वडाको सिफारिसमा त्रुटि नै त्रुटि

वडाको सिफारिसमा त्रुटि नै त्रुटि
सिफारिस त्रुटिका कारण नागरिकता नबन्ने भएपछि निरास बनेका शिवनाथ गाउँपालिका – २ का वीरसिंह साउद र उनका छोरा । कृष्ण बिष्ट
सुन्नुहोस्

२ हजारमा जिप रिजर्भ गरेर सदरमुकाम पुगेका वीरसिंह साउदसँगै अन्य तीनजना सेवाग्राही रित्तो हात फर्किए। ‘ग्रामीण सडकमा यातायात चल्दैन, समूह बनाएर जिप बुकिङ गरेर आएका हौँ’ साउदले भने।

बैतडी : बैतडीको शिवनाथ गाउँपालिका–२ का वीरसिंह साउद छोराको नागरिकता बनाउन आइतबार जिल्ला प्रशासन कार्यालय पुगे। उनीसँगै मनिषा साउद र दुई जना अन्य सेवाग्राही थिए। तर वडा कार्यालयले पठाएको सिफारिसमा व्यापक त्रुटि भेटिएपछि नागरिकता नबनाएरै फर्किए। 

१२ हजारमा जिप रिजर्भ गरेर सदरमुकाम पुगेका वीरसिंह साउदसँगै अन्य तीनजना सेवाग्राही रित्तो हात फर्किए। ‘ग्रामीण सडकमा यातायात चल्दैन, समूह बनाएर जिप बुकिङ गरेर आएका हौँ’ साउदले भने। ‘वडा कार्यालयले सिफारिस गर्दा त्रुटि गरेपछि नागरिकता नबनाएरै फर्किनु पर्‍यो।’

वीरसिंह साउदका छोरा विशाल साउदको नागरिकताको सिफारिसमा विद्यालयको विद्यार्थी परिचयपत्रमा प्रयोग गरिएको रातो फ्रेमको फोटो थियो भने अर्की सेवाग्राही मनिषा चन्दको सिफारिसमा वडा कार्यालयको छापसमेत थिएन। यसैगरी सोही वडाका अर्का सेवाग्राहीको कागजातमा जन्ममिति फरक भएको थियो। 

मेलौली नगरपालिका–२ का सन्तोष भाट पनि वडा कार्यालयको सिफारिसमा भएको त्रुटिका कारण घर फर्किए। नागरिकताका लागि बिना कलरको साधा फोटो टाँसेर जिल्ला प्रशासन कार्यालय पुगेका भाटलाई प्रशासनको नागरिकता फाँटमा कार्यरत कर्मचारीहरूले फर्काइदिए। ‘वडा सचिवले यसै फोटोमा सिफारिस बनाइदिए, वडाध्यक्षले पनि दस्तखत गरे, फोटो बदल्नुहोस् भनेको भए त्यही बदलेर आउथ्यौँ, अब रित्तै फर्किनु पर्‍यो’ सन्तोषले दुःखेसो पोखे। 

त्रुटि भएका नागरिकताका सिफारिस हेर्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले वडासचिव र जनप्रतिनिधिहरूको कमजोरीका कारण सेवाग्राहीले दुःख पाएको बताए। ‘सामान्य सिफारिसमा समेत व्यापक त्रुटि गरिरहेका छन्, यस्ता कमजोरीका घटनाहरू धेरै आइरहेका छन्, बिनाछापको सिफारिस पठाउनु ठूलो कमजोरी हो’ प्रमुख जिल्ला अधिकारी पन्थीले भने।

घटना दर्तालगायत सिफारिसका सम्बन्धमा जनप्रतिनिधि र कर्मचारीलाई बेलाबेला तालिम तथा सूचनामार्फत जानकारी गराउँदागराउँदै पनि त्रुटि हुने क्रम नरोकिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए। ‘हामीले फागुन २५ गतेदेखि २७ गतेसम्म वडासचिव र सचिवहरूलाई घटना दर्ताको सम्बन्धमा तालिम दियौँ,’ फेरि पनि त्रुटि भइरहेको छ। 

वडाको सिफारिसमा देखिएको त्रुटिका कारण दैनिकजसो सेवाग्राहीहरू घर फर्किने गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकर बोहराले बताए। ‘फोटोमा हल्का नीलो वा सेतो फ्रेमको फोटो ल्याउन भनिरहेका हुन्छौँ, तर सिफारिसमा कहीँ रातो फोटो र अनुहार नै नदेखिने साधा फोटोसहितको सिफारिस पठाउँछन्, अनि सेवाग्राही फर्किन्छन्।’ सिफारिसका सम्बन्धमा स्थानीय तह र वडा पालिकालाई दुई पटक पत्राचार गर्दा पनि नसच्याउने गरेको सूचना अधिकारी बोहराले बताए। 

शिवनाथ गाउँपालिका –२ का वडाध्यक्ष सुरेन्द्रसिंह साउदले वडा कार्यालयबाट सिफारिस प्रदान गर्दा कमजोरी भएको स्वीकार गरे। ‘कर्मचारीहरूका कारण कमजोरी भयो, अबदेखि हुँदैन,’ उनले भने। बेलाबेला भइरहने यस्तै कमजोरीलाई कम गर्न शिवनाथ गाउँपालिकाले पनि वैशाख १ गतेदेखि घटनादर्ता सप्ताहको आयोजना गर्ने भएको छ। 

वडासचिव र वडाध्यक्षहरूसँग अन्तरक्रिया र घटना दर्ता अभियान नै चलाउने तयारी थालिएको शिवनाथ गाउँपालिकाका सूचना अधिकारी महेश महताले जानकारी दिए। ‘यस्ता कमजोरी धेरै हुन थाले, वैशाख पहिलो साता घटनादर्ता अभियान चलाउँदै छौँ, आगामी आर्थिक वर्षमा घटनादर्तासम्बन्धी सचेतनाका कार्यक्रम पनि गर्ने तयारीमा छौँ’ अधिकारी महताले भने। 

शिवनाथ गाउँपालिकाका ६ वटै वडामा प्राविधिकहरूले वडासचिवमा काम गरिरहेका छन्। कर्मचारी अभावकै कारण वडा प्राविधिकहरूलाई सचिवको जिम्मवारी दिइएको शिवनाथ गाउँपालिकाले जनाएको छ। 

जिल्लाका ८४ वडा कार्यालयमध्ये ६० भन्दा बढी वडा कार्यालयमा करारका कर्मचारीले सचिवको जिम्मेवारी सम्हालेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। कर्मचारी अभावका कारणले पनि सेवाग्राहीहरूले समस्या भोग्नु परेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.