गाउँपालिका केन्द्र सार्ने निर्णयप्रति स्थानीयवासी आक्रोशित
भोजपुर : पूर्वी अरुण गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति स्थानीय प्याउलीवासी आक्रोशित बनेका छन्।
विभिन्न राजनीतिक दलका नेताहरूको सेटिङमा गाउँपालिका अध्यक्ष सालिकराम खत्रीले प्याउलीबजारदेखि करिब डेढ किलोमिटर दूरीमा पर्ने मरेङडाँडास्थित गाउँपालिका केन्द्र सार्ने निर्णय गरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन्।
अध्यक्ष खत्रीले पालिकास्तरीय पार्टी प्रमुखहरूको मिलोमतोमा बजारदेखि झण्डै एक घण्टा उकालो पैदलयात्रा दूरीमा सार्ने निर्णय गरेका हुन्।
आफ्नो पार्टीका केही नेता कार्यकर्ताको गोप्य निर्णय लिएर खत्रीले गाउँपालिका केन्द्र सार्ने गरेको निर्णयप्रति स्थानीयको आरोप छ।
स्थानीय पूर्ण श्रेष्ठले गाउँपालिका अध्यक्ष लगायतका पदाधिकारीले भित्रभित्रै गाउँपालिका केन्द्र सार्ने जनताको हितविपरीत निर्णय गरेको आरोप लगाए। उनले भने, ‘दुर्गम क्षेत्रका जनताका लागि पायक र सहज पर्ने स्थान छोडेर गाउँपालिका सार्ने एकल निर्णयप्रति हामी जनता पिसिएका छौँ, उहाँहरूको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहनेछ।’
२०७१ र २०७२ सालमा स्थानीय राजनीतिक दलहरूको निर्णय अनुसार गाउँपालिकाको केन्द्र नसार्ने गरी प्याउलीबजारै रहने भनिएको थियो। तर गाउँपालिकाले अहिले गरेको निर्णयप्रति पालिकास्तरका स्थानीय राजनीतिक दलका नेताहरू पनि प्रलोभनमा परी जनताको आन्दोलन दबाउन खोजिएको अरुण गाउँपालिका वडा नं १, याङपाङका वडाअध्यक्ष रामकुमार तामाङले बताए।
माओवादी केन्द्रले गाउँपालिकाको निर्णय जनताको हितविपरीत भएको बताएको छ। उक्त गाउँपालिकास्तरका आफ्ना नेता तथा कार्यकर्ताबीच पनि गाउँपालिकाको निर्णयप्रति फरक मत देखिएको माओवादी केन्द्र भोजपुरका संयोजक नगेन्द्र भुजेलले बताए।
गाउँपालिका अध्यक्ष खत्रीले कार्यपालिकाको बहुमत गरेको निर्णयअनुसार नै गाउँपालिका केन्द्र सार्न खोजिएको बताए। गाउँपालिकामा नेपाली कांग्रेस पनि दुई भागमा विभाजित छ। त्यस्तै एमाले र माओवादी पनि दुई भागमा विभाजित देखिन्छन्।
प्रतिक्रिया दिनुहोस !