तीन वटै क्याम्पसमा शान्तिपूर्ण स्ववियु निर्वाचन
उदयपुर : उदयपुरका तीन वटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ।
आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान ४ बजे सम्पन्न भएको हो। जिल्लाका सातवटा क्याम्पसमध्ये सदरमुकामस्थित त्रियुगा जनता बहुमुखी क्याम्पस, बरुवा क्याम्पस र चौदण्डीगढी नगरपालिकास्थित नारद आर्दश बहुमुखी क्याम्पस बसाहामा स्ववियु निर्वाचन भएको छ।
बाँकी उदयश्री बहुमुखी क्याम्स कटारी, रौता जनता क्याम्पस मुर्कुची, ज्योति बहुमुखी क्याम्पस बेल्टार र बेलका क्याम्पस भने नयाँ क्याम्पस भएकाले निर्वाचन भएन्। निर्वाचन भएकामध्ये त्रियुगा जनता बहुमुखी क्याम्पस सबै भन्दै ठुलो क्याम्पस हो।
त्रियुगामा दुई हजार १ सय ३१ मतदाता रहेका छन्। जसमध्ये एक हजार ६४ प्रत्यक्षतर्फ मत खसेको छ भने समानुपातिकतर्फ एक हजार ६० मत खसेको निर्वाचन अधिकृत उमेश पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार सर्वदलीय बैठकको तयारी भइरहेको र बैठकपश्चात तत्काल गणना सुरु गरिनेछ। बरुवा क्याम्पसमा ५ सय ५२ मतदाता रहेकोमा प्रत्यक्षतर्फ ३ सय २४ मत खसेको निर्वाचन अधिकृत कृपाराम चौधरीले जानकारी दिए।
उनका अनुसार समानुपातिक र प्रत्यक्ष दुवै तर्फ बराबरी मत खसेकोछ। बरुवा क्याम्पसमा पनि केहीबेरमा नै मतगणना सुरु गरिने जनाइएको छ।
यसैगरी नारद आदर्श क्याम्पस बसाहमा पनि केहिबेरमा मतगणना हुने जनाइएको छ। निर्वाचन अधिकृत बाबु काजी थापा मगरका अनुसार २ सय ६ जना मतदाता रहेकोमा प्रत्यक्ष र समानुपाति दुवैतर्फ बराबरी १ सय ८१ मत नै खसेको छ।