तातोपानी नाका पुनः बन्द, वैशाख १८ बाट सञ्चालन गर्ने तयारी

तातोपानी नाका पुनः बन्द, वैशाख १८ बाट सञ्चालन गर्ने तयारी
सुन्नुहोस्

पूर्णरूपमा नाका सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द गरिएको नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ। दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्नको लागि तयारी स्वरुप नाका बन्द गरिएको खबर आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चोक : चीनको उत्तरी सीमा तातोपानी नाका एक सातासम्मका लागि पूर्ण रुपमा बन्द गरिएको छ। २ वैशाख २०८० सम्मका लागि अस्थायी रुपमा नाका पूर्ण बन्द गरिएको हो।

पूर्णरूपमा नाका सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द गरिएको नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ। दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्नको लागि तयारी स्वरुप नाका बन्द गरिएको खबर आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 

‘चीन सरकारले भौतिक पूर्वाधार र अन्यको काम भइरहेको भन्दै सातादिन नाका बन्द हुने खबर दिएसँगै कारोबार पूर्ण रुपमा बन्द भएको छ,’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने।

चीनले १८ वैशाखदेखि तातोपानी नाका खुला गर्ने जनाउ दिइसकेको छ। ‘नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी १८ वैशख (१ मे) बाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने जानकारी आएको छ’, तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले भने। १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उनले बताए। सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच यो विषयमा सम्झौता  भएको केसीले बताए। 

बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीको टोली र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीको टोलीले सीमा पारी व्यापार र जनताबीचको आवतजावतलाई अधिकतम स्तरमा सुचारु गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ बाटो खोज्ने विषयमा छलफल गरेको थियो।

भन्सार कार्यालयका अनुसार चीनले १८ वैशख (१ मे) बाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पठाएको छ। चीनले बिस्तारै सबै नाका सहज बनाउने नीतिअनुसार आयातको कोटा प्रणाली समेत हटाएको केसीले बताए। ‘उताको अवस्था हेर्दा १८ वैशाखबाट भूकम्प अघिकै अवस्थामा सञ्चालन हुने र व्यापार तथा मानव आवाजावतमा पूर्ण रुपमा सञ्चालनमा आउने विश्वास छ’, केसीले भने। 

चीनतर्फ धमाधम काम भइरहँदा नेपालतर्फ खासै पुनर्निर्माणका काम भएका देखिँदैन। इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले नाका खुल्ने खबर रहे पनि अहिले चहलपहल नभएको बताए। भूकम्पपछि तातोपानी पारी खासा बजारलाई चीनले पहिलेभन्दा राम्रोसँग पुनर्निर्माण गरेको छ। साँघुरो बजार भएकाले नेपाली कन्टेनरलाई खासा प्रवेश नगराउने जाङ्मुपोर्टका अधिकारीले तयारी गरेका छन्। 

नेपाली पर्यटकहरू भने खासा पुगेर आफूलाई मन लागेको सामग्री किन्न पाउने व्यवस्था पहिलेजस्तै हुने जनाईएको छ। खासालाई चीन सरकारले पर्यटकको हब बनाउने योजना बनाएकाले यो नाकाबाट पनि पर्यटकलाई छिट्टै प्रवेशाज्ञा दिन लागेको खासास्थित चिनियाँ अधिकारीको भनाई उदृत गर्दै भन्सार प्रमुख केसीले जानकारी दिए। 

भूकम्पपछि तातोपानी नाका एकतर्फी रुपमा रुपमा मात्र सञ्चालनमा छ। भूकम्पको चार वर्षपछि ‘हुक एन्ड ड्रप’ प्रणालीमार्फत चिनियाँ क्षेत्रबाट तातोपानी भन्सारसम्म सामान ल्याउने गरिएको थियो। कोरोनापछि केही समय बन्द हुने र खुल्ने क्रम चल्यो। पछिल्लो समय ताल फुट्ने हल्लाले लामो समय नाका बन्द गरिएको थियो। त्यतिखेर नाका खुलाउँदा नेपालबाट खाद्यन्न, गलैँचा, ह्यान्डिक्राफ्ट लगायत झन्डै १ सय ८२ प्रकारका सामग्री चीनको ल्हासा निर्यात गरिने सहमति भएको थियो। 

चीनबाट भने ऊन, जुत्ता, इलेक्ट्रिक, कपडाजस्ता सयौं प्रकारका सामग्री नेपाल भित्रिने अनौपचारिक कबोल भएको थियो। आयात भइरहे पनि भूकम्पयता निर्यात ठप्प छ। तातोपानी नाकामा आश्रित साना तथा ठूला व्यापारी, कन्टेनर व्यवसायी, होटेल व्यवसायी भूकम्प अघिकै सरह नाका खुल्ने आशमा बसिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.