प्रतिबन्ध खुलेसँगै आयात आकाशियो
काठमाडौं : विलासिताका वस्तुको प्रतिबन्ध फुकुवापछि आयात अकासिएको छ। निर्यात भने ओरालो लागेको छ। फागुनमा १ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँको आयात हुँदा निर्यात भने ११ अर्ब ३६ करोडको मात्रै भएको छ।
सरकारले पुस १ गतेदेखि विलासिताका वस्तुको प्रतिबन्ध हटाएसँगै राष्ट्र बैंकले अनिवार्य नगद मार्जिन हटाएको थियो। जसको परिणाम देखिन थालेको हो। भन्सार विभागको तथ्यांकअनुसार फागुनको वस्तु आयात भदौयताकै सबैभन्दा बढी हो।
चालू आर्थिक वर्षको हालसम्मको अवधिमा भने दोस्रो उच्च हो। यसअघि भदौमा १ खर्ब ४२ अर्ब ३१ करोड मूल्यको सामान भित्रिएको थियो। विभागका अनुसार माघभन्दा फागुनमा १३ अर्ब बढीको वस्तु विदेशबाट आएको हो।
सरकारले गत वैशाखमा विलासिताका वस्तु भित्र्याउन रोक लगाएपछि चालू आवको पहिलो महिनादेखि असर देखिन थालेको थियो। दसैं–तिहारमा उपभोग बढ्ने भएकाले भदौमा केही बढी मूल्यको भित्रिएको थियो। त्यसयता आयातमा लागेको अंकुश सरकारले पुस १ देखि लागू हुने गरी खोलेको थियो।
राष्ट्र बैंकले आयातमा प्रवाह हुने कर्जामा अनिवार्य नगद मार्जिन माघ ५ गते हटाएको थियो। त्यससँगै फागुनदेखि पूर्ववत् तरिकामा पुगेपछि आयातको परिमाण अकासिएको हो।
विभागको तथ्यांकअनुसार असोजमा १ खर्ब २७ अर्ब, कात्तिकमा १ खर्ब ३१ अर्ब, मंसिरमा १ खर्ब ३२ अर्ब, पुसमा १ खर्ब २७ अर्ब र माघमा १ खर्ब २६ अर्बको आयात भएको छ।
समीक्षा अवधिमा कुल १० खर्ब ५८ अर्बको वस्तु आएको हो। जुन त अघिल्लो आवको तुलनामा २९ प्रतिशत कम हो। यस अवधिमा सबैभन्दा बढी डिजेल ९९ अर्ब, पेट्रोल ४४ अर्ब, एलपी ग्यास ३९ अर्ब, सुन ३६ अर्ब, कच्चा भटमास तेल २८ अर्ब, स्पन्ज आइरन २७ अर्ब र कच्चा पाम तेल २० अर्ब रुपैयाँको आएको छ।
निर्यात भने सात महिनामा बल्ल १ खर्ब नाघेको छ। गत आर्थिक वर्ष भने पाँच महिना अर्थात् मंसिर मसान्तसम्मै १ खर्बको सामान बाहिरिएको थियो। अहिले सात महिनामा मुस्किलले १ खर्ब ४ अर्ब ७९ करोड पुगेको विभागको तथ्यांकले देखाएको छ।
साउनमा १४ अर्ब ८० करोड, भदौमा १३ अर्ब ८७ करोड, असोजमा १३ अर्ब १३ करोड, कात्तिकमा १२ अर्ब ९५ करोड, मंसिरमा १२ अर्ब ५३ करोड, पुसमा १३ अर्ब ५० करोड, माघमा १२ अर्ब ६२ करोड मूल्यको सामान निर्यात भएको छ।
सबैभन्दा बढी बाहिर पठाइने वस्तु प्रशोधित पाम र भटमास तेल हुन्। यस अवधिमा १३ अर्ब रुपैयाँको प्रशोधित पाम तेल र साढे ८ अर्बको प्रशोधित भटमास तेल निर्यात भएको छ। यस्तै ७ अर्बको कार्पेट र ६ अर्ब रुपैयाँको अलैंची निर्यात भएको विभागको तथ्यांक छ।