माटो परीक्षणबारे कृषकलाई जानकारी नै छैन
इलाम : जिल्लाको माङ्सेबुङ गाउँपालिका-२ का माइकल राईको पेशा ‘कृषि’ हो। उनको बारीमा आलु, मकै, फल्छ। तर, बर्सेनि उत्पादन ओरालो लागेको छ।
स्थानीय सिता राईको भोगाई पनि उस्तै छ। उनी भन्छिन् ‘पहिले जस्तो उत्पादन नै हुँदैन।’ जती मेहनत गरे पनि उत्पादन हुन छाडेपछि घर चलाउन धेरै युवा विदेशिएका छन्। जो गाउँमा बसेका छन् उनीहरू एक स्वरमा भन्छन् ‘उत्पादन बढाउने उपाय र सजिलो बजार चाहिएको छ।’
कृषि ज्ञान केन्द्र इलामका अनुसार इलामका खेतीयोग्य जमिनमा अम्लियपना बढ्दै गएको छ। माटोमा अम्लियपन बढ्पछि बिरुवाले माटोबाट लिनुपर्ने खाद्यतत्व लिन सक्दैन। इलामका अधिकांस गाउँका किसानले जस्तै माङ्सेबुङका अधिकांश कृषक अहिलेसम्म एक पटक पनि माटो परीक्षण गराएको छैनन्।
माङसेबुङ गाउँपालिका-२ को आर्थिक सहयोगमा शेर्पा मल्टी ट्रेनिङ्ग सेन्टरको आयोजनामा सञ्चालन भएको ३ दिने बेमौसमी तरकारी खेती तालिममा सहभागी ४० जना कृषकले आफूलाई माटो परीक्षणका बारेमा थाहा नभएको सुनाए। स्थानीय सुनिता राईले भनिन् ‘खेती गरेको यतिका वर्ष भयो, माटो परीक्षण गराउनु पर्छ भन्ने पहिलो पटक सुनियो।’
आयोजकले तालिमकै अवसरमा किसानको माटोको ‘पिएच’ परीक्षण गरिदिएपछि स्थानीय दंग परे। स्थानीय गणेश राईले सुनाए ‘यती मात्रै पनि हाम्रो लागी अवसर हो, माटोमा पिएचको अवस्थाबारे जानकारी भयो।’
व्यावसायिक तरकारी खेती प्रविधिबारे तीन दिन छलफल गरेपछि उनीहरूले मल, माटो, नर्सरी व्यवस्थापन, जातको छनौट, रोग किरा व्यवस्थापन लगायतका विषयमा पहिलो पटक जानकारी पाएको आयोजक संस्थाका स्थानीय प्रतिनिधि बालकृष्ण बस्नेतले बताए।
माङ्सेबुङका ६ वटै वडामा व्यावसायिक तरकारी खेतीको सम्भावना देख्ने वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण बहादुर बस्नेत भन्छन् ‘नागरिकलाई कृषिमा निर्वाहमुखी बाट व्यावसायिक कृषक बनाउन योजनावद्ध कामको जरुरी छ।’
उनले गाउँपालिका किसानका समस्या समाधान गर्न अहिले क्षमता विकासका काममा केन्द्रित भएको बताए। गाउँघरमा अहिले पनि कृषिका आधुनिक प्रविधिहरू पुगेका छैनन्। वडाध्यक्ष बस्नेत भन्छन् ‘किसानको मागमा आधारित भएर प्रविधि हस्तान्तरणका नयाँ कार्यक्रम अघि सार्ने प्रयासमा छौं।’ उनले प्लाष्टिक टनेल खेतीमा पनि आगामी वर्ष लगानी गर्ने बताए।
प्रतिक्रिया दिनुहोस !