आन्तरिक राजस्वमा प्रगति,भन्सारमा खडेरी

आन्तरिक राजस्वमा प्रगति,भन्सारमा खडेरी
सुन्नुहोस्

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा आएको सुस्ततालाई ध्यानमा राख्दै कार्यभार सम्हाल्नेबित्तिकै कर्मचारी संयन्त्रलाई कम्तीमा लक्ष्यअनुसार नभए पनि गत वर्षको बराबर राजस्व उठाउने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका थिए। तर, यसबीचमा आन्तरिक राजस्व विभागमात्र निर्देशनको नजिक छ।

काठमाडौं : आन्तरिक राजस्व विभागले उठाउने राजस्वमा उल्लेख्य प्रगति भए पनि भन्सारतर्फ भने खडेरी कायमै रहँदा संकलनको गतिमा पुरानै अवस्था देखिएको छ। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको ७ महिना सकिँदा ५ खर्ब १४ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो ७ महिनाको लक्ष्यको ६८.३ प्रतिशत मात्रै हो। पुसको तथ्यांकअनुसार लक्ष्यको ७०.४ प्रतिशत राजस्व संकलन भएको छ।

चालू आर्थिक वर्ष सुरु भएदेखि नै राजस्व संकलनको गति खस्किएको छ। ‘आयात निरुत्साहनका लागि चालिएका कदम, घरजग्गाको कारोबारमा आएको शिथिलता तथा घट्दो सेयर बजारका कारण पुँजीगत लाभकरमा उल्लेख्य कमी आउँदा राजस्वको लक्ष्य र संकलनबीच अन्तर देखिएको छ,’ चालू आवको बजेटको अर्धवार्षिक समीक्षामा भनिएको छ। 

माघ महिनाको मात्र लक्ष्य र असुलीको तथ्यांक हेर्दा स्थिति झन् कमजोर बनेको आँकलन गर्न सकिन्छ। माघको २९ दिनमा सरकारले १ खर्ब २ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा ५५ अर्ब ७० करोड रुपैयाँ (५४.४ प्रतिशत) मात्र संकलन भएको छ। जबकि पुस महिनामा मासिक लक्ष्यको ७०.५ प्रतिशत राजस्व उठेको थियो।

यसरी पुस मसान्तसम्म सरकारले ४ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन गरेकामा माघ मसान्तसम्म ५ खर्ब १४ अर्ब ६९ करोड रुपैयाँ उठाएको छ। माघसम्मको प्रगति वार्षिक लक्ष्यको ३६.७ प्रतिशतमात्र हो। माघसम्म सरकारले ३४ अर्ब ७४ करोड रुपैयाँ अन्य प्राप्तिसमेत जोड्दा वार्षिक लक्ष्य १४ खर्ब ३ अर्ब १४ करोड रुपैया“को ३९.२ प्रतिशतमात्रै हुन आउँछ।

माघमा उठाएको राजस्व गत आवको माघमा उठाएको भन्दा ६ अर्ब रुपैयाँ कम हो। पुसमा सरकारले गत वर्षको सोही महिनाको भन्दा ३ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेको छ। पुसमा सरकारले अत्यधिक गैरकर उठाएकाले प्रगति देखिएको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा आएको सुस्ततालाई ध्यानमा राख्दै कार्यभार सम्हाल्नेबित्तिकै कर्मचारी संयन्त्रलाई कम्तीमा लक्ष्यअनुसार नभए पनि गत वर्षको बराबर राजस्व उठाउने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका थिए। तर, यसबीचमा आन्तरिक राजस्व विभागमात्र निर्देशनको नजिक छ।

कर उठाउने जिम्मा पाएका आन्तरिक राजस्व विभाग र भन्सार विभाग अर्थ मन्त्रालयका मुख्य निकाय हुन्। वैदेशिक व्यापारमा सुस्तता आउँदा दुईमध्ये भन्सारले उठाउने राजस्वमा खडेरी देखिएको हो।

भन्सार विभागका अनुसार माघमा पुसको भन्दा १ अर्ब ४२ करोड रुपैयाँ कमको वस्तु आयात भएको छ। जसबाट २ खर्ब १२ अर्ब १३ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। माघसम्मको आयात गत आवको भन्दा २० प्रतिशत कम हो।

राजस्व व्यवस्थापन सूचना प्रणालीमा भएको तथ्यांकअनुसार भन्सार विभागले ७ महिनामा गत आवको सोही अवधिभन्दा ३३.१ प्रतिशत कम राजस्व संकलन गरेको छ। जवकि ६ महिनामा राजस्व संकलन गत आवको सोही अवधिभन्दा ३१.८ प्रतिशतले घटेको छ।

यता, आन्तरिक राजस्व विभागतर्फको वृद्धिदर पुससम्म १.६० प्रतिशतले ऋणात्मक रहेकामा माघसम्म सुधार आएर १.४८ प्रतिशतले ऋणात्मक छ। माघ महिनामा भन्सार महसुल मासिक लक्ष्यको ४७.१ प्रतिशत अर्थात् १३ अर्ब १५ करोड रुपैयाँमात्र संकलन भएको छ। जबकि पुसमा मासिक लक्ष्यको ५१.४ प्रतिशत अर्थात् १५ अर्ब ३४ करोड रुपैयाँ उठेको छ।

आन्तरिक राजस्वतर्फ सुधार

आन्तरिक राजस्व विभागले माघ महिनामा उल्लेख्य प्रगति गरेको छ। विभागले उठाउने उत्पादन, बिक्री र सेवातर्फको कुल मूअक (मूल्य अभिवृद्धि कर) लक्ष्यको ९५.२ प्रतिशत संकलन भएको छ। आन्तरिक उत्पादनको अन्तःशुल्क भने लक्ष्यको ५६.९ प्रतिशतमात्रैे छ।

माघसम्म संकलन गरेको ६० अर्ब २२ करोड रुपैयाँ मूअक (आन्तरिक उत्पादन, बिक्री र सेवातर्फको ) लक्ष्यको ८३.३ प्रतिशत हो। यो गत आवको सोही अवधिको संकलनभन्दा ३.२ प्रतिशत कम हो। यस्तै ६० अर्ब रुपैयाँ अन्तःशुल्क (आन्तरिक उत्पादनतर्फको) लक्ष्यको ८५.१ प्रतिशत र गत आवको माघसम्मको संकलनभन्दा ३.९ प्रतिशत बढी हो।

आन्तरिक राजस्व विभागले माघमा १६ अर्ब ४३ करोड रुपैयाँ आयकर उठाएको छ। जुन लक्ष्यको ८२.६ प्रतिशत हो। माघसम्मको कुल आयकर १ खर्ब ३३ अर्ब २२ करोड रुपैया“ पुगेको छ। यसलाई ७ महिनाको लक्ष्यसँग तुलना गर्दा ७५.२ प्रतिशत हुन आउँछ।

जबकि पुसमा मासिक लक्ष्यको ६६.५ प्रतिशत आयकर संकलन भएको होे। पुससम्मको आयकर लक्ष्यको ७४.३ प्रतिशतमात्र छ। आन्तरिक राजस्व विभागले ७ महिनामा कुल २ खर्ब ५४ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठाएको छ।

करमा स्वेच्छिक सहभागिता
-दीर्घराज मैनाली महानिर्देशक, आन्तरिक राजस्व विभाग 
राजस्व परिचालनलाई प्रभावकारी बनाउन मातहतका कार्यालयलाई जवाफदेही ढंगले काम गर्न निर्देशन दिएका छौं। व्यवसायीलाई पनि कर तिर्न पे्ररित गरिरहेका छौं। सुधार गर्ने क्रममा ‘राइट ट्याक्सेसन’को अभ्यास गरिरहेका छौं। 
करमा स्वेच्छिक सहभागिता हुनुपर्छ। आय विवरण पनि सही ढंगले प्राप्त भएको अनुभूति गरेका छौं। कर्मचारीमा पनि सकारात्मक भाव देखिएको छ। यसको प्रभाव राजस्व संकलनमा सामान्य सुधार देखिएको छ। 
संकलनको क्रम ‘नेगेटिभ’ भइरहेका बेला हाम्रो प्रयासले ‘पोजिटिभ’ हुन थालेको छ। यसमा सरकार, अर्थ मन्त्रालय नेतृत्व, कर्मचारी र निजी क्षेत्रको बराबर साथ छ। राजस्व बढ्दै गर्दा सहज परिस्थिति सिर्जना हुने आशा पैदा भएको छ। 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.