नुवाकोटमा उत्कृष्ट ४३ जना सासु-बुहारी सम्मानित
नुवाकोट : बेलकोटगढी नगरपालिकाले उत्कृष्ट सासुबुहारीलाई सम्मान गरेको छ। नगरपालिकाले आफ्नो १३ वडाका ४३ जना सासु-बुहारीलाई सम्मान गरेको हो ।
सासु तथा बुहारीहरू जो घरायसी काममा व्यस्त हुने गर्दछन्,उनीहरूको कामको योगदानलाई कदर गर्दै स्थानीय सरकारले सम्मान गरेको हो ।
नगरपालिकाले तोकेका मापदण्डमा परेका सासु- बुहारीलाई सम्मान गरिएको मेयर जगतबहादुर गुरुङले बताए। लैङ्गकि हिंसा र घरेलु हिंसा नभएको परिवारको सदस्य,छोरा,छोरी र बुहारीमा विभेद नभएको, परिवारका सबै सदस्यहरू शिक्षा र स्वास्थमा पहुँच पुगेको,बाल विवाह नभएको घर,बालबालिका र जेष्ठ नागरिकको श्रम शोषण नभएको घर ,बालबालिका र जेष्ठ नागरिकको श्रम शोषण नभएको र सासु बुहारीको आमाछोरीको जस्तो व्यवहार भएको मापदण्डको आधारमा १३ वडाबाट उत्कृष्ट सासु बुहारीलाई सम्मान गरिएको मेयर गुरुङले बताए।
“लैंगिक समानताको बलियो आधार , सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने नाराको साथ मेयर गुरुङले सासु बुहारी सम्मानले महिलाले आ-आफ्नो घर तथा समुदायमा गर्ने काममा अझै परिपक्वता आउने र समाजलाई हिंसामुक्त राख्न पनि भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बेलकोटगढी नपाका १३ वडाका सहकारी तथा किशोरी समूहबीच लोकदोहोरी प्रतियोगिता समेत गरिएको थियो । लोक दोहोरी प्रतियोगितामा बेलकोटगढी नपा वडा नं ३ को प्रगतिशील महिला समूह प्रथम भएको थियो । दिपशिखा सहकारी महिला विकास समूह दोस्रो भयो।
चिम्टेश्वर आमा समूह तेस्रो भएसँगै रातमाटे महिला समूहले सान्त्वना पुरस्कार पायो । प्रतियोगितामा प्रथम भएको समूहले नगद ५ हजार, दोस्रोले ३ हजार, तेस्रो भएको समूहले २ हजार रुपैयाँ र सान्त्वना भएको समूहले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !