स्याङ्जाको गल्याङमा कृषि प्रदर्शनी हुने

स्याङ्जा : स्याङ्जाको गल्याङ् नगरपालिकामा दुईदिने कृषि प्रदर्शनी गरिने भएको छ। चेम्बर अफ कमर्स गल्याङ्ले चैत्र ३ र ४ गरी दुईदिने आलुसहित कृषि प्रदर्शनी गर्ने भएको हो।
पत्रकार सम्मेलनगरी च्याम्बरका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले किसानलाई कृषि पेशामा प्रोत्साहन गर्ने उदेश्यले प्रदर्शनीको आयोजना गर्न लागेको जानकारी गराए। उनले भने, ‘गण्डकी प्रदेशमै ६५ प्रतिशत आलुको बीउ गल्याङमा उत्पादन हुन्छ।’ कृषिमा आत्मनिर्भर बनाई युवालाई रोजगारको वातावरण समेत बनाउने लक्ष्य लिएको उनले जनाए।
प्रर्दशनीमा आलु, तरकारी, तरकारीको बिउ, बिरुवा, धान, गहुँ, मकै, अदुवाको बीउ प्रदर्शनीसहित खरिद बिक्री गर्न सकिने भएको छ। गल्याङ्को जिमुवा आलु उत्पादनको पकेट क्षेत्र हो। यहाँका किसानले सामुहिक तथा व्यक्तिगतरूपमा २०६६ सालदेखि व्यवसायिक आलु खेती गर्दै आएका छन्। यहाँबाट मात्र बर्सेनि ३ देखि ४ सय टन आलुका बीउ मात्र बिक्री गरिन्छन्।
प्रवेश निशुल्क र प्रदर्शनीमा कृषिका २० वटा स्टल राखिने प्रर्दशनी संयोजक रुमलाल कडेंलले जानकारी दिए। गल्याङ नगरपालिका ३ स्थित खेल मैदानमा हुने भएको छ। प्रदर्शनी सम्पन्न गर्नका लागि १०१ सदस्यीय मूल समिति र विभिन्न १४ वटा उपसमिति पनि गठन गरिएका छन्।
प्रदर्शनीमा १० लाखको व्यापारिक कारोबार गरी ८० हजार बचत गर्ने आयोजकको दावी छ। आन्तरिक तथा बाह्यगरी १० हजार अवलोकनकर्ता सहित खरिदकर्ता भित्र्याउने लक्ष्य छ।
प्रर्दशनीलाई मनोरंजनात्मक बनाउन बिद्यालय स्तरीय नाचगान सहित ख्यातिप्राप्त लोकगायकको समेत प्रस्तुति राखिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !
