आमा छाण्याँ बाबा छाण्याँ लाग्याँ परदेश
युवा अवस्थामा पूर्वप्रधानमन्त्री एवं कांग्रेससभापति शेरबहादुर देउवा यस खेलमा निकै रमाउँथे। वास्तवमा देउडा खेलाडी हुन्। हामीसँग खेल खेल्न औधि रमाउँछन्।
विस्तारै देउडा संस्कृतिले राजधानीमा पूर्ण परिचय दिँदैछ। कुनै बेला सुदूर र कर्णाली प्रदेशका पर्वहरू बिसु, गौरामा मात्र खेलिने खेल देउडा अचेल राजधानीका क्याम्पस र वनभोजहरूमा पनि खेल्ने प्रचलन बढेको छ। पछिल्लो अवस्थामा युवामा आफ्नो भाषा, संस्कृति र रहनसहनबारे अनुसन्धान गर्ने, जिज्ञासा राख्ने बानी रहेकाले युवा पढाइका साथै देउडा गीतबारे छलफल गर्न थालेका छन्। हालै पुल्चोक ललितपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा अध्ययनरत सुदूरपश्चिम इन्जिनियरिङ विद्यार्थी समाजद्वारा आयोजित देउडा खेल कार्यक्रम।
देउडागीत के हो ? यसले जनमानसमा कस्तो प्रभाव पार्छ ? पाइतलाप्रधान खेल देउडागीत कसरी प्रस्तुत गर्ने ? आदिबारे नवपिँढीलाई त्यति सारो जानकारी छैन। तथापि उनीहरू भन्छन्, सुदूरपश्चिम र कर्णाली प्रदेशको सांस्कृतिक चिनारी भन्नु नै देउडा गीत, देउडा खेल हो। उनीहरू गीतमा झुम्मिन्छन्, खेल्न हौसिन्छन्, तर पाइतला मिलाउन त्यति जान्दैनन्। अभ्यस्त नभएर यस्तो भएको हो। के देउडा मात्रै त्यस क्षेत्रको संस्कृति र गीत हो त ? युवाको सहजै उत्तर आउँछ– हामीले जानेको यतिमात्र हो। युवा गाउँ छोडेर सहरमुखी भई यस्तो परिभाषा आउनु स्वाभाविक नै हो। गाउँमा संस्कृति छ, परम्परा छ, लोकगाथाहरू छरिएका छन्। तर सहर पस्दा ती अमूल्य निधिहरू छोडेर आउँदा उनीहरूमा संस्कृतिप्रतिको मोह भने हराउँदो रहेन छ। यसको ज्वलन्त उदाहरण हो, विसु पर्व र गौरापर्वमा देउडा खेलमा युवाको उपस्थिति।
तेल्यालेक धरमशाला रौसिलाको पानी
(अर्थ–महाभारत पर्वत शृंखलामा तेल्यालेक पर्छ। कुनै बेला हटारुहरूलाई बास बस्न धर्मशालाहरू निर्माण गरिए। अहिले भग्नावशेषमात्र देख्न पाइन्छ। दुई घण्टा पैदल हिँडेर रौसिला भन्ने ठाउँको पानी बोकेर यात्रु भोजन गर्थे। सडकको सुविधाले तेल्यालेकको बाटो अहिले हिँड्नु पर्दैन। आफ्ना मान्छे देख्नेबित्तिकै भेटेजस्तो लाग्छ, जसरी रौसिलाको पानीले तिर्खा मेट्छ।)
देउडागीतका यी गहिरा भाव बुझेर युवा खेलमा झुम्मिन्छन्। यसैगरी यो प्रस्तोतासँग अँगालो मार्दै हालैै पुल्चोक क्याम्पसमा देउडा खेल्न हौसिए, विद्यार्थी। डा. हेमराज पन्त, त्रिभुवन भट्ट, कृष्णदत्त भट्ट, केपी खनाल, देवेन्द्र पौडेल, कुशल शर्मालगायत विद्यार्थीले गीतहरू प्रस्तुत गरे। सौराई नामक पत्रिकाको लोकार्पण र देउडा खेलका लागि प्रमुख अतिथिका रूपमा पंक्तिकारलाई निम्त्याए। ती विद्यार्थीबीच स्याङ्जा, कास्की, गोरखा, भोजपुर, झापा, इलाम, चितवनबाट इन्जिनियर शिक्षा अध्ययनका लागि आएका विद्यार्थी पनि देउडामा सामेल भए। केही कर्मचारी र प्राध्यापकले पनि देउडा खेले।
कुनै बेला युवतीहरू युवकको समूहमा देउडा खेल्न अप्ठ्यारो मान्थे। अब त्यस्तो छैन। टिंकल पाठक, निरा जोशीलगायत युवती हात समातेर खेलमा समावेश भए। घरकी सौराई मेटे। अन्नीफाँको (खाजा) बाँडेर खाए। माघ महिना अन्नीफाँको बाँढेर खाने महिना पनि हो। कलेजका युवामा संस्कृतिप्रतिको मोह देखेर यो मन चंगा भयो। सवाल–जवाफ गर्ने भने उनीहरू अभ्यस्त रहेनछन्। पंक्तिकारको समय देउडा सिकाउनमै गयो। त्यसो त पंक्तिकारले देउडामा गरेको योगदान ३० वर्ष (२०४०–२०७०) को छ। विभिन्न कलेजमा अध्ययनरत सात विद्यार्थीले शोधपत्र लेखिसकेका छन्।
