तलब नपाएपछि बृहत्तरको कार्यालयमा ताला
बृहत्तरले समयमा प्रगति विवरण समेत पेश नगरेकोले तलब निकासामा समस्या भएकोले तलब पाउन नसकेको गुनासो गरे ।
जनकपुरधाम : बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहको कार्यशैलीबाट असन्तुष्ट हुँदै कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेका छन्। अध्यक्ष साहको मनोमानीका कारण आफूहरुले विगत ५ महिनादेखि तलब पाउन नसकेको भन्दै कर्मचारीहरुले कार्यालयमा ताला लगाएका हुन्।
प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादवले कार्तिक महिनादेखि नै तलब पाउन नसकेकोले घरपरिवार चलाउन समस्या हुँदा बाध्य भएर कार्यालयमा तालाबन्दी गरेको बताए। उनले बृहत्तरका अध्यक्ष साहले संस्थाको उद्देश्य विपरीतका कामहरु गरिरहेको बताउँदै अध्यक्षको कार्यशैलीबाट कर्मचारीहरु पनि पीडित बनेको बताए।
अध्यक्ष साहले सम्पूर्ण कार्यकारी अधिकार आफूसँगै राखेको र कार्यालयको दर्ता चलानी पनि प्रशासन मातहत नभई अध्यक्षको सचिवालयमै रहेकोले कर्मचारीलाई काम गर्न कठिनाई भइरहेको आरोप लगाए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको यस संस्थाले मन्त्रालयसँग समयमा तलब निकासाका लागि माग नगरेकोले अहिलेको अवस्था सिर्जना भएको बताए।
संस्था मातहतका १५/२० वटा योजनाहरु मध्ये आर्थिक मसान्त समाप्त हुन ४ महिना बाँकी रहँदा कुनैपनि योजनाको काम सुरुवात हुन नसकेको जानकारी दिए। बृहत्तरले समयमा प्रगति विवरण समेत पेश नगरेकोले तलब निकासामा समस्या भएकोले तलब पाउन नसकेको गुनासो गरे। उनले बृहत्तरमा अध्यक्ष शीतल साह आएसँगै कर्मचारीहरूलाई तलबका लागि आन्तरिक रुपमा संघर्ष गर्नुपर्ने अवस्था उत्पन्न भएको गुनासो गरे।
अध्यक्ष साहले एक नम्बरमा रहेका नासु संजय कुमार मण्डललाई नभई उनीभन्दा कनिष्ठ नासु अशोक कुमार ठाकुरलाई लेखापालको जिम्मेवारी दिएकोले अध्यक्षकै निर्देशनानुसार लेखापालले पनि काम गरिरहेको जितेन्द्रले बताए। फागुन ५ गते परिषद्का अध्यक्ष साहको अध्यक्षतामा कर्मचारी बैठकमा निर्णयनुसार कर्मचारीको तलब होली पर्व अगाडि खुवाउने निर्णय सर्वसम्मतबाट गरिएपनि हालसम्म तलब नपाएको भनाइ छ।
आर्थिक वर्षमा हुने पूँजिगत काम सम्बन्धी योजना शाखाको काम हालसम्म शुन्य रहेको र प्राविधिक शाखामा खटिएको कर्मचारीहरूको म्याद थप नगरेकोले सम्बन्धित निकायबाट निकासा लिन जाँदा प्रगति समेत नदेखिएकोले हालसम्म दोस्रो र तेस्रो निकासा नदिइएको यादवले बताए। उनले अध्यक्ष साहले अधिकारको दुरुपयोग गरी दर्जनौं कामहरु गरेको समेत आरोप लगाए।
अध्यक्ष साहले आव २०७९/८० मा चाडपर्व शिर्षकमा ३ लाख विनियोजन रकममध्ये २५ लाख रुपैयाँ आन्तरिक कोष तथा पूँजिगत शिर्षकबाट खर्च गरेको बताए। ईन्धन शिर्षकमा मात्र ३ लाख रकम विनियोजन भएकोमा पूँजिगत कार्य शुन्य रहेपनि ५ लाखभन्दा बढी खर्च गर्नुका साथै सम्पर्क कार्यालय काठमाडौंमा नरहेपनि परिषद्का लेखापाललाई अध्यक्ष साहले काठमाण्डौं सरुवा गरेको यादवको भनाइ छ।
जानकी मन्दिर नजिक रघुपति मिष्ठान भण्डारको छेउमा डिजिटल डिस्प्ले बोर्ड योजना स्वीकृत नभई आफुखुसी जडान गराउनुका साथै प्रचार–प्रसारका लागि अन्य व्यक्तिको नम्बर उल्लेख गरिएको उनले बताए। निमित्त कार्यकारी निर्देशक चिरन्जीवीराज ढुङ्गानाले पेश्की स्वरुप नियम विपरित २ लाख रुपैयाँ लिई आफ्नो निजी काममा खर्च गरेको र कर्मचारीको तलब दिन आनाकानी गरिरहेको गुनासो छ। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अहिले २४ जना कर्मचारी कार्यरत छन्।
प्रतिक्रिया दिनुहोस !