम्रेको पराजुलीले बताए। 

अघिल्लो वर्ष ८ रोपनी क्षेत्रमा तोरी लगाउँदा ५० पाथी तोरी उत्पादन भएको तर यस वर्ष १२ रोपनीमा लगाए पनि उत्पादन घट्ने चिन्ता बढेको उनले सुनाए। 

गत वर्ष हिउँदे वर्षा राम्रो भएकाले गाउँभरि २० मुरी तोरी उत्पादन भएको उनले सुनाए। 

५ वर्षदेखि असौलचौरका किसानले ठूलो क्षेत्रफलमा तोरी उत्पादन गर्दै आएका हुन्। यस वर्ष गाउँको ३२० रोपनी पाखोमा तोरी लगाइएको छ। 

पोखरा-१८ पदेलीका किसान चंखबहादुर थापाले पोहोर दुई हलमा एक मुरी तोरी उत्पादन गरेका थिए। यस वर्ष हिउँदे वर्षा नहुँदा एक पाथी पनि नहुने अवस्था आएको उनले सुनाए। गाउँको पाखोमा सिँचाइ सुविधा नभएकाले वर्षाको भरमा पर्नुपर्दा यो समस्या आएको थापाले सुनाए। 

पोखरा महानगरपालिकाले तेल दहन प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई जग्गा तयारी र तोरीको बीउमा पनि अनुदान दिएको छ। 

संघीय कार्यक्रमअन्तर्गत महानगरपालिकाले अनुदान दिएको हो। नजिकै पानीको स्रोत भएका ठाउँमा पानीमा पनि महानगरले सहयोग गर्ने भए पनि लामो समय हिउँदे वर्षा नहुँदा टारी र पाखाका भिराला जमिनमा सिँचाइ सुविधामा पनि समस्या परेको किसानले बताएका छन्। 

महानगरपालिकाले तोरी बाली लगाउने किसानलाई प्रोत्साहन गर्न जग्गा बनाउन रोपनीको ३५० रुपैयाँ , बिउँमा ५० प्रतिशत अनुदान दिएको थियो। 

पानी उपलब्ध भएका क्षेत्रमा पाइपबाट पानी राख्न, वा मेसिन चलाएर पानी राख्न सिँचाइमा पनि सहयोग गर्ने बताएको थियो। 

महानगरपालिकाको २१, २३, २४ र १६ वडामा तोरी बारी प्रवर्द्धन कार्यक्रम गरेको पोखरा कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.