सुत्केरी र शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव, आफन्तले शव बुझेनन्

सुत्केरी र शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव, आफन्तले शव बुझेनन्
सुन्नुहोस्

धनगढी : कैलालीको मालाखेती अस्पतालमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरु भएको दुई हप्ता नपुग्दै आमा र शिशुको मृत्यु भएको छ। 

गोदावरी नगरपालिका-३ मा रहेको अस्पतालमा सोही नगरपालिका वडा नम्बर २ अत्तरियाकी २८ वर्षीया लक्ष्मी भट्टराई र उनका नवजात शिशुको सोमबार मृत्यु भएको हो।

आफन्तहरूका अनुसार लक्ष्मीलाई अस्पतालले चैतको १८ गते सुत्केरी समय दिएको थियो। अस्पतालले तोकेको समयमा पनि बच्चा नजन्मिएपछि आफन्तहरूले आइतबार बिहान ११ बजे लक्ष्मीलाई अस्पताल भर्ना गरेका थिए।

राम्रै अवस्थामा अस्पताल पुगेकी लक्ष्मीलाई डाक्टर अन्वेश कोइरालाको निर्देशनमा सुत्केरी व्यथा लाग्ने औषधि दिइएको थियो। तर लक्ष्मीको अवस्था सोमबार बिहान ३ बजेदेखि विग्रीएको उनकी बहिनी धर्मा भट्टराईले बताइन्।

‘हामीले डाक्टरलाई सोध्दा बच्चा पनि राम्रो छ, आमा पनि नर्मल छ भने। अस्पतालका मुख्य चिकित्सक कोइराला राती सुत्न गएपछि अर्का डक्टर आए। उनले पनि बच्चा र आमा नर्मल नै रहेको बताए। हामी ढुक्क थियौं, तर बिहान ३ बजेदेखि दिदीको अवस्था गम्भीर हुँदै गयो। ज्वरो पनि आइरहेको थियो’ बहिनी धर्माले भनिन।

उनले चिकित्सक र स्वास्थ्यकर्मीहरूले लक्ष्मीलाई राम्ररी केयर नगरी दिएका कारण मृत्यु भएको आरोप लगाइन्। ‘अत्तरियाबाट सेती प्रादेशिक अस्पताल १५ किलोमिटरको दूरीमा छ। हामीले केही अप्ठेरो छ भने त्यता लैजाने पनि भन्यौं तर सबै नर्मल छ भनेर ढुक्क बनाए, अन्तमा दुवैको ज्यान गयो, यो लापरवाही नभए को हो ?’ धर्माले प्रश्न गरिन्। 

लक्ष्मीको अवस्था बिग्रिएपछि उनलाई सोमबार बिहानदेखि अक्सिजनमा राखिएको थियो। मालाखेती अस्पतालमा आईसीयु छैन। 

  • स्वास्थ्यकर्मीले लापरवाही गरेको आरोप
  •  चिकित्सक भन्छन, पाठेघरको पानी फोक्सोमा गएर मृत्यु

नजिकै रहेको सेती प्रादेशिक अस्पतालमा आईसीयु छ। यस्ता सुत्केरीहरूलाई जतिबेला पनि आईसियु चाहिन्छ। ‘चिकित्सकहरूले अवस्था बताई दिएनन, अस्पतालका स्वास्थ्यकर्मीहरूले राति पनि हामीले सुत्नु पर्दैन भन्दै नराम्रो व्यवहार गरे’ मृतककी बहिनी धर्माले भनिन। 

आइतबार बच्चा पनि ठीक ठाक भएको बताए पनि आमाको मृत्युसँगै बच्चा पनि मृत निकालिएको धर्माले बताइन्। अस्पतालका प्रमुख डाक्टर अन्वेश कोइरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताए। उनले बिरामीको अन्य सबै कुरा नर्मल भएको र बिहान अचानक नै उक्त समस्या आएको बताए।

‘यस्तो कम्प्लिकेशन अचानक आउँछ, आइतबार अबेरसम्म आमा र बच्चा दुवै ठीक थिए, सोमबार बिहानदेखि कम्प्लिकेशन आयो’ डाक्टर कोइरालाले भने। मृतकका आफन्तहरूले यसको छानविनको माग गरेका छन्। 

गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डाक्टर नरबहादुर मौनी र अस्पताल प्रशासनका अधिकारीहरू छलफलमा बसेका छन्।

पीडितका आफन्तहरूले बच्चा र आमाको शव बुझेका छैनन्। उनीहरूले अस्पतालमा भएको लापरबाहीको छानविनका लागि उच्च स्तरीय छानविन समिति गठन हुनुपर्ने माग गरेका छन्। 

मालाखेती अस्पतालमा चैत १५ गतेदेखि शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरु गरिएको थियो। अस्पतालले पहिलो पटक गोदावरी नगरपालिका–१२ की सानु रावलको शल्यक्रिया गरेर सुत्करी गराएको थियो। 

अस्पतालका एमडिजिपी डा.अन्वेश कोइरालाको टिमले रावलको शल्यक्रिया गरेका थिए। अस्पतालमा शल्यक्रिया सेवा सुरु गर्नका लागि केही दिन अगाडि मात्रै अप्रेसन थियटर निर्माण गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.