मिथिला माध्यमिकी परिक्रमाका यात्रु मडैमा
महोत्तरी : मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय माध्यमिकी परिक्रमामा सहभागी आज महोत्तरीको मडै पुगेका छन्।
गएराति जलेश्वरमा रात्रि विश्राम गरेका परिक्रमामा सहभागी श्रद्धालुभक्तजन आज बिहानै महोत्तरी गाउँपालिकास्थित मडै आइपुगेका छन्। परिक्रमा यात्रीलाई मडैमा भव्य स्वागत गरिएको छ। त्यहाँ आज भव्य मेला लागेको छ।
आज राति मडैमा विश्राम गर्ने टोली भोलि एकाबिहानै ध्रुवकुण्डका लागि प्रस्थान गर्नेछन्। परिक्रमायात्री सोमबार भंगहा नगरपालिकाको कञ्चनवन पुग्नेछ।
जहाँ परिक्रमा यात्रीले एक आपसमा रंग, अविर दलेर होली खेल्ने परम्परा रहेको छ। होलीको रंगमा डुबिसकेको यात्रीहरू त्यसपछि धनुषाको पर्वताका लागि प्रस्थान गर्नेछन्।
त्यसपछि धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन्। जनकपुरमा फागु पूर्णिमाको दिन होलिका दहनपश्चात अन्तरगृह परिक्रमा गरी माध्यमिकी परिक्रमा समापन हुने गर्छ।
नेपाल र भारतको सीमाक्षेत्रका जनताबीच सामाजिक तथा धार्मिक सद्भावका लागि अति नै महत्वपूर्ण मानिएको यो परिक्रमाका क्रममा नेपालका १३ र भारतका दुई गरी जम्मा १५ वटा विश्रामस्थलहरूमा विश्राम गर्ने गर्छन्। जम्मा १ सय ३३ किलोमिटर पैदल यात्रा गर्ने परिक्रमावासीहरू यस अवधिभरीका लागि आफ्नो गाँस, बास र कपासको व्यवस्था गरेर हिँड्छन्।
फागुन ८ गते धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान राम र जनकपुरको अग्नीकुण्डबाट जानकीको डोलासहित परिक्रमा सुरु भएको थियो।
परिक्रममा सहभागी हुँदा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ। चारधामको दर्शन गरे बराबरको फल प्राप्तिका लागि परिक्रममा सहभागी हुने गरेको साधुसन्तको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !