पूर्व कप्तान सन्दीप लामिछानेलाई दोस्रो चरणको बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघले समावेश गरेको थियो।
काठमाडौं : नेपाली लेग स्पीनर सन्दीप लामिछाने प्लेइङ ११ मा परेका छन्। मंगलबारबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुने आईसीसी क्रिकेट विश्वकपअन्तर्गत लिग–टु शृंखलाको नामिबियाविरुद्धको खेलमा लामिछानेलाई प्लेइङ ११ मा समेटिएको हो।
गत भदौमा नाबालिग बलात्कारको आरोपछि निलम्बनमा परेका पूर्व कप्तान सन्दीप लामिछानेलाई दोस्रो चरणको बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघले समावेश गरेको थियो।
नामिबियाविरुद्धको खेलमा नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ। नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टिम कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुल्शन झा, भीम सार्की र सूर्य तामाङ छन्। सूर्य पहिलो पटक सिनियर राष्ट्रिय टिममा परेका हुन्।
यस्तै, आरिफ शेख, प्रतिश जिसी, श्याम ढकाल र अर्जुन साउद वैकल्पिक खेलाडीको सूचीमा छन्। घरेलु मैदानमा हुन लागेको यो प्रतियोगितामा नेपालका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि डेब्यू गर्नेछन्।
फागुन ९ गतेसम्म हुने शृंखलाको पहिलो खेलमा नेपालले मंगलबार नामिबियासँग खेल्दैछ। नेपालले दोस्रो खेल स्कटल्यान्डसँग शुक्रबार खेल्नेछ। यस्तै शनिबार नेपालले नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्यान्डसँग फागुन ९ गते पुनः प्रतिस्पर्धा गर्नेछ।
लिग–टुमा सात राष्ट्रको सहभागिता छ। स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारका साथ ४६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। ३६ खेलमा ४४ अंकका साथ ओमान दोस्रो स्थानमा छ। ३० खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ।
३६ खेलमा ३५ अंक बनाएको अमेरिका चौथो, २६ खेलमा २७ अंक बटुलेको यूएई पाँचौं, २४ खेलमा १८ अंक जोडेको नेपाल छैटौं र २८ खेलमा पाँच अंक मात्रै बनाएको पपुवा न्युगिनी अन्तिम स्थानमा छ।