खेत पनि छैन, अब के खाने ?
रामेछाप : गत असोजमा गएको बाढीपहिरोले रामेछाप जिल्ला पनि अछुतो रहन सकेन। अझ कतिको त मानो रोपेर मुरी फलाउने खेतसम्म छैन। यस्तै भएको छ नबुघाटवासीलाई। आफ्नो नाममा भएको १५ रोपनी खेत र बारी असोज १२ मा सुनकोशीमा आएको बाढीले बगाएपछि मन्थली नगरपालिका— ६ नबुघाटकी नीता माझीलाई अहिले खेतमा काम बित्यो भन्ने पिरलो छैन। पिरलो छ त ७ जनाको परिवार कसरी पाल्ने ?
बाढी गएको पाँच महिना भएको छैन। तर नीताको भकारी रित्तिइसक्यो। घरमा गेडो अन्न छैन। घरका स्कुल जाने चार छोराछोरी र वृद्ध अवस्थाका सासू, ससुरालाई मुखमा माड हाल्न कता जाउँ के गरौं भन्ने पिरलो छ। ऋण गर्दै धोक्राको चामल र अरू बेसाहा खोजेर धान्नु पर्दा माझी चिन्तित हुँदै गएकी छिन्।
नजिकैको खुर्कोट बजारमा पुगेर धोक्रामा अन्न बेसाउँदा ऋण काड्नुपर्ने बाध्यता छ। बास बस्ने घर र आगो बाल्ने दाउराबाहेक अहिले नबुघाट माझीले अरू मेरो भन्ने केही छैन। मन्थली नगरपालिकाको सबैभन्दा दक्षिणपूर्वी कुनाको झुरुप्प माझी बस्तीमा झन्डै ५० परिवारको बसोबास छ। ती सबै परिवारको पीडा नीता माझीको भन्दा फरक छैन। ‘असोज १२ गते नबुघाटको लागि कालो दिन बनेर आइदियो’, स्थानीय बद्रीबहादुर माझी भन्छन्, ‘बाढीले सबैको बालीसहितको खेत पुरिदियो। अहिले सेतो बालुवाको बगर मात्र छ। कसको जग्गा कता हो ? भन्ने कुराको टुंगोसमेत छैन।’ माझी ठूलो बालुवाको बगरको बीच भागमा उभिएर साँध छुट्ट्याउन खोज्छन्, तर यकिन सिमाना उनलाई अझै थाहा छैन। जता पनि बालुवाको थुप्रै, थुप्रोमात्र छ। ‘यतै पथ्र्यो मेरो जग्गा’, हातले इशारा गर्दै उनले भने।
सुनकोशीको बाढीले पारेका ठूला खाडल अनि बालुवाको ढिस्को अहिले पनि नबुघाटमा जस्ताको तस्तै छन्। ‘अब बालुवा फालेर जग्गा बनाइदियो भने खेती गरौंला भन्ने आशा त छ’, स्थानीय चक्रबहादुर माझी भन्छन्, ‘अन्त गाउँमा पहिले खेती गरिआएको जग्गामा कोशी हिँडेको छ, धन्न नबुघाटको चाहिँ बालुवाले छोपिदिएर छिडिदियो। जग्गा पहिलोको जस्तै बन्ला अनि खेती गरौंला भन्ने माझीलाई आशा लागे पनि उक्त कार्य गर्न स्थानीयको बुताबाट सम्भव छैन।’ गत वर्ष नबुघाटको जग्गामा स्थानीयले खर्बुजा उत्पादन गरेका थिए। बलौटे कमलो माटो भएकाले कृषि प्राविधिकले खर्बुजा लगाउन सुझाए। नभन्दै खर्बुजा मज्जाले फल्यो पनि।
यस वर्ष पनि अब खर्बुजाको दल राख्ने सुरसार माझीले गरेका छन्। ‘दल राखौंला। रोप्ने स्थान भएन भने के गरौंला ? ’, माझी भन्छन्, ‘त्यसबेलासम्म जग्गा बनाइदिने आशा लागेको छ।’
बाढीले बगर बनाएको नबुघाटको झन्डै पाँच सय रोपनी जग्गामा थुप्रिएको बालुवा पन्छाउँदा पहिलेको खेतबारीको माटो भेटिने विश्वास माझी परिवारमा छ। त्यही आशामा उनीहरूले मन्थली नगरपालिकामा योजनासमेत माग गरेका थिए। नगरपालिकाले उक्त कार्यका लागि ६ लाख रुपैयाँ विनियोजन गरेको छ। वडाध्यक्ष अशोक तामाङ भन्छन्, ‘विनियोजन भएको बजेटले बालुवा पन्छाएर पहिलेको जमिन देखिने बनाउन पुग्ने अवस्था छैन, जति पुग्छ अब काम थाल्ने सोचमा छौं।’
५० परिवारको बसोबास रहेको नबुघाटमा भएको जग्गा त्यत्ति नै हो। पाखोमा जसको जग्गा छ, त्यसमा पनि अधिकांशमा खेती छैन। खानेपानीका लागि ल्याएको पानी जम्मा गरेर थोरैले करेसाबारी हरियो पारेका छन्।
बाढीले सिँचाइ प्रणाली लथालिंग पारेको छ। बगरको छेउमा सिँचाइका लागि पानी तान्न बनाइएको इनार पुरिदियो। केही रिङ उचालेर फालिदियो र प्यानलबोर्ड भएको घर भत्काएर लग्यो। मेसिन पुरिएको अवस्थामा होला भन्ने अनुमान स्थानीयले गरेका छन्। तर खोतलेर हेरेका छैनन्। बाढीले बिजुलीका केही पोल भाँचिदियो। बाँकी रहेका पोल झन्डै आधा पुरिएका अवस्थामा होचा देखिएका छन्। सिँचाइका लागि प्रयोग भएका ठूल्ठूला पोलिथिनका पाइप र सिमेन्ट जोडाइको नहर बगाइदिएको छ।
‘पहिले जग्गा बनाऊ, त्यसपछि सिँचाइको प्रबन्धका लागि लागौंला’, तीन दशकअघि जनप्रतिनिधिसमेत रहेका स्थानीय ज्येष्ठ नागरिक काले माझी भन्छन्, ‘विपत्ति लाग्यो, अहिलेसम्म नपसेको कोशी नबुघाटमा पस्यो।’ बाढी गएको चार महिना बितिसक्दा पनि गाउँमा सहयोग गर्ने कोही नआएकोमा माझी चिन्तामा छन्। गाउँमा कोही नौलो मानिस देख्नासाथ माझी राहतको आशा गर्छन्। तपाईंहरूले के राहत लिएर आउनु भयो त ? नबुघाट पुगेका सञ्चारकर्मीसँग काले माझीले भने, ‘एक बोरा चामलबाहेक यतिन्जेलसम्म केही पाइएन गाँठे।’
प्रतिक्रिया दिनुहोस !