आज भन्यो भोल भन्यो दिन्भन्या गैगयो
सौराइपनि लाग्या की छि. भिट् पनि भैगयो।
सौराई (गहिरो सम्झना) पत्रिकाको लोकार्पण गर्दा पुस्तकमा सुदूरपश्चिमको चाडपर्व, देवालय, शक्तिपीठका साथै ९ वटै जिल्लाका महŒवपूर्ण ऐतिहासिक पर्यटकीय स्थलको पनि वर्णन गरिएको पाइयो। गत मंसीर ४ गते डडेल्धुराबाट स्वतन्त्र उम्मेद्वारका रूपमा प्रतिस्पर्धी सागर ढकालको पनि उपस्थिति थियो। दिदीको कर्म घर डडेल्धुरामा रहेको बताउँदै ढकाल विद्यार्थीमाझ सुनाउँदै थिए। ज्यादै ठूलो माग रहेछ सुदूरपश्चिममा। जानी नजानी मेरो जिन्दगी देउडामय भैसकेछ। जता जाउँ देउडा पारखीहरू गीत सुनाइदिन र खेल खेलीदिन प्रस्ताव राख्छन्। म पनि आफ्नो संस्कृतिबारे उठान गर्न पाउँदा दिलैदेखि खुसी हुन्छु ।
गत भदौ ११ गते जनगायक स्व. जेबी टुहुरेको वार्षिक कार्यक्रममा सुनसरीस्थित पूर्वाञ्चल इन्जिनियरिङ कलेज धरानमा सहभागी हुँदा पनि सुदूरपश्चिमका कलेज पढ्ने विद्यार्थीले छोटो समयमा देउडा गीत कार्यक्रम राख्न भ्याए। यसको मेलोमेसो कार्यक्रम संयोजक समीर तिवारीले मिलाए। धेरै विद्यार्थीमाझ प्रस्तोताले देउडागीत पस्किए, उनीहरूलाई देउडा खेल खेलाएँ। घरको सौराई (याद)ले होला केहीको आँखा आँसुले रसाएका देखिन्थे। २०३४-३५ सालताका रेडियो नेपालमा रेकर्ड गरेका ती गीतहरू साँच्चिकै कारुणिक छन्।
मेरा हात छाता छैन न पढ्यै वर्षाद
आमाले दियाको खानु काशीको प्रसाद।
गाई छदाका धिदाली त मा छदाका माईत
आफ्ना देश बस्या जसो हुँदो हो कि काँइ त ?
(अर्थ–आमाले दिएको खानेकुरा खान पाउनु भनेको काशी (बनारस)को प्रसाद खान पाउनु बराबर हो। गोठमा गाई भए धिदालो (मोइ, दूध) खान पाइन्छ, आमा भएको माइतमा माया पाइन्छ। आफ्नो जन्मभूमिजस्तो प्यारो अन्तः कही हुँदैन।) धरानका ती विद्यार्थीमाझ जनगायक जीवन शर्माले पनि केही गीत गाए। उनलाई पनि धरानमा देउडा खेल सिकाएँ। ६८ सालमा खप्तड सांस्कृतिक परिवार पूर्वाञ्चल शाखाले आयोजना गरेको देउडाखेलमा पूर्वाञ्चलका धेरैजसो संस्कृतिप्रेमीलाई देउडा गीत र खेल सिकाउँदा उनीहरू दंग परे।
६१ सालमा तत्कालीन नेपाल राजकीय प्रतिष्ठानमा प्रज्ञा सभासदमा रहेर काम गर्ने सिलसिलामा जनगायक टुहुरे र पंक्तिकार धनकुटास्थित आठ पहरिया राई बसोबास गर्ने ठाउँमा पुगेका थियौं। सोबारे अनुसन्धान गरेका थियौं। हाम्रो उपस्थिति देखेपछि सयौं युवाले गीत गाउने प्रस्ताव राखे। एकैछिनमा युवाले बजारभरी माइकिङ गरे। दुई घण्टाको अवधिमा पाँच हजारजति दर्शक सहभागी भए। सक्दो मनोरञ्जन दिलायौं। हाक्पारे, मारुनी र सेप्रो संस्कृतिमा देउडा संस्कृति मिसाउन पाउँदा नौलो अनुभूति भयो। हजारौंले देउडामा नाचे। यसैगरी, ईलाम बजारमा पनि छिनभरमै धनकुटाकै क्रम दोहोरियो।
देउडा संस्कृतिको सम्बद्र्धन र प्रचारका लागि काठमाडौं उपत्यकाका कीर्तिपुर, लैनचौर, शंखपार्क, खुल्लामञ्च लगायतमा जनकवि केशरी धर्मराज थापा, संस्कृतिविद् सत्यमोहन जोशी, मानव अधिकारकर्मी कृष्ण पहाडी, डा. डीपी भण्डारी, पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, भीम रावल, वरिष्ठ पत्रकारद्धय युवराज घिमिरे र पुरुषोत्तम दाहाल, महजोडी, जनगायक रामेश रायन, जेबी टुहुरे, रामकृष्ण दुवाल, प्रथमनायिका भूवन चन्द, छायाँदेवी पराजुली लगायतलाई देउडा खेलमा सम्मिलित गराएको याद छ। जनआन्दोलन ६२-६३ ताका देशभर सडक आन्दोलन गर्दै व्यापक रूपमा देउडा संस्कृतिको प्रचारगरी लोकतन्त्रका पक्षमा लाखौं जनसमुदायलाई एकत्रित गरेको याद आउँछ।
३६-३७ सालताका सुदूरपश्चिम विद्यार्थी समितिले नयाँ वर्षको पहिलो दिन विसु पर्वमा शुभकामना आदान प्रदानको आयोजना गर्नेगथ्र्यो। हालका कांग्रेससभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा ललितपुरको गोदावरीमा देउडा खेलको आयोजना गर्ने गथ्र्याे । सो कार्यक्रममा देउडा खेलमा देउवा लगायतलाई पंक्तिकारले देउडा खेलाएको थियो। प्रतिबन्धित कालमा देउडा गीतहरू विशेषगरी पञ्चायती व्यवस्था विरोधी खालका हुन्थे।
तुल्सी गिरी आफै रैछन् पञ्चायतकी आमा।
पञ्चहरू लगाई हिँड्छन् एकदलीय जामा।
निर्दली पञ्चायतका भक्त सूर्यबादुर थापा।
मालेको अखाडा रैछ पूर्वी नेपाल झापा।
वी.पी. के.पी. गणेशमान कांग्रेसका नेता
राजा भोलि काँ झान्या हुन् न यता न उता ?
यी र यस्तै खालका गीतले गोदावरी बनभोज क्षेत्र गुन्जायमान हुन्थ्यो। युवा अवस्थामा पूर्वप्रधानमन्त्री एवं कांग्रेससभापति शेरबहादुर देउवा यस खेलमा निकै रमाउँथे। वास्तवमा देउडा खेलाडी हुन् । हामीसँग खेल खेल्न औधि रमाउँछन्। उनीसँग देउडागीतमा घनिष्ठ सम्बन्ध छ। सुदूरपश्चिमबाट नेपाल (काठमाडौं) खाल्डो प्रवेश गर्न त्यसबेला यातायातको सुविधा थिएन। भारतको रेलको यात्रा नै हाम्रा लागि सुलभ थियो। रक्सौल या सुनौलबाट गौरीफन्टा नाकाहुँदै कैलालीको धनगढी र वनवासाको शारदा नदीको पुल तरेर कञ्चनपुरको गड्डाचौकी प्रवेश गर्नु पथ्र्याे। चीलगाडी (हवाइजहाज)को यात्रा कठिन थियो। रेल र चिलगाडीको यात्राबारे बनाएको देउडा गीत यस्तो छ–
आकाश् हिड्न्या चिलगाडी भुई हिड्न्या रेल्गाडी
मेरा दाजु घर फर्काै साउजीको ऋण गाणी।
(अर्थ–आकाशमा चिलगाडी र भुइँमा रेलगाडी चल्छन्, जुन गाडीमा भए पनि मेरा दाजु बिसु पर्व, गौरा पर्व र दसैं पर्वमा काठमाडौंका साहूजीका ऋण मागेर भए पनि घर फर्केर आउनु।) देउडागीत जनजीब्रोमा त्यसै झुन्डिएको होइन, वर्तमानसम्म आइपुग्दा। धेरै दुःख सहेर, धेरै भनाइ र हेपाइ खाएर यहाँसम्म आइपुगेको हो। अनुहारमा जुँगाको रेखी नबस्दै गाउन थालेको देउडा गीतले अचेल सहरका दोहोरी कार्यक्रम र तारे होटलहरूमा पनि प्रवेश पाएको छ। तर, मौलिक संस्कृति कतै लोप त हुँदैन ? चिन्ता लागिरहेछ। पंक्तिकारले गाएका धेरै देउडा गीतहरू केही गायकगायिकाले बिनाअनुमति गाएको सुनेर नमीठो लाग्छ। संस्कृति दिनप्रतिदिन फैलिँदै गएको देखेर भने खुसी लागेको छ। अझ वर्तमानमा मौलिक संस्कृतिमा फर्केर युवा र विद्यार्थीले समयसमयमा कार्यक्रम गरी समाजमा देउडासम्बन्धी रैवार (खबर) पठाउनु अझ सुखद् पक्ष मान्न सकिन्छ।
माल झान्या माल् चणीका भूरु भूर्या केश
आमा छाण्याँ बाबा छाण्याँ लाग्याँ परदेश